नेपालमा कन्सलट्रेन्सीहरुले अमेरिका, अस्ट्रेलिया पठाइदिने नाममा ३० लाखदेखि ३५ लाख रुपैयाँ असुलिरहेका छन् । धितो नभएको तथा आयस्रोत नभएको व्यक्तिको समेत उनीहरुले एक लाखदेखि पाँच लाख रुपैयाँसम्म घुस खाएर बैंकमार्फत लाखौंको धितो देखाउने गरेका छन् । पछिल्लो समय नेपालबाट अमेरिका, अस्ट्रेलिया गएकामध्ये अधिंकाश यसरी नै गएका छन् । र, यो कुरा लुकेर लुक्दैन । नेपालबाट अमेरिका, अस्ट्रेलिया पढ्न तथा काम गर्नका लागि गएका विद्यार्थी तथा व्यक्तिहरुले देखाएको धितो त्यहाँको सरकारले चेकजाँच गर्दैन । यदि त्यहाँको सरकारले यो चेकजाँच गर्ने हो भने अधिंकाश नेपालीहरु नेपाल फर्किनुपर्ने हुन्छ ।
अहिले बजारमा सुनिन्छ कि एक आनासमेत जग्गा नभएका व्यक्तिले २५ लाखदेखि ३० लाख रुपैयाँसम्म दिएमा उसको सम्पूर्ण काम कन्सल्टेन्सी गरिदिन्छ । र, उनीहरु अमेरिका, अस्ट्रेलिया जान पाउँछन् । नेपालको पैसा बैंक तथा कन्सल्टेन्सीका कारण विदेश गइरहेको छ । यता, पढ्ने नाममा दक्ष, सिपयुक्त जनशाक्ति पनि पलायन भइरहेका छन् । अहिले कन्सल्टेन्सी तथा बैंकहरुले १२ पास भएका विद्यार्थी तथा युवाहरुलाई नेपालमा बसेर केही नहुने भन्दै अमेरिका, अस्ट्रेलिया जानका लागि फकाइरहेका छन् । एकातिर पढ्ने नाममा वर्षैपिच्छे खरबौं नेपाली रुपैयाँ विदेश गइरहेको छ, अर्कातिर त्यहाँ पुगेपछि नेपाली युवाहरु स्वदेश फर्किदैनन् ।
न त कमाएर नै यता पैसा पठाउँछन् । अमेरिका, अस्ट्रेलिया पुगेपछि मानिसहरु त्यही कमाउँछन् र त्यही रमाउँछन् । नेपालमा पैसा पठाउँदैनन् । आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलियामा सेटल भएपछि नेपालमा भएका आमाबुबा पनि यहाँको सम्पत्ति बेचेर उत्तैतिर लाग्छन् । मुलुकको अर्थतन्त्र डामाडोल अवस्थामा पुग्नुमा यो पनि एउटा कारण हो । अहिले बजार मन्दीमा छ । व्यापार व्यवसाय पूरै ठप्प छ । खाडी मुलुकमा गएका नेपाली युवाहरु कमाएर नेपालमा पैसा पठाउँछन् । उनीहरुले नेपाल समेत फर्किन्छन् । अहिले मुलुकको अर्थतनत्र यिनै खाडी मुलुकमा गएका नेपाली जनताले पठाएको रेमिट्यान्सबाट धानिरहेको छ ।
तर, अमेरिका, अस्ट्रेलिया गएकाहरुले यहाँ पैसा त पठाउँदैनन् नै यहाँ भएको पुर्ख्यौली सम्पत्ति समेत बेचेर उत्तै घर बसाउँछन् । सरकारले अझै पनि पढ्ने नाममा अमेरिका, अस्ट्रेलिया जानमा रोक लगाएको छैन । आज नेपाली जनशक्ति विदेश पलायन हुँदा नेपाल कङ्गाल भएको छ । आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलिया पठाएका अभिभावकहरु नेपालमा बसेर ठुलाठुला कुरा गर्छन् । उनीहरु आफ्नै मातृभूमिको बदनाम गर्छन् । अब सरकारले अमेरिका, अस्ट्रेलिया गएर त्यहाँको नागरिकता लिइसकेको व्यक्ति आफ्नो पुर्ख्यौली सम्पत्तिबाट बञ्चित हुने भनेर कानून बनाउनुपर्छ ।
सरकारले अब नेपाली विद्यार्थीहरुलाई अमेरिका, अस्ट्रेलिया जानबाट रोक्नैपर्छ । अमेरिका, अस्ट्रेलिया जाँदा खर्च हुने २५–३० लाख रुपैयाँले नेपालमै व्यापारव्यवसाय सञ्चालन गरेमा राज्यलाई पनि कर आउँछ र मुलुकमा रोजगारीका अवसर सिर्जना हुन्छ । अहिले सरकारी जागिर खाएका तथा व्यापार व्यवसाय, राजनीति गरेर कमाएकाहरुले आफ्ना छोराछोरी १२ पास हुनेबित्तिकै अमेरिका, अस्ट्रेलिया पठाउँछन् । पछिल्लो समय नेपालको शैक्षिक क्षेत्रमा निकै सुधार आएको छ । चाँहे त्यो सरकारी विद्यालयमा होस् या निजी विद्यालयमा । अहिले विद्यार्थी तथा युवाहरुलाई कक्षा १२ नभएसम्म नेपाल मन पर्छ ।
यहाँको शिक्षा राम्रो लाग्छ । तर, १२ पास हुने बित्तिकै उनीहरु यहाँको शिक्षा राम्रो नरहेको भन्दै पढ्नका लागि अमेरिका, अस्ट्रेलिया जान्छन् । अहिले मानिसहरुलाई नेपालमा व्यापार व्यवसाय गर्न लाज लाग्छ । तर, २५–३० लाख रुपैयाँ खर्च गरेर अमेरिका, अस्ट्रेलिया पुगेर त्यहाँ भाडा माझ्न लाज लाग्दैन । यसरी अमेरिका, अस्ट्रेलिया पुगेपनि उनीहरु नेपाललाई गाली गर्न छोड्दैनन् । जो मान्छे आफु जन्मिएको देशका लागि के गर्न सक्दैन, उल्टै देशलाई धरायसी बनाउने काम गर्छ, ऊ नै ठूलठूलो कुरा गर्छ । अहिले मुलुकको अर्थतन्त्र धरायसी बनाउनुमा कन्सल्टेन्सी र बैंकको ठूलो हात छ ।
आफ्नो फाइदाका लागि उनीहरुले पैसा खाएर सबै नेपाली विद्यार्थीलाई अमेरिका, अस्ट्रेलिया पठाइदिए । जनता जिम्मेवार भएनन् । कसैलाई पनि आफ्नो मातृभूमिको माया छैन । अनि राजनीतिक दलका नेतालाई मात्र किन दोष दिनु ? अहिले बजारमा आएको मन्दी नेताले हटाउन सक्दैन । न त पढ्नका लागि अमेरिका, अस्ट्रेलिया गएका नेपाली विद्यार्थी तथा नागरिक स्वदेश फर्किन्छन् । अझै पनि अधिंकाश विद्यार्थी तथा अभिभावकहरु आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलिया पठाउनका लागि कन्सलट्रेन्सी धाइरहेका छन् । उनीहरुलाई आफ्नो मातृभूमिको माया छैन । जे जसरी भए पनि उनीहरुलाई अमेरिका, अस्ट्रेलिया पुग्नुछ ।
विदेशी सरकार निकै बाठो छ । अहिले पढ्न भनेर काम गर्नका लागि नेपाली युवाहरु अमेरिका, अस्ट्रेलिया गइरहेका छन् । तर, त्यहाँको सरकारले त्यहाँ आम्दानी गरेको रकम त्यहिँ खर्च गराउन लगाउँछ । जसले गर्दा उनीहरुले नेपालमा एक सुको समेत पठाउँदैनन् । कतिपय अभिभावकहरुले त पुर्ख्यौली सम्पत्ति बेचेर आफ्ना छोराछोरीलाई अमेरिका, अस्ट्रेलिया पठाएका हुन्छन् । तर, छोराछोरी भने उत्तै कमाएर उत्तै रमाउँछन् । विदेश पुगेका आफ्ना छोराछोरीले उनीहरुलाई हेर्दैनन् । बुढेसकालमा छोराछोरीको सबैभन्दा बढी आवश्यकता हुँदा समेत उनीहरु फर्किएर आउँदैनन् । कतिपय त अभिभावक मरेपछि पनि शव जलाउन पनि फर्किदैनन् ।
उदाहरणका लागि संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष एंव प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौं २६ गते निधन भयो । उनले मृत्युअघि आफ्ना छोराछोरीको मुखसमेत हेर्न पाएनन् । दुवै छोराहरु विदेश भएपछि उनको अन्त्येष्टमा समेत ढिलाइ भएको छ । यो त एउटा प्रतिनिधि घटना मात्रै हो । यस्ता थुप्रै घटना छन् । जहाँ अभिभावकको मृत्यु पश्चात् पनि छोराछारीहरु शव जलाउन फर्किदैनन् । अनि आफन्तजन र छिमेकीहरुले जलाउनुपर्छ । अहिले आँखा भरी सपना बोकेर नेपाली युवाहरु अमेरिका, अस्ट्रेलिया पुग्छन् । तर, आफ्नो देश र आफ्ना आमाबुबालाई बिर्सिन्छन् ।
छोराछोरी अमेरिका, अस्ट्रेलिया भएका अभिभावकहरु उमेर भएसम्म छरछिमेकसमक्ष ठूलठूला कुरा गर्छन् । तर, बिरामी पर्दा उनीहरुलाई हेर्ने कोही हुदैनन् । पैसा भए पनि उनीहरुको मनमा शान्ति हुदैन । किनकि उनीहरुको अन्तिम इच्छा आफ्ना छोराछोरीसँग भेट्नु हुन्छ । तर, छोराछोरी नै नफर्किएपछि आशैआशमा उनीहरुले जीवन त्याग्छन् । अनि जतिसुकै धनी भए पनि मर्ने बेलामा समेत आफ्ना छोराछोरी भेट्न नआएपछि पैसाको के काम ? दुई दशकअघिसम्म एउटै मान्छेको पाँचदेखि दश जनासम्म सन्तान हुन्थ्यो । आमाबुबा गरिब भएपछि सन्तानहरु कलिलै उमेरमा आफुले जानेको कुरा गर्न थाल्थे ।
जुनसुकै अफ्याठ्रो परिस्थितिमा समेत उनीहरु आत्तिदैन्थे । तर, पछिल्लो समय मानिसहरु एउटा मात्र सन्तान जन्माउँछन् । सन्तानले जे भन्यो त्यही पूरा गरिदिन्छन् । उनीहरुलाई दुःख के हो भनेर महसुस समेत हुन दिँदैनन् । अनि जीवनमा अलिकति चूनौती आउनेबित्तिकै उनीहरु आत्तिएर वा सहन नसकेर आत्महत्या गर्छन् । यसरी भएको एउटा सन्तानले समेत आत्महत्या गरेपछि आमाबुबाको बुढेसकालको सहारा गुम्छ । उनीहरु एक्लो हुन्छन् । मरेपछि समेत आफन्तजनले शव जलाउनुपर्छ । कतिपय त सुखै सुखमा हुर्किएर १२ कक्षा पास भएपछि अमेरिका, अस्ट्रेलिया पुग्छन् । अनि काम गर्न नसकेर आत्महत्या गर