सूचनाको शक्ति - The Power Of Information

        

असफल प्रयास

ओलीले ‘सहयोग गर्नुपर्ने’ कारण मागेपछि टाढिए प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मिलाउने असफल प्रयास भएको छ । प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयक पारित गर्न ओलीको सहयोग खोजेपछि एमाले र माओवादी दुवै पक्षका नेताहरूले उनीहरूको सम्बन्ध सुधार गर्न खोजेका थिए । तर, एमाले अध्यक्ष ओलीले ‘सहयोग गर्नुपर्ने’ कारण मागेपछि अहिले टाढिएका छन् ।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न एमाले तयार रहेको तर, सरकार निरन्तर एमालेलाई कमजोर बनाउने षड्यन्त्रमा लागिरहेको भन्दै ओलीले सहयोगको कारण खोज्दै सहयोग एकपक्षीय नहुने बताएपछि तत्काललाई उनीहरूको दुरी बढेको हो । ‘उहाँहरू अपासमा मिल्नुस भन्ने हाम्रो चाहाना हो,’ माओवादीका एक पदाधिकारीले भने ‘उहाँहरू मिल्दा वामपन्थीहरूको सरकार बनाउन सहज हुने थियो, आगामी निर्वाचनमा पनि वामपन्थीहरूको बहुमत हुने थियो ।’

टिआरसी विधेयककै क्रममा ओलीसँग भएको भेटमा प्रचण्डले टीआरसी विधेयकमा समझदारी जुटाउने प्रयास गरेका थिए । उनीहरूबीच एकल र सामूहिक भेटघाट पनि नभएको होइन । तर, ओलीले निःसर्त सहयोग गर्न नसकिने भन्दै त्यसका लागि सरकारका तर्फबाट प्रस्ताव ल्याउन आग्रह गरेका थिए । दुई नेताबीच सवालजवाफ भए पनि टीआरसी विधेयक अघि बढाउने विषयमा सहमति भएन ।

प्रचण्डले शान्ति प्रक्रिया निष्कर्षमा पुर्याए सहकार्यको ढोका खुल्ने बताएपनि ओली तत्कालै विश्वस्त हुन सकेनन् । सरकारमा रहँदा प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेसको देउवाइतर समूहले निरन्तर पेलिरहेका बेला टिआरसी विधेयकमार्फत प्रचण्डले ओलीको साथ खोज्दै सहकार्य गर्ने कठिनतम बाटो तय गर्न सक्ने संकेत गरेका थिए ।

‘प्रचण्ड आफै प्रधानमन्त्री भएको बेलामा टीआरसी विधेयक टुंगियोस् भन्ने पक्षमा छन्, त्यसैले एमालेको सहयोग लिन खोजेका हुन्, यसमा सहमति भए आगामी दिनमा सहकार्य गर्न सकिने संकेत ओलीलाई दिएका छन्, सायद चीन भ्रमणबाट फर्केपछि प्रचण्डले ओलीको साथ खोज्न सक्छन्, सहयोग गर्ने या नगर्ने भन्नेचाहि ओलीमै भरपर्छ’, प्रचण्ड निकट रहेका एक नेताले भने ।

माओवादीका युवा नेताहरू एमाले र माओवादीको सरकार बनाउन चाहिरहेका बेला प्रचण्डले ओलीको साथ खोज्दा उनीहरू खुशी देखिएपछि ओली भड्किने र भाउ खोज्न थालेपछि उनीहरूको खुशी पनि केही समय मात्रै रहने हो कि भन्ने आशंका पनि रहेको छ । यो प्रसँगमा यतिबेला एमाले टीआरसीको तरबार प्रचण्डको टाउकोमाथि झुन्डिइरहोस् भन्ने चाहन्छ ।

टीआरसी विधेयकलाई एमालेले प्रचण्ड सरकारसँग ‘बार्गेनिङ’ औजार बनाउन खोजेको जस्तो देखिएको छ । तर, प्रचण्ड भने सहकार्यको ढोका खोल्ने संकेत गर्ने जस्तो देखिँदा नै दुवैले एकले अर्कालाई विश्वास गर्न सकिरहेका छैनन् । सरकारको गतिविधिलाई लिएर कांग्रेसका नेता शेखर कोइराला पक्षले चर्को आलोचना गरिरहेका बेला उक्त विधेयक अघि बढाउन भेटवार्ता सुरु भएको थियो । तर प्रधानमन्त्री प्रचण्ड अमेरिका उडेपछि केही समयलाई स्थगित भएको छ ।

सामूहिक (प्रचण्ड–देउवा सहभागी) बैठकमा एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएका बेला शान्तिप्रक्रिया टुंगोमा पुर्याउन तयार रहँदा द्वन्द्वरत दुवै नेता (दाहाल र शेरबहादुर देउवा)ले बेवास्ता गर्नुको कारण खोजेका थिए । त्यतिबेला एमाले उपमहासचिव विष्णु रिमालले एमाले जहिले पनि टीआरसी विधेयक टुंगोमा पुर्याउन तयार रहेको तर प्रचण्ड–देउवाले नै ढिला गरेको बताउने गरेका छन् ।

ओली–प्रचण्ड भेटपछि उपमहासचिव रिमालले सो प्रतिक्रिया दिएका थिए । टीआरसीसम्बन्धी कानुनलाई विस्तृत शान्तिसम्झौता, अन्तर्राष्ट्रिय रूपमा मान्य हुनेगरी टुंगोमा पुर्याउन एमाले तयार रहेको, एमाले नेपाली नेताहरूलाई अन्तर्राष्ट्रिय अदालतमा लगेर झुन्ड्याउनुपर्छ भन्ने पक्षमा नभएको, नेपाली कानुनअनुसारै सत्य निरुपण हुनुपर्छ भन्ने पक्षमा रहेको, युद्धमा द्वन्द्वरत पक्ष आफैं सरकारमा रहेका बेला एमाले बाधक नबन्ने बताउदै आएको एमाले अध्यक्ष नै तत्काल सहमत हुन नसकेको सरकारमा रहेका माओवादी र कांग्रेसको आरोप छ ।

राजनीतिमा गरिने सहमति र बन्ने गठबन्धन शक्तिमा पुग्ने दाउ हो भन्ने कुरा विगतको आफ्नै भूमिका उनले बिर्सेर धोकेवाजको न्यारेटिभ कथ्न थालिएको अवस्थामा एमाले अध्यक्ष ओलीले टिआरसीमा तत्कालै समर्थन र सहयोग गर्न नसक्दा प्रचण्डपनि राजनीतिको टाढाको बाटोमा हिड्न बाध्य भएको माओवादी नेताहरूको बुझाइ छ ।

टिआरसी विधयेकलाई देखाएर माओवादीलाई फेरि जंगल पठाउने र हेग पुर्याउने कोसिस भएकै छ भन्दै माओवादीहरू पनि शंकाको लाभामा रहेका छन् । राष्ट्रपति चुनावसम्म पुग्दा सत्ताको केन्द्रीकरण र सर्वसत्तावाद योजना ध्वस्त बनाएपछि ओलीमा देखिएको एक प्रकारको ‘अभिजात वर्ग’ धुलिसात हुँदा प्रचण्डमाथिको विश्वास पनि कमजोर बन्दै गयो । जसको परिणाम अहिलेको टिआरसी विधयेकमा देखिदै छ ।

गत मंसिरको आमनिर्वाचनपछि प्रचण्डले प्रधानमन्त्री पदलाई केन्द्रमा राखेर एमाले र कांग्रेससँग पालैपालो गठबन्धन गरेका छन् । देउवाले प्रधानमन्त्री बनाउन तयार नभएपछि एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बने । राष्ट्रपति निर्वाचनअघि दुई महिनामै फेरि कांग्रेसतिर पुगे । यसरी आफूलाई केन्द्रमा राखेर प्रचण्ड ‘लेफ्ट–राइट’ गर्न सक्ने नेता भएकाले टिआरसी विधेयकमा एमालेले सहयोग गरेको खण्डमा फेरि पनि एमालेसँगको सहकार्य नजिक रहेको एमालेकै नेताहरूको भनाइ छ ।

माओवादीका एक पदाधिकारीका अनुसार कांग्रेसमा शेखर कोइराला पक्षले सरकारको आलोचना गर्न थालेपछि प्रचण्डले रणनीतिक रूपमा ओलीसँग सम्बन्ध बढाउन खोजेका हुन् । उनले एमालेलाई निशाना बनाएर सरकारका कामकारवाही अघि बढाउने पक्षमा नरहेको ओलीसँग बताएको स्रोतको दावी छ ।

उनका अनुसार कमाओवादी उपमहासचिवद्वय जनार्दन शर्मा, वर्षमान पुन तथा एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायत नेताहरू वामपन्थी एकता हुनुपर्ने भन्दै अनौपचारिक संवादमा रहेका छन् । यद्यपि, यो विषयलाई औपचारिक रुपमा पार्टीका उपल्लो तहका नेताहरूलाई पनि जानकारी नदिई छलफल थालिएको हो ।

माओवादी अध्यक्षसमेत रहेका प्रचण्ड राजनीतिकको ‘कुशल खेलाडी’ भएकाले देउवा र ओलीसँग खेल खेलिरहेको हुनसक्ने एमाले नेताहरुको बुझाइ रहेको छ । ‘प्रचण्डजी र ओलीजीबीच सहकार्यका लागि साझा भूमि तयार भइसकेको छैन, दुई नेताबीच टीआरसी विधेयकमा सहमति भयो भने आगामी दिनमा सहकार्यको ढोका खुल्न सक्छ’, माओवादीका एक उच्च पदाधिकारीले भने ।

गठबन्धन (प्रचण्ड, देउवा, माधवकुमार नेपाल, उपेन्द्र यादव)मा कुनै समस्या नभएकाले प्रचण्ड ढुक्क छन् । तर, अबको करिब डेढ वर्षपछि पूर्वसहमतिअनुसार देउवालाई सहजै सत्ता हस्तान्तरण हुन्छ कि हुँदैन भन्नेमा आशंका रहेको कांग्रेस नेताहरूको बुझाइ रहेकाले पनि अहिले ओलीसँग प्रचण्ड निकट हुन थालेको कांग्रेसका उपल्लो तहका नेताहरूको आशंका रहेको छ ।

समाजवादी मोर्चाको सन्देश–सभा पोखरामा प्रचण्डले आफू पाँच वर्ष प्रधानमन्त्री हुने सम्भावना भएको बताएर देउवालाई झस्का दिएका थिए । एमालेले पनि ओली सरकारका बेला भएका निर्णय देखाएर नतर्साउन प्रचण्डलाई चेतावनी दिँदै आएको छ । विगतमा पनि (२०७४) राजनीतिक सिद्धान्तका आधारमा ओली र प्रचण्ड एक नभएको र सत्तास्वार्थका लागि मिल्ने भएकाले अहिले पनि यो संभावना कायमै रहेको कांग्रेसजनहरूको बुझाइ रहेको छ ।

१० पुस २०७९ मा नयाँ गठबन्धन बनेर माओवादी नेतृत्वमा बनेको सरकार नौ हप्ता नटिकेरै एमालेसँगको गठबन्धन अन्त्य भएको थियो । हार्दिक सम्बन्ध नभई कूटनीतिक आधारमा बनेको गठबन्धनमा प्रचण्डले नयाँ चालबाट कांगे्रेससँग नजिक भएकोमा बेखबर एमाले अध्यक्ष ओली १० दिनमै कांग्रेसले समर्थन दिँदा झसङ्ग भएका थिए । आउने समस्याको अग्रिम चेत नहुनु ओलीमा दूरदृष्टिको कमी थियो । अहिले पनि प्रचण्डको प्रस्तावमा ओली विश्वस्त हुन नसक्दा दूरदृष्टिको अभाव रहेको महसुस हुने माओवादी नेताहरू बताउँछन् ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार ०८:२१