सूचनाको शक्ति - The Power Of Information

        

‘महापुरूष’ : राजधानी छाडेर मोफसलका दर्शकसँग

यही कात्तिक ११ गतेबाट देशभरका सिनेमा घरमा आएको चलचित्र ‘महापुरुष’ टिम राजधानी काठमाडौं छाडेर मोफसलका दर्शक भेटन निस्किएको छ ।

कार्यकारी निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँ, लेखक तथा निर्देशक प्रदीप भट्टराई, कलाकारहरू राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराइली पश्चिमका सहर पुगेर प्रतिक्रिया लिइरहेका छन् । बुधबार नेपालगन्जमा दर्शक भेटेर प्रतिक्रिया लिएको टिम दाङ, बुटवल हुँदै चितवनसम्म पुग्नेछ ।

‘हामीले बुधबार नेपालगन्जका दर्शकसँग भेटघाट गरेका छौं । यसपछि दाङ, बुटवल हुँदै चितवनका दर्शकलाई भेटेर काठमाडौं फर्किने तयारी छ,’ कार्यकारी निर्माता बानियाँले भने । यसअघिका आफ्ना चलचित्र ‘टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’ र ‘जात्रै जात्रा’भन्दा राम्रो ‘वर्ड अफ माउथ’ दर्शकमार्फत् पाएको उनको भनाइ छ ।

निर्देशक भट्टराई पनि दर्शकको प्रतिक्रिया निकै सकारात्मक रहेको बताउँछन् । ‘हामीले भन्न खोजेको विषयलाई कसरी लिनुहुन्छ भन्ने सोचिरहेको थिएँ । हल भिजिटमा पाएको प्रतिक्रियाले झनै हौसला मिलेको छ । यो हाम्रो समाजको गम्भीर विषयको सरल प्रस्तुति हो,’ निर्देशक भट्टराईले भने ।

चलचित्रले बालकदेखि वृद्धसम्मका दर्शकलाई हलसम्म तान्न सफल भएको छ । टिमले १६ गते साँझ र १७ गते दाङ, १७ गते दिउँसो बुटवल र १८ गते नारायणगढको दर्शकसँग भेटघाट गर्दै काठमाडौं फर्किनेछन् । पूर्वनिर्धारित कार्यक्रमको कारण संयुक्तराज्य अमेरिकामा रहेका अभिनेता हरिवंश आचार्यले आफ्नो मन भने नेपालमै रहेको बताएका छन् ।

उनले भिडियो सन्देश पठाउँदै भनेका छन्, ‘पूर्वनिर्धारित कार्यक्रमले गर्दा अमेरिकामा छु । यद्यपि म त्यहीँ नेपालमा रहेर दर्शकसँग प्रतिक्रिया लिन चाहन्थे । तपाईंहरूले दिनुभएको प्रतिक्रियाले हामीलाई झनै हौसला मिलेको छ ।’ एक्लोपनको कथा देखाइएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा रहेका छन् ।

आदर्शनगरमा बसोबास गर्ने अवकाशप्राप्त शिक्षकमार्फत पिता र एलक पुरुषसँगै एक्लोपनकथा चलचित्रमा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रूपमा प्रस्तुत गरिएको छ ।

षट्कोण आर्ट्स प्रालिको व्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ छन् भने निर्माता दिपेश खत्री छन् । चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा चलचित्रमा डेब्यु गरेका छन् । चलचित्रको पाश्र्व ध्वनिमा रोहित शाक्य र शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार १५:३४