सूचनाको शक्ति - The Power Of Information

        

सन्दीप लामिछाने पुर्पक्षका लागि जेल जाने निश्चित !

नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोजनपत्र आज जिल्ला अदालत काठमाडौंमा दायर गरिने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी वृत्त गौशालाको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोजनपत्र दायर गर्न लागेको हो ।

प्रहरी प्रतिवेदनमा नाबालिग बलात्कारसम्बन्धी कानुनानुसार १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । मुलुकी अपराध संहिता, २०७४ मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलाको जबरजस्ती करणी गर्ने व्यक्तिलाई परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था छ ।

यसबाहेक पीडितलाई उचित क्षतिपूर्तिको माग पनि गरिएको छ । अभियोजनपत्र दायर भएपछि अदालतमा सन्दीपको बयान सुरु हुनेछ । त्यसपछि थुनछेक बहस हुनेछ । अदालतले उनलाई तारेखमा छाड्ने वा पुर्पक्षका लागि जेल पठाउने भन्नेबारे आदेश दिनेछ । यो प्रक्रिया आउँदो मंगलबारसम्म सकिने बताइएको छ ।

एक नाबालिगले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा सन्दीपले भदौ ५ गते राति पिंगलास्थानको ‘होटेल काठमाडौं इन’मा लगेर बलात्कार गरेको उल्लेख छ । उक्त होटेलको सीसीटीभी फुटेजमा त्यस दिन सन्दीप ती किशोरीसँगै प्रवेश गरेको र भोलिपल्ट बाहिरिएको देखिएका छन् ।

सोही प्रमाणका आधारमा पनि सन्दीप पुर्पक्षका लागि जेल जाने सम्भावना बढी भएको प्रहरी र सरकारी वकिलहरू बताउँछन् । एक सरकारी वकिलले भने, ‘प्रमाणहरू हेर्दा कुनै पनि हालतमा सन्दीप तारेख वा धरौटीमा छुट्ने सम्भावना छैन । उनी नाबालिगसँग होटेल प्रवेश र बाहिरिएको प्रस्टै देखिन्छ । यो फुटेज नै उनी पुर्पक्षमा जाने पहिलो प्रमाण हो ।’ पुर्पक्षका लागि थुनामा गए पनि अदालतको अन्य प्रक्रिया निरन्तर अगाडि बढ्नेछ ।

भदौ ६ गते सन्दीप नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न केन्या गएका थिए । केन्याबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी जमैका गएका थिए । जाहेरी परेको एक महिनापछि उनी नेपाल आएका थिए । सोही क्रममा असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरी अनुसन्धानका क्रममा उनी अमेरिकाबाट नेपाल आएको खुलेको थियो ।

सरकारी वकिलसँगको बयानका क्रममा सन्दीपले आफूमाथिको आरोप अस्वीकार गरेका छन् । उनले आफूविरुद्ध जाहेरी दिनेकै आग्रहमा होटेलमा बसेको र यौनजन्य कार्य नगरेको दाबी गरेका छन् । भदौ ५ गतेको होटेल काठमाडौं इनको सीसीटीभी फुटेज रिपोर्टसँगै होटेलका कर्मचारीको बयान पनि अभियोजनपत्रमा उल्लेख छ । पीडितको बयान, मेडिकल जाँच पनि अभियोजनपत्रमा समावेश छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार सन्दीपले प्रयोग गरेको सामाजिक सञ्जालका च्याटहरू पनि ‘रिकभर’ भएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार ०८:४६