सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन विशेष

बाँके २ मा गठबन्धनसँग एक्लो प्रतिश्पर्धामा ‘इस्तियाक’

पटक–पटक मन्त्री भइसकेका मोहम्मद इस्तियाक राईले जिल्लामा सडक, पुल लगायतका विकासका योजना ल्याएर विकास प्रेमी नेताको छवी बनाएका छन् ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं २ मा पूर्वमन्त्री र पूर्वनगर प्रमुखबीच चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।

जनता समाजवादी पार्टीका नेता पूर्वमन्त्री मोहम्मद इस्तियाक राई र राप्रपाका महामन्त्री एवं नेपालगन्ज उपमहानगरपालिकाका पूर्वनगर प्रमुख डा.धवलशम्शेर राणा गाउँगाउँमा चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् । दुवै उम्मेदवारले नेपालगन्जमा विकासको एजेण्डालाई प्राथमिकता दिएका छन् ।

डा.राणा नेपालगन्ज उपमहानगरपालिकामा दुई कार्यकाल नगर प्रमुख भइसकेका छन् भने पटक–पटक मन्त्री भइसकेका राईले जिल्लामा सडक, पुल लगायतका विकासका योजना ल्याएर विकास प्रेमी नेताको छवी बनाएका छन् । राई यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएको थियो ।

त्यतिबेला डा.राणा नेपालगन्ज उपमहानगरपालिका प्रमुखमा विजयी भएका थिए । ‘अहिले परिस्थिति फेरिएको छ । यहाँ कसले जित्छ यसै भन्न सक्ने स्थिति छैन,’ नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ भन्छन्, ‘पूर्वमन्त्री र प्रमुखको चर्चा छ ।’ राप्रपा उम्मेदवार राणालाई जिताउन बाँके क्षेत्र नं.२ मा एमालेले चुनावी तालमेल गरेको छ ।

प्रतिनिधिसभामा राप्रपा र दुईवटै प्रदेशसभामा एमालेका उम्मेदवारलाई जिताउने गरी चुनावी तालमेल भएको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए । पूर्वमन्त्री र नगरप्रमुखको चर्चा भए पनि पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको चुनावी क्षेत्र रहेको यस क्षेत्रमा नेपाली कांग्रेसको पकड पनि राम्रो छ ।

यो निर्वाचन क्षेत्रमा पर्ने नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जीत हासिल गरेको छ । नेपाली कांग्रेसबाट यहाँ सुदीप नरसिंह राणा उम्मेदवार बनेका थिए । उनी सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को साझा उम्मेदवार बनेका हुन् ।

राप्रपा र नेपाली कांग्रेसका उम्मेदवार जिताउन चुनावी गठबन्धन र तालमेल भइरहँदा पूर्वमन्त्री एवं जनता समाजवादीका नेता राई भने यो निर्वाचन क्षेत्रमा एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । उनले भने, ‘मेरो जीत मैले गरेको विकासका कारण सुनिश्चित छ, जनता मेरो साथ हुनुहुन्छ । जित्नेमा म ढुक्क छु ।’

तीन वटै उम्मेदवारले आफूले निर्वाचन जित्ने दाबीका साथ मतदाताको घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै, आफ्ना कुरा मतदातालाई सुनाउने क्रम जारी छ । स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र माओवादी केन्द्रको २४ हजार ९८०, नेकपा एमाले र राप्रपाको २३ हजार ९७२ तथा जनता समाजवादी पार्टीको १४ हजार १०९ मत छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार १५:१०