२०४३ सालमा नेकपा माले भूमिगत पार्टी थियो । मालेका नेताहरू कति जेलमा थिए, कति भूमिगत । जेलमा हुनेहरूमध्ये अहिलेका चर्चित नेता केपी शर्मा ओली पनि एक हुन् । सायदै त्यतिबेला उनले बहुदलीय व्यवस्था आउला र आफू प्रधानमन्त्री बनौला भन्ने सोचेका थिए । मदन भण्डारी त्यही बेला मालेको महासचिव निर्वाचित भए ।
मालेको चौथो महाधिवेशनबाट निर्वाचित भण्डारीले आफ्नो पहिलो कार्यदिशा बहुदलीय व्यवस्थाको पुनःस्थापनालाई बनाए । त्यसका लागि नेपाली कांग्रेससँगको सहकार्यलाई जोड दिए । नभन्दै, नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको नेतृत्वमा वाम–लोकतान्त्रिक शक्तिहरूबीच पञ्चायती निरंकुश व्यवस्थाविरूद्ध मोर्चा बन्यो ।
वाममोर्चाको नेतृत्व सहाना प्रधानले गरेका थिए । वाम–लोकतान्त्रिक गठबन्धनले ३० वर्षे पञ्चायती निरंकुश शासन व्यवस्था ढालेको पनि आज ३२ वर्ष बितिसक्यो । यस अवधिमा पटक–पटक ६ जना कम्युनिष्ट नेताहरू प्रधानमन्त्री भइसके । नेपालको इतिहासमै कम्युनिष्ट पार्टीले दुईतिहाइ बहुमतको सरकार सञ्चालन गर्ने मौका पाए ।
यस पृष्ठभूमिलाई विश्लेषण गर्दा नेपालका कम्युनिष्टहरू ‘भाग्यमानी’ हुन् । तर, अभागीलाई खानेबेला रिस उठ्छ भनेझै २०७४ सालको निर्वाचनमा नेपाली जनताले कम्युनिष्ट पार्टीलाई पाँच वर्ष सरकार चलाउन दिएको मत एमालेले पचाउन सकेन । एमाले अध्यक्ष केपी शर्मा ओलीले कालीदास झैं फेदमा बसेर रूखको जरा काट्ने काम गरे ।
फलस्वरूपः दुई तिहाइको कम्युनिष्ट सरकार बेमौसममा ढल्यो । चुनावको चटारो छ । एमालेले जनताबीच बहुमतको लागि भोट माग्दैछ । एमालेलाई भोट किन दिने ? जनताले दशपटक सोच्नुपर्ने बेला आएको छ । पुस ५ गतेको उद्देश्य अझै पूरा भएको छैन । पुस ५ संविधान समाप्त पार्ने उद्देश्यले घटाइएको एउटा षड्यन्त्र थियो । त्यो षड्यन्त्र सफल पार्न एमाले र राप्रपाबीच सहकार्य भएको छ ।
विचार नमिल्ने यी दुई पार्टीबीच अहिले उद्देश्य मिलेको छ । र, समयले फेरि हामीलाई मदन भण्डारी र गणेशमान सिंहको सहकार्यतर्फ डोहोर्याएको छ । जतिबेला मदन भण्डारी र गणेशमान सिंहबीच प्रजातन्त्र पुनःस्थापनाका लागि सहकार्य भएको थियो, त्यो समय र परिवेश बेग्लै होला । तर, उद्देश्य एउटै भएकोले वाम–लोकतन्त्रवादीहरू प्रतिगमनविरूद्ध उत्रिनु आजको आवश्यकता हो ।
जतिबेला मदन भण्डारी मालेको महासचिव बने, त्यतिबेला म विद्यार्थी आन्दोलनमा थिए । लुम्बिनी अञ्चलका मालेका भूमिगत नेता सिद्धिनाथ ज्ञवालीले भनेका थिए, मानिस हुन सजिलो छ, कम्युनिष्ट हुन गाह्रो । तर, आज त्यही मदन भण्डारीको पार्टी प्रतिगमनको पक्षमा खुलेआम उत्रेको छ । कमल थापाजस्ता मण्डले बोकेर केपी शर्मा ओली चुनावी मैदानमा उत्रेका छन् । यस्तो बेला एमाले बन्नुको के अर्थ ? अब जनताले छुट्याउनुपर्छ मानिस र कम्युनिष्टबीचको भिन्नता ।
– दृष्टिन्यूज
शम्भु श्रेष्ठ । लेखक तथा पत्रकार