सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुर नगरपालिकाको संकल्पः भौतिक पूर्वाधार र शिक्षकका हिसावले अभावमुक्त

कोहलपुर नगरपालिकाले अवको पाँच वर्षभित्र नगरका सबै विद्यालयहरुलाई भौतिक पूर्वाधार र शिक्षक एवम् कर्मचारीका हिसावले अभावमुक्त बनाउने संकल्प लिएको छ ।

‘गुणस्तरीय शिक्षाका लागि प्रर्याप्त लगानी, पूर्वाधार र संरचना, पश्चिम नेपालकै शैक्षिक हवको रुपमा हाम्रो नगरको स्थापना’ भन्ने मुख्य नारा सहित अवको पाँच वर्षमा नगरपालिकालाई शिक्षामा नमूना कोहलपुर बनाउने संकल्प लिएको हो ।

दुई दिनसम्म कोहलपुरका सामुदायिक विद्यालयका प्रअ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसँगको क्षमता विकास तालिममा नगरपालिकाले पाँच वर्षभित्र गर्नुपर्ने २५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

उक्त योजनामा नगरपालिकास्तरीय आवधिक शिक्षा योजना निर्माण गरी कार्यान्वयनमा ल्याउने, नगरपालिकास्तरीय शिक्षा ऐन र नियमावली आवश्यकता अनुसार संशोधन एवम् प्रभावकारीरुपमा कार्यान्वयन गर्ने कुरालाई पनि समेटिएको छ ।

‘विद्यालयलाई ध्रुमपान, मध्यमान, लागु औषध र जङ्कफुट निषेधित क्षेत्रको रुपमा विकास गरिने छ प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नगरप्रमुख पुर्णप्रसाद आचार्यले भने े–‘विद्यालयलाई राजनीतिक हस्तक्षेप एवम् आग्रह पूर्वाग्रहको हिसावले मुक्त क्षेत्रकोरुपमा विकास गरिने छ ।’

विद्यालय व्यवस्थापन समितिको सिफारिसको आधारमा योग्य तथा सक्षम शिक्षकलाई प्रधानाध्यापक बनाउने र प्रधानाध्यापकसँग करार सम्झौता गरी सोही आधारमा स्वतन्त्र रुपमा काम गर्नका लागि सहयोग गरिने पनि नगर प्रमुख आचार्यले स्पष्ट पारेका छन् ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर हमाल, नगरपालिकाका शिक्षाविज्ञ जितबहादुर शाह, नगरपालिकाका शिक्षा शाखा अधिकृत रबिलाल मिजारसहितको टिमले तयार पारेको नगरपालिकाको पञ्चवर्षीय शिक्षाका प्रतिबद्धतामा विद्यालयलाई प्रविधिको हिसावले साधन र स्रोत सम्पन्न बनाउनेदेखि स्मार्ट कक्षा संचालनका लागि योग्य कक्षा कोठाहरु निर्माण गर्नेसम्मको योजनालाई समेटिएको छ ।

त्यस्तै विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र अभिभावकहरुको प्रतिबद्धतालाई समेत समेटिएको शाखा अधिकृत मिजारले बताए । उनीहरुका तर्फबाट पनि २५ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको छ ।

पहिलो चरणमा सामुदायिक विद्यालयसँग बसेर शैक्षिक गुणस्तरको उपाय खोजिएको बताउँदै नगरप्रमुख आचार्यले संस्थागत विद्यालयसँग पनि यस्तै छलफल गरेर कोहलपुरलाई शैक्षिक हवकोरुपमा कसरी विकास गर्न सकिन्छ भन्नेबारे योजना बनाइने उल्लेख गरे ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार १९:०४