सूचनाको शक्ति - The Power Of Information

        

सन्दीपको थुनछेक बहस आज पनि जारी रहने

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज बिहीबार पनि थुनछेक बहस हुने भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बुत्रबार थुनछेक बहस नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

बुधबारको बहसमा वादी नेपाल सरकारका तर्फबाट ४ जना सरकारी वकिल र तीन जना अधिवक्ताले बहस गरेका थिए ।

बुधबार सन्दीपका तर्फबाट अधिवक्ताहरु मुरारी सापकोटा र रोशनी पौडेलले बहस गरेका थिए । आजको बहसमा वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, लवप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सबिता बराल भण्डारी लगायतले बहस गर्ने तयारी गरिएको छ ।

आज बहस सकिएपछि अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश दिनेछ ।

सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते उनलाई जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।

सन्दीपमाथि गत भदौ ५ मा काठमाडौंको एक होटेलमा लगेर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोग छ । पीडित किशोरीले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

स्वदेश फर्किने क्रममा उनलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार ०८:४८