सूचनाको शक्ति - The Power Of Information

        

मुगुको गमगढी बजारमा आगलागी, ६ घर जलेर नष्ट

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ।

आज बिहान ‍१ बजे छायानाथ रारा नगरपालिका-१ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरू भएको आगलागीमा ६ घर जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाका अनुसार आगलागी करिब ४ घन्टापछि नियन्त्रणमा आएको छ।

आगलागीबाट वडाध्यक्ष पिआर मल्लको घर पनि जलेको छ।  पुतली शाही, प्रदीप रावल, सन्त सिलवाल, सान्त्वना खत्री, जंग शाही र सोनाम लामाको घर पूर्ण रूपमा क्षति भएको डिएसपी थापाले जानकारी दिए।

उनका अनुसार करिब ११० सुरक्षाकर्मी परिचालन गरी बिहान साढे ४ बजे आगलागी नियन्त्रणमा लिइएको छ। त्यस क्षेत्रमा दमकल नभएका कारण आगो निभाउन खानेपानीको पाइपबाट पानी हालिएको थियो।

खानेपानीको पाइपबाट पानी, माटो र बालुवा प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए। आगलागीबाट भएको क्षतिको विवरण संकलन भइसकेको छैन।

आज बिहानबाट क्षतिको विवरण संकलन भइरहेको डिएसपी थापाले जानकारी दिए।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार ०७:१७