सूचनाको शक्ति - The Power Of Information

        

राप्रपाका उम्मेदवार चढेको गाडी दुर्घटना

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सवार सवारी सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–१ गैलुमा भनसरामा दुर्घटनामा परेको छ ।

लगामबाट भनसरातर्फ चुनावी प्रचारमा जाँदै गरेको डब्बल क्यापको भे १ च २८०५ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार उकालो सडक र घुम्ती भएकाले गाडी अगाडी बढ्न नसकेर दुर्घटनामा परेको हो । हाल घटनास्थलमा अस्थायी प्रहरी पोष्ट लगामबाट प्रहरी खटिएको र गाडीमा सवार सात जनालाई सामान्य चोट पटक मात्र लागेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि राप्रपाबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा उम्मेदवार भीमबहादुर शाही, प्रदेशसभा (१) का उम्मेदवार सूर्यबहादुर खत्री र प्रदेशसभा (२) का उम्मेदवार कर्णबहादुर रेगामी मगरको चुनावी प्रचार–प्रसारमा गाडी गएको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार १२:४१