उहाँलाई हेर्ने बित्तिकै कति जनामा नयाँ र समुन्नत नेपालको झल्को आउँदो हो ? उहाँका सामाजिक–दार्शनिक–अर्थशास्त्रीय र व्यावहारिक मुद्दामा ओजिलो विचारहरू सुन्दा कति जनामा नयाँ उत्साह र रक्त–सञ्चार हुँदो हो ? उहाँका सामयिक लेख र अन्तर्वार्ता पढेर कति जनामा देशको भविष्य सुन्दर छ भन्ने आश जाग्दो हो ? उहाँलाई पढ़े–सुनेर उहाँजस्तै बन्ने रहर कति जनामा पलाउँदो हो ? अझ यो प्रतिष्पर्धी विश्वमा गर्व गर्न लायक विज्ञ र बहुआयामिक नेतृत्व पाएको भनेर कति जनाको छाती ढक्क फुल्दो हो ? अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्दा होस् या द्विपक्षीय भेटघाट र वार्ताहरूमा होस्, आफ्ना प्रधानमन्त्रीको प्रस्तुति र व्यक्तित्व हेरेर कति युवाहरूमा नयाँ प्रेरणा पलाउँदो हो ?
देशको राजश्व घाटामा गएको समाचार पढ्नुभएकै छ । अर्थात् देशको आम्दानीले तलबभत्ता पनि पुग्दैन । चुनाबै गर्नका लागि कसले ऋण देला र ? देशका गरिब नागरिकका कथा बेचेर कुनै शीर्षकमा आउने अरबौँको ऋणलाई चोर बाटोबाट चुनाबमा खर्च गर्ने हो । हामीले २०–३० अर्ब रुपियाँको थप ऋण टाउकोमा बोकेर फेरि उहाँलाई प्रधानमन्त्री छान्यौँ भने बल्ल देशका समस्याहरूको उपचार सुरु हुनेछ भन्ने कतिलाई विश्वास लाग्दो हो ? उहाँले जित्नै पर्ने सयौँ कारणहरू होलान्, तर जम्मा पाँच वटा कारण भन्नुस् भनेर उहाँकै पार्टिका युवा नेतालाई सोध्ने हो भने जबाफ के आउँदो हो ? ती पाँच कारणका लागि राज्यले २० अर्ब ऋण बोक्नु जायज छ भन्ने कतिलाई भित्रैबाट लाग्दो हो ?
अरूको कुरा नसुन्नुहोस् । नो नट अगेन भन्नेहरू त अपराधी नै हुन् । अहिले जथाभावी भए पनि भोलि कानुन बनेपछि तिनले अवश्य दण्ड पाउने नै छन् । तपाईंले टाउकोमा ऋण बोकेर र स्वास्थ्य चौकीदेखि पुलपुलेसासम्मको बजेट काटेर नयाँ नेतृत्व छान्ने हो ।
परीक्षण हुनै बाँकी भन्ने त यहाँ पक्कै भएन । चार–पाँच पटक प्रधानमन्त्री हुँदाका उहाँका अनुकरणीय या उदाहरणीय काम र उपलब्धिबारे कतिलाई जानकारी होला ? अन्य नेतृत्वबाट सम्भव नहुने यस्तो यस्तो अभूतपूर्व काम गरेको र देशको अवस्थादेखि अन्तर्राष्ट्रिय मञ्चमा देशको ब्राण्ड इमेजसम्म सुधारेको हुनाले नै उहाँ हाम्रो निर्विकल्प भविष्य र आशाको केन्द्र हो भन्ने कतिलाई थाहा होला ? एउटा लोकतान्त्रिक भनिने पार्टिका लोकप्रिय नेताका रूपमा उहाँको सार्वजनिक व्यक्तित्व, निष्कलङ्क र उदाहरणीय छवि, पटकपटक प्रधानमन्त्री हुनुको अनुभव र विज्ञता, तार्किक र तथ्याङ्कमा आधारित उहाँका खारिएका अभिव्यक्तिहरू, नयाँ नेपालको स्पष्ट भिजन र व्याख्या अनि हेर्दै आत्मविश्वास बढेर आउने उहाँको फुर्तिलो दैनिकी र बड़ी–ल्याङ्ग्वेज…यस्ता कति हो कति कारण छन् जसले उहाँप्रति देशको सबैभन्दा श्रेष्ठ नेताका रूपमा आम नागरिकमा श्रद्धाको मूल फुटाउँछन् ।
अरूको कुरा नसुन्नुहोस् । नो नट अगेन भन्नेहरू त अपराधी नै हुन् । अहिले जथाभावी भए पनि भोलि कानुन बनेपछि तिनले अवश्य दण्ड पाउने नै छन् । तपाईंले टाउकोमा ऋण बोकेर र स्वास्थ्य चौकीदेखि पुलपुलेसासम्मको बजेट काटेर नयाँ नेतृत्व छान्ने हो । आफ्नो जिन्दगी र पुस्ता त यसैगरी बित्यो, तपाईंले आफ्ना सन्तानको भविष्य हेर्ने हो, अबको पुस्ता खेर नजाओस् भन्ने हो । ग्लोबलाइजेशनको यो युगमा युग सुहाउँदो विज्ञ र सक्षम नेता छान्ने हो ! फ्रीमा छान्ने भए पो अरू विकल्प हेर्नु, दिमाग खियाउनु, ऋण काढेर र पुस्ताको भविष्य दाउमा राखेर छान्दा त सिरियस हुनै पर्छ नि !
– लेखकको फेसबुकबाट
नारायण गाउँले । लेखक