सूचनाको शक्ति - The Power Of Information

        

छोरा हन्टरलाई फौजदारी मुद्दा, राष्ट्रपति बाइडन समस्यामा

राजनीतिक दृष्टिकोणबाट हेर्दा अमेरिका अहिले दुई कित्तामा विभाजित छ । एउटा पक्ष पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि ९१ वटा सङ्घीय र राज्य स्तरमा फौजदारी अभियोग लगाइएकोमा आक्रोशित र त्रसित छ । उक्त पक्षले राष्ट्रपति जो बाइडन अन्तर्गत रहेको न्याय मन्त्रालयभित्रका शक्तिशाली निकायहरूले गरेको षड्यन्त्रको रूपमा उक्त घटनालाई लिएको छ ।

अर्को पक्ष चाहिँ त्यही न्याय मन्त्रालयले अनुचित रूपमा राष्ट्रपति बाइडनका छोरालाई खेदिरहेको विश्वास गर्छ । स्वयं घोषणा गर्नुपर्ने करसम्बन्धी मामिला र व्यवहार अनि बारम्बार लागुऔषध दुर्व्यसनसम्बन्धी आरोपहरू हन्टर बाइडनमाथि लाग्ने गरेका छन् । अर्को शब्दमा दुवै कित्ताका अमेरिकीहरू देशको कानुन कार्यान्वयन गर्ने निकायलाई अर्को पक्षले बन्धक बनाएको र कल्पना नै गर्न नसकिने गरी राजनीति भएको ठान्छन् ।

हन्टर बाइडनविरुद्ध मुद्दा परेपछि निम्तिन सक्ने समस्या

बन्दुक सम्बन्धी सङ्घीय कानुन आकर्षित हुने गरी तीनवटा अभियोग लगाइएपछि प्रतिक्रिया जनाउँदै हन्टर बाइडनका वकिलले ट्रम्पको समर्थन गरिरहेका रिपब्लिकनहरूको ‘अनुचित राजनीतिक हस्तक्षेप’ सामु अभियोजनकर्ताहरूले घुँडा टेकेको आरोप लगाए । यसैबीच कंग्रेसका एक कन्जर्भेटिभ नेता एन्डी बिग्सले उक्त अभियोग न्याय मन्त्रालय निष्पक्ष रहेको देखाउने एउटा चालबाजी मात्रै भएको बताएका छन् ।

‘यसमा नफस्नुहोस् । उनीहरूले भविष्यका अझै गम्भीर आरोपहरूबाट उनलाई जोगाउने प्रयास गरिरहेका छन्,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । हन्टर बाइडन कानुनी झमेलामा फस्नु उनका पिता र परिवारका लागि व्यक्तिगत तहमै एउटा आघात हो । तर यसको प्रभाव लामो समय कायम रहन सक्छ । रिपब्लिकनहरूले केही समययतादेखि राष्ट्रपतिका छोराको कमजोरी बुझेका छन् ।

त्यसलाई आफ्नो लाभका लागि उपयोग गर्दा जो बाइडनलाई उल्लेख्य रूपमा आक्रोशित बनाउन र पूर्वराष्ट्रपति ट्रम्पले भोग्नुपरेका कानुनी चुनौतीले निम्त्याएका समस्याहरू ओझेलमा पर्न सक्छन् । त्यसबाहेक अर्को तथ्य के हो भने सन् २०२४ मा बाइडन पुनः ह्वाइटहाउसका लागि प्रतिस्पर्धी बन्ने कुराप्रति अधिकांश डेमोक्र्याटहरू खासै खुसी छैनन् । नयाँ पुस्तालाई अवसर दिन दबाव खेपिरहेका ८० वर्षे बाइडनका लागि आफ्ना छोराविरुद्ध दायर मुद्दा निर्वाचनमा उम्मेदवार नबन्न अर्को कारण बन्न सक्छ ।

यो सबैको अर्थ हन्टर बाइडनको मुद्दाले आगामी वर्ष हुने उतारचढावपूर्ण चुनावमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । तर रिपब्लिकनहरूले केही चुनौतीहरू पनि सामना गरिरहेका छन् । बन्दुकसँग सम्बन्धित तीनवटा अभियोगहरू ’फेलनी’ अर्थात् एक वर्षभन्दा बढी जेल सजाय हुने प्रकृतिका छन् । ‘मिस्डिमीनर’ भनिने कसुरमा जरिवाना वा छोटो अवधिको जेल सजाय हुने गर्छ ।

