सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा पक्राउ परे विप्लवका तीन नेता कार्यकर्ता

बझाङमा निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको भन्दै नेकपा विप्लवका तीन जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

सदरमुकाम चैनपुर अदालत नजिक आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित गरेर जनतालाई भड्काउने गतिविधिमा संलग्न रहेको भन्दै विप्लव नेतृत्वको नेकपा पार्टीका बझाङ र बाजुरा जिल्लाका इन्चार्ज अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य कमल थापा, विकास जप्रेल र जनक नामका अर्का कार्यकर्ता पक्राउ परेका हुन् ।

उनीहरुले मंसिर ४ को निर्वाचनलाई सशक्त ढंगले बहिस्कार गरौं । एमसीसीका मतियारलाई मतदान नगरौं लगायतका पोष्टर बजारभर टाँसिरहेका थिए । यसअघि आइतबार साँझ नेपाल कम्युनिस्ट पार्टीका ६० जनाको उपस्थितिमा राँके जुलुस कार्यक्रम पनि गरिएको थियो ।

पटक–पटक जनतालाई झुक्याउँदै सत्तामा गएका सबैले संसद विघटनदेखि भूमि बेचिखाने गरेको र एमसीसी जस्तो राष्ट्रघाति सन्धि पास गरेर नेपाललाई युद्धको रण मैदान बनाउन खोजेको भन्दै फेरि पनि देशमा यस्तै हर्कत दोहोरिने भएकाले निर्वाचन खारेजीको माग गरिएको नेपाल कम्युनिष्ट पार्टी विप्लवले जनाएको छ ।

एमसीसी मतियारहरुलाई चुनाव प्रणालीमा सहभागी गराई देशलाई भड्खालोमा हाल्ने काम भएको भन्दै विप्लव नेतृत्वको नेकपाले आज राँके जुलुस निकालेको बताइएको छ । देशमा राष्ट्रघाती सम्झौता गर्ने दलहरुलाई मतदान गर्न नहुने विप्लव नेतृत्वको नेकपाको भनाई छ । पक्राउ परेका उनीहरुलाई अनुसन्धानका लागि वडा प्रहरी कार्यालयमा राखिएको र गृह मन्त्रालयको आदेश अनुसार थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार १४:४६