बझाङमा भीरबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । साइपाल गाउँपालिका वडा नं.३ माथिल्लो कायाँकी डिकी गुरुङलाई बझाङमा उपचार सम्भव नभएपछि आज नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरीएको हो । उनी उक्त वडाकी वडा सदस्यसमेत हुन् ।
गुरुङ आइतबार साँझ घर नजिकैको जालिकाँडा जङ्गलमा दाउरा काट्ने क्रममा माथिबाट ढुङ्गा खस्दा गम्भीर चोट लागेर घाइते भएकी थिइन् । गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङका अनुसार गुरुङको टाउकोमा गहिरो चोट लागेर अवस्था गम्भीर भएकाले नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज रिफर गरिएको छ । उद्वार गरेबापत लागेको पाँच लाख बराबर रकम गाउँपालिकाले ब्यहोर्ने समेत उपाध्यक्ष तामाङको भनाई छ ।
सदरमुकाम चैनपुरबाट तीन दिनको बाटो रहेको साइपाल गाउँपालिकामा स्थानीयहरु विरामी हुँदा तथा लडेर घाइते हुँदा उपचारका लागि जिल्ला अस्पताल ल्याउन र जिल्ला बाहिर लिन हेलिकप्टर चार्टर गर्दा उपचार खर्चिलो बन्ने गरेको छ । आर्थिक स्थिति कमजोर भएका व्यक्तिहरुले भने उपचार खर्च नहुँदा ज्यान गुमाउने गरेको स्थानीयबासी घुरन बोहराले बताए ।
सत्यराज सिंह । बझाङ