भविष्यमा हन्टर बाइडनमाथि करसम्बन्धी मामिला र विदेशी लेनदेनका विषयमा पनि अभियोग लगाइन सक्छ । तर अहिलेसम्म ती डोनल्ड ट्रम्पमाथि लगाइएका अपराधका आरोपको तह र सङ्ख्यासँग नजिक छैनन् । हन्टर बाइडनका समस्यालाई अस्त्र बनाउने कुनै पनि प्रयासले अमेरिकी नागरिकहरूलाई तुलना गर्ने परिस्थिति उपलब्ध गराउन सक्छ । हन्टर बाइडनले कुनै पनि राजनीतिक पदका लागि प्रतिस्पर्धा नगरेको विषय डेमोक्र्याटहरूले औँल्याउने छन् ।

अभूतपूर्व विरोधाभास

यो मुद्दाको एउटा रोचक पक्ष के हो भने उनका वकिलले गएको जुलाईमा भङ्ग भएको भन्ठानेको मेलमिलापको प्रस्ताव पुनः जाग्न सक्छ । ‘सेकन्ड अमेन्डमन्’ अर्थात् दोस्रो संशोधनको व्याख्या गर्दै विभिन्न अदालतले दिएको अधिकार उनको प्रतिरक्षामा प्रयोग हुन सक्छ । अमेरिकाको संविधानमा लागुपदार्थ दुर्व्यसनीहरूले हतियार राख्न नमिल्ने कुनै व्यवस्था छैन ।

त्यो बन्दुक नियन्त्रणको पक्षमा पैरवी गरिरहेका डोमोक्र्याटहरूका लागि भने अद्वितीय विरोधाभास हुनेछ । बिहीवारको अभियोग हाउस अफ रेप्रिजेन्टटिभका रिपब्लिकन सभामुख केभिन मकार्थीले राष्ट्रपति बाइडनमाथि महाभियोग जाँच गर्ने घोषणा गरेपछि आएको हो । ह्वाइट हाउसले त्यसलाइ ‘राजनीतिक नाटक’ मानेको छ । मकार्थीले बाइडन परिवारको व्यापारिक लेनदेन र राष्ट्रपतिको व्यवहारबारे ‘गम्भीर र विश्वसनीय आरोपहरू’ रहेको बताए ।

रिपब्लिकनहरूले यो नयाँ जाँचले पद र भ्रष्टाचारको मामिलामा राष्ट्रपतिलाई दोषी ठहर गर्ने अपेक्षा गरेका छन् । तर हन्टर बाइडनमाथि सात महिनादेखि चलिरहेको जाँचले ठोस परिणाम दिएको छैन । उनका भूतपूर्व व्यावसायिक साझेदार, एफबीआईका एक सुराकी र आईआरएसका दुई एजेन्टबाट केही विवरणहरू जुटेका छन् । तर अदालतबाट उपस्थित हुन आदेश दिन थालिएपछि त्यो परिवर्तन हुनसक्छ ।

सदनमा रिपब्लिकनहरूको झिनो बहुमत छ । त्यसैले उनीहरूले महाभियोगको प्रस्ताव अघि बढाए भए पनि पारित सहज छैन । तर के निश्चित छ भने कुनै बेला राजनीतिक र कानुनी प्रणालीमा रहेको एउटा स्पष्ट विभाजन अहिले झन् झन् अस्पष्ट बन्दै गएको छ । कोर्नेल ल स्कूलका एड्जङ्क्ट प्राध्यापक ¥यान्डी जेलिन त्यसलाई ठूलो समस्या ठान्छन् ।

जेलिन भन्छन्, ‘कुनै व्यक्तिले एक दिन उठेर मसँग एउटा खेलौना भन्यो र त्यसलाई यो सङ्घीय फौजदारी न्याय प्रणाली हो भन्ने दाबी गर्यो । उसले म त्यो दण्ड प्रणालीलाई मेरो राजनीतिसँग असहमत रहेका व्यक्तिहरूमाथि प्रयोग गर्छु भन्न सक्छ । मेरो विचारमा त्यसैको प्रभावस्वरूप कहिल्यै नसकिने लडाइँले यो देशलाई विभाजित गरिरहेको छ ।’

स्रोत : बीबीसी
प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार १३:२७