सुर्खेतको गुर्भाकोट नगरपालिका–२, डाँडाडावमा वर्षौँदेखि पिउनेपानीको समस्या छ । पिउनेसहित कपडा धुन, नुहाउन, घरपालुवा जनावरलाई दिन समेत तीन घण्टा हिँडेर पानी बोकी ल्याउनुपर्छ ।
अहिले भोट माग्न आउने उमेदवारलाई स्थानीय यही समस्या सुनाउन बाध्य छन् । गाउँमा पुग्ने उमेदवारसँग अरू विकासभन्दा पिउनेपानीको समस्या समाधान गरिदिन उनीहरूले आग्रह गर्ने गरेका हुन् ।
सुर्खेत र सल्यानको सीमास्थित पहाडी भूगामा पर्ने डाँडाडावमा ७५ घरधुरी छन् । करिब ४५० मानिसको बसोबास छ । हरेक निर्वाचनमा नेता र उमेदवारले पानीको समस्या समाधान गर्ने भन्दै आश्वासन दिने गरेको तर समस्या सधैँ उस्तै रहेको स्थानीय लालबहादुर वली बताउँछन् ।
‘यति बेला मत माग्ने उमेदवारसँग हामीले सडक, बाटो, बत्ती मागेका छैनौँ,’ उनले भने, ‘सिंगो गाउँका मतदाताको माग भनेकै खानेपानीको हो ।’ हरेक निर्वाचनमा पिउनेपानीको समस्या समाधानको वाचा गर्ने उमेदवारलाई आफूहरूले भोट दिँदै आएको स्थानीय बताउँछन् ।
तर, चुनाव जितेपछि उमेदवारले फर्केर नहेरेको उनीहरूको गुनासो छ । दैनिक जान डेढ घण्टा र आउन डेढ घण्टा पैदल हिँडेर डोकोमा पानी बोकेर ल्याउनुपरेको स्थानीय सीता खत्री बताउँछिन् । ‘घरको एकजनाको दैनिक काम भनेकै पिउनेपानी, गाईवस्तु र घरायसी कामका लागि पानी बोकेर ल्याउँदैमा ठिक्क हुने गर्छ,’ खत्रीले भनिन् ।
डाँडाडाव समुद्र सतहदेखि दुई हजार मिटरको उचाइमा अवस्थित छ । यहाँ धेरै पहिलादेखि पिउनेपानीको समस्या रहेको जानकार बताउँछन् । स्थानीय अहिले खोलाबाट धमिलो पानी पिउन बाध्य छन् । यो गाउँमा पानीको स्रोत नहुँदा आकाशे पानीको भरमा खेतीबाली गर्ने गरिन्छ ।
सत्यपाटी संवाददाता । सुर्खेत