शिवानी बस्नेत त्यस्तै कक्षा ५ मा पढ्दै थिइन् । उनी अध्ययनरत विद्यालयले एउटा कार्यक्रम राखेको थियो । सो कार्यक्रममा आफ्नो मन्तव्य राख्नु पर्ने भयो तिनै सानी बालिका शिवानीले पनि ।
जब कार्यक्रममा बोल्न उनी ‘स्टेज’ उक्लिन्, तर आवाज नै निस्केन । उनको आवाज ननिस्केपछि पछाडिबाट उनलाई ढाडस दिन खोजिन् एक जना म्यामले । भनिन्, ‘शिवानी बोल, बोल शिवानी बोल ।’
ती म्यामले सानी बालिका शिवानीलाई बोल्न हौंस्याइरहेकी त थिइन् नै, नेपथ्यबाट पनि सानो आवाजमा यस्तै प्रकृतिको शब्द उनको कानमा गुन्जिरहेको थियो ।
त्यसबेला ५ कक्षामा पढ्ने ती सानी बालिका, स्टेजमा उक्लेर पनि बोल्न नसकेकी ती बालिका शनिबार भने भिन्न अवस्थामा स्टेजमा उभिएकी थिइन् । सेन्ट मेरिज स्कुल जावलाखेलकी ती पूर्व विद्यार्थी शिवानी सो विद्यालयको अभिभावक दिवसको प्रमुख अतिथिका रुपमा कार्यक्रममा उपस्थित भएकी थिइन् । अर्थात् सबैको आकर्षणको केन्द्र बनेकी थिइन् ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा विगतलाई यसरी सम्झिइन् शिवानीले । ‘म त्यही व्यक्ति हुँ, त्यो बेलाको यही स्कुलको स्टेजमा आवाज निस्कन गाह्रो परेको म, आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरमहरुमा बोलिरहेको छु ।
महत्वपूर्ण विभिन्न स्टेजहरुमा राष्ट्रका तर्फबाट प्रतिनिधित्व गरिरहेको छु । द्विपक्षीय तथा बहुपक्षीय वार्ता, संवाद र नेगोसिएसनमा राष्ट्रको तर्फबाट प्रतिनिधित्व गरिरहेको छु । यसमा मेरो मेहनतका साथै मेरो अभिभावकले पुर्याएको योगदान तथा स्कुल एवं शिक्षक वर्गले गरेको त्याग र समर्पणको प्रतिफल हो भन्ने ठान्दछु,’ शिवानीले भनिन् ।
सत्यपाटी संवाददाता । काठमाडौँ