सूचनाको शक्ति - The Power Of Information

        

विशिष्टीकृत क्यान्सर अस्पताल दरबन्दीबिनै सञ्चालनमा

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आठ वर्षअघि सरकारलाई हस्तान्तरण गरिएको भए पनि हालसम्म दरबन्दी कायम हुन सकेको छैन ।

सरकारलाई हस्तान्तरण गरी हाल सङ्घीय सरकार मातहत रहेको यो अस्पतालमा एकजना पनि दरबन्दी कायम हुन नसक्दा उपचार सेवा प्रभावित भइरहेको अस्पतालका निर्देशक डा.नीरज भट्टराईले जानकारी दिए ।

हाल अस्पतालमा अस्थायी, करार र ज्यालादारीका गरी ११५ जना चिकित्सक तथा स्वास्थ्यकर्मी र अन्य कर्मचारी कार्यरत छन् । जसमध्ये १५ जना विशेषज्ञ चिकित्सक कार्यरत रहेका छन् । अस्पतालका निर्देशक समेत काजमा खटाइने गरिएको छ ।

अस्पतालका निर्देशक डा.भट्टराईले भने, ‘चिकित्सक तथा अन्य कर्मचारीको दरबन्दी कायम नहुँदा सेवा प्रवाहमा जटिलता हुनेगरेको छ, दरबन्दी अभावमा पनि स्तरीय उपचार सेवा दिने प्रयास गरिरहेका छौँ ।’ उनले दरबन्दी स्वीकृतिकै लागि अहिले पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा धाइरहेको बताए ।

अस्पतालले कम्तीमा ४०९ चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी आवश्यक पर्ने भन्दै आन्तरिक सङ्गठनात्मक तथा व्यवस्थापन (ओएनएम) सर्भे स्वीकृतिका लागि मन्त्रालयमा पठाएको लामो समय बिते पनि हालसम्म स्वीकृत हुन सकेको छैन ।

४०९ जना जनशक्तिको खाँचो रहेको बताइएको छ । कम्तीमा २०० दरबन्दी स्वीकृति भएमा अस्पताल सञ्चालनमा केही सहजता हुने अस्पताल विकास समितिले जनाएको छ । विशिष्टीकृत अस्पताल भए पनि दरबन्दी स्वीकृति नहुँदा समस्या परिरहेको अस्पतालले जनाएको छ ।

खजुराबासीले २०६३ मा महायज्ञ सञ्चालन गरी क्यान्सर अस्पताल निर्माण सुरुगरेपछि नेपाल सरकारले भौतिक पूर्वाधार निर्माणका लागि सहयोग गरेको थियो । कोभिड–१९ सङ्क्रमणको समयमा पहिलो पटक यस अस्पताललाई कोभिड अस्पतालको रूपमा प्रयोग गरिएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार १२:३४