सूचनाको शक्ति - The Power Of Information

        

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ, नेपालमा के होला ?

 भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको छ ।

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ०.६१ रुपैयाँ, डिजेलमा ५.७६ रुपैयाँ, मट्टीतेल ४.०१ रुपैयाँ र हवाई इन्धनमा ४.७७ रुपैयाँ बढेर आएको छ ।

एलपी ग्यासको मूल्य भने केही घटेर आएको नेपाल आयल निगमले जनाएको छ । गत आइतबार नै पेट्रोलियम पदार्थ मूल्य बढेर आएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

योसँगै निगमलाई १५ दिन (पाक्षिक) मा प्रतिलिटर डिजेलमा १२.१४ रुपैयाँ र खाना पकाउने ग्यासमा २२८.८४ रुपैयाँ प्रतिसिलिन्डर घाटा छ। पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा भने केही नाफा छ ।

निगमले हाललाई नेपाली बजारमा भने पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय पनि गरेको छ । ग्यासमा भएको घाटा समायोजन गर्दा समेत निगमलाई १५ दिनमा १८ करोड नाफा हुने भएको छ ।

अघिल्लो पटक निगमले १५ दिनमा ३९ करोड नाफा हुने प्रक्षेपण गरेको थियो । आईओसीले हरेक महिना १५/१५ दिनमा निगमलाई नयाँ मूल्य पठाउने गर्छ । उसले पठाउने मूल्यसूची अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार ०८:४७