हरितालिका अर्थात तीज पर्वका अवसरमा आज पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि सोमबार बिहान ३ः०० बजे नै मन्दिरकोे चारैवटा ढोका खुला गरिएको थियो ।
पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशंकर पराजुलीका अनुसार पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा लामको व्यवस्था गरिएको छ । पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषल ६ः०० बजे अगाडि नै दर्शन गराइएको थियो ।
बिहान ६ः०० बजेपछि भने महिला बर्तालुलाई मात्र पशुपतिनाथ मूल मन्दिरमा प्रवेश दिइएको छ । पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायका समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको थियो । भक्तजनहरु बिहानैदेखि लाममा बसेका थिए । पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क पानी वितरण, खोजतलास केन्द्र लगायत सेवाको पनि व्यवस्था गरिएको छ ।
आज काठमाडौं उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्र लगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।







सत्यपाटी संवाददाता । काठमाडौं