सूचनाको शक्ति - The Power Of Information

        

पाल्पामा झिनियाँको माग थेग्नै मुस्किल

अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै हुन थालेको छ । दसैँ सुरु भएदेखि नै तिहारलाई लक्ष्य गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यस पटक बजार थेग्न मुस्किल परेको व्यवसायीहरु बताउँछन् ।

पाँच कामदार राखेर झिनियाँ बनाए पनि मागअनुसार पुर्याउँनै नसकिएको व्यवसायी लक्ष्मी श्रेष्ठ बताउछिन् । रामपुर नगरपालिका–५ राङभाङमा एक दशक अघिदेखि उद्योग स्थापना गरेर यही व्यवसाय गर्दै आएकी पूर्वी पाल्पाकी पहिलो व्यवसायी उनी माग धेरै आउँदा पनि कतिपय बजारमा पठाउन नपाइएको बताउँछिन् ।

‘एक महिना अघिदेखि तिहारलाई प्राथमिकता दिएर झिनियाँ बनाइरहेका छौं,’ व्यवसायी श्रेष्ठ भन्छिन्, ‘यस पटक अन्यत्र धेरै उत्पादन नभएको र पहिलाको तुलनामा झिनियाँ खोज्ने धेरै ग्राहक बढेकाले पुर्याउन कठिन परिरहेको हो ।’ लामो समय झिनियाँ व्यवसायमा बिताएकी उनलाई यसको उत्पादन सम्बन्धी राम्रो ज्ञान छ ।

पुरानो व्यवसाय भएकाले धेरै टाढाबाट माग यही आउने गर्दछ । घरभित्रै बसेर छोटो समयमा पनि लाखौँ कमाइ गर्न सकिने यो व्यवसायमा मेहनत गरियो भने राम्रो सफलता हात पर्ने व्यवसायी श्रेष्ठको अनुभव छ । पहिला एक्लै उत्पादन गर्दै आएकी उनले पछिल्ला वर्षमा झिनियाँको माग बढी आउन थालेपछि कामदार राखेर थप उत्पादन गर्दै आएकी हुन् ।

यस व्यवसायमा आवद्ध रहेदेखि नै परनिर्भर हुनु नपरेको र आफूले पनि सकुञ्जेलसम्म यही व्यवसायलाई निरन्तरता दिने व्यवसायी श्रेष्ठको सोच छ । यहाँ तिहारको समय मात्र नभइ अन्य समयमा पनि निरन्तर झिनियाँ उत्पादन भइरहेको छ । उत्पादित झिनियाँ हाल प्रतिदर्जन रु १०० मा फुटकर र होलसेल रु ९० मा धमाधम बिक्री भइरहेको छ ।

अहिले तिहारमा मात्रै स्थानीय बजारका अलवा तानसेन, आर्यभन्ज्याङ, बुटवल, नारायणघाट, कावासोतीलगायत विभिन्न बजारमा झिनियाँ खपत भइरहेको अर्का व्यवसायी रुद्रनारायण श्रेष्ठ बताउछन् । उनी भन्छन्, ‘उत्पादन गर्न सकेमात्रै पनि भयो, बजारको चिन्ता छैन, झिनियाँ रोटी तिहारमा सबैका घर घरमा अनिवार्यजसो बनेको छ, व्यावसायिकरुपले उत्पादन गर्दा र प्रयोगकर्ता बढ्दै जाँदा हामीलाई काममा भ्याइनभ्याइ छ ।’

व्यवसायी रुद्रनारायणका अनुसार यस पटकको दसैँ र तिहारमा गरेर झिनियाँबाट करिब रु छ लाख बराबरको व्यापार हुने अनुमान छ । उत्पादन धेरै गर्न सकियो भने फाइदा राम्रो हुने उनको अनुभव छ । पहिला बजारमा झिनियाँ अहिलेजसो प्रर्याप्त मात्रामा पाइँदैनथ्यो ।

घर घरमा तिहारमा हातले घुमाउने सानो सोँचोले घरायसी प्रयोजनका लागि मात्रै झिनियाँ बनाउने चलन थियो तर हिजो आज बजारमा जताततै पाइन थालेपछि घरमा पहिला जस्तो झिनियाँ बनाउने काम गरिँदैन । त्यसकारण पनि बजारका पसल र उद्योगमा झिनियाँ खरिद गर्न जाने ग्राहक बढ्दै गएका हुन् ।

रामपुर ४ बस्ने फूलमाया विक पहिला घरमा आफैले झिनियाँ बनाउने गरेपनि हिजो आज भने बजारबाटै किनेर प्रयोग गर्छिन । भनेको समयमा बजारका पसल र उद्योगमा पनि सहजै पाइने भएपछि बनाउने झण्झट गर्नु नपरेको उनको भनाइ छ ।

निस्दी गाउँपालिका– ५ गल्धाका व्यापारी तिलक सारु गाउँमा झिनियाँ खोज्ने ग्राहक बढेपछि उद्योगबाट खरिद गरेर व्यापार गर्ने गरेको बताउछन् । रामपुर–४ स्थित सिन्दुरटार बस्ने लक्ष्मी श्रेष्ठलाई पनि तिहारको रमझमसँगै झिनियाँ बनाउन भ्याइनभ्याइ छ । झिनियाँ बनाउँदै गर्दा दिन बितेको उनलाई पत्तो छैन ।

झिनियाँबाट राम्रो आम्दानी हुन थालेपछि यो व्यवसायमा हिजोआज महिलाको आकर्षण बढ्न थालेको छ । घरमा बसेर कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने हुँदा ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन । झट्ट नबिग्रने हुँदा जुनसुकै समय उत्पादन भएको झिनियाँ भण्डार गरेर बजारमा पठाउन सकिन्छ ।

गाउँमा सवारी साधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनियाँ बजार पठाउन सजिलो भएको छ । बिहान–साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनियाँ उत्पादन गर्दै आफ्नो जीविका धानेका छन् । यसले पनि महिलामा परनिर्भरता हट्दै गएको छ ।

तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि प्रसादस्वरुप झिनियाँ दिने चलन छ । हिजो आज खाजाका रुपमा पनि यसको प्रयोग बढिरहेको छ । तिहार बाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे सङ्क्रान्ति, तीजलगायत विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग बढ्दो छ ।

– रासस

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलवार १३:१४