सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली करिडोरको ट्रयाक खोल्न डेढ वर्ष लाग्ने

 कर्णालीवासीको लाइफ लाइनको रूपमा लिइएको कर्णाली करिडोर निर्माण कार्यले गति लिन नसक्दा हुम्ला सडक सञ्जालमा जोडिन सकेको छैन् । कर्णालीवासीको भविष्यसँग जोडिएको यो करिडोरको अझै साढे ७ किलो मिटर सडकको ट्रयाक खुल्न बाँकी छ ।

कालिकोटको खुलालुदेखि हिल्सासम्मको २ सय ६९ किलोमिटर सडक निर्माण गर्न निक्कै कठिन रहेको छ । यो सडकको हिल्सा–हुम्ला खण्डको साढे ७ किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको हुम्ला सडक विकास निर्माण कार्यदलका योजना प्रमुख अनुप पोख्रेलले बताए ।

सरकारले गएको वर्ष ११ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । कर्णाली करिडोरको अधिकांश चट्टानी क्षेत्रको सडक ट्रयाक नेपाली सेनाले खोलेको हो ।

सडकको उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाको २ सय ६९ किलोमिटर सडक निर्माणको काम भइरहेको छ । यो आयोजना २०६९ चैत्र ८ बाट सुरु भएको थियो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार ०७:४४