सूचनाको शक्ति - The Power Of Information

        

संविधान जारी भएको आठ वर्ष पूरा

आज संविधान दिवस । संविधान जारी भएको आठ वर्ष पूरा भएको छ ।

संविधान दिवसका अवसरमा आज देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गर्दै छन् । टुँडिखेलमा हुने विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुनेछ ।

संविधान सभाबाट २०७२ साल असोज ३ गते संविधान जारी भएको हो । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान नेपालको मूल कानुन हो । तर यसको कार्यान्वयन पक्ष फितलो भएको भन्दै प्रश्न उठ्न थालेका छन् ।

संविधान कार्यान्वयनका लागि आवश्यक महत्वपूर्ण कानुनहरु निर्माण हुन नै बाँकी छन् । संविधानले अधिकार दिए पनि संघीय कानुन, कर्मचारी, प्रहरी जनशक्तिलगायत अभावले प्रदेशले राम्रो सेवाप्रवाह गर्न सकेका छैनन् । सिंहदरबारको शासन सत्तामा बसिरहेका दल आफ्नो शक्ति हातबाट फुत्कन नदिनका लागि अझै पनि जोडबल गरिरहेका छन् ।

संविधान जारी भएपछि देशमा विकास र समृद्धि आउने आशा र अपेक्षा गरिए पनि त्यस अनुसारको काम हुन सकेको छैन । राजनीतिक प्रणाली फेरिए पनि शासकको प्रवृत्ति फेरिन नसक्दा नागरिकको दुःख र सास्ती अझै पनि उस्तै नै छ ।

संविधानले दिएको निःशुल्क शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, खाद्य सम्प्रभुुत्ता, आवासलगायत दर्जनौँ आधारभूत हकहरूको अनभूति आमनागरिकले अहिलेसम्म पनि गर्न पाएका छैनन् । मौलिक हकका धारा संविधानमा मात्रै सीमित भएको छ ।

स‌ंविधान दिवसका अवसरमा आज सार्वजनिक बिदा दिइएकाे छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार ०७:३२