सूचनाको शक्ति - The Power Of Information

        

यौन दुर्व्यवहारको आरोपमा डब्ल्यूएचओका शीर्ष अधिकारी निलम्बित

जेनेभास्थित डब्ल्यूएचओको प्रधान कार्यालय ।

गत महिना एक स्वास्थ्य सम्मेलनमा एक बेलायती डाक्टरले सार्वजनिक रूपमा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जेनेभास्थित मुख्यालयमा कार्यरत एक वरिष्ठ प्रबन्धकलाई निलम्बन गरेको छ ।

इङ्गल्याण्डको नेशनल हेल्थ सर्भिसका लागि काम गर्ने २६ वर्षीया जुनियर डाक्टर रोजी जेम्सले बर्लिनमा भएको विश्व स्वास्थ्य शिखर सम्मेलनमा दुर्व्यवहार भएको बताएकी थिइन् । अक्टोबर १६ देखि १८ सम्म भएको उक्त कार्यक्रम डब्लुएचओले संयुक्त रुपमा आयोजना गरेको हो ।

जेम्सले उक्त समयमा घटना रिपोर्ट गर्ने योजना बनाएको बताइन् । ‘कथित अपराधी बिदामा छ र अनुसन्धान चलिरहेको छ,’ डब्ल्यूएचओका प्रवक्ताले जेम्सको बयानको बारेमा रोयटर्सलाई भने । आरोपितको नाम गोप्य राखिएको छ । बर्लिन कार्यक्रमको अर्को आयोजक डब्लूएचएस फाउन्डेशन जीएमबीएचले आरोपहरूको तत्काल छानबिन गर्न माग गरेको छ ।

यसैबीच डब्लूएओले सो घटनामा अनुसन्धान गरिरहेको जनाएको छ । ‘डब्ल्यूएचओले यस मुद्दामा अनुसन्धानको नेतृत्व गरिरहेको छ,’ डब्ल्यूएचएस फाउन्डेसनका प्रबन्ध निर्देशक डा जोर्ग हेल्डम्यानले विज्ञप्तिमा भने ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार १०:१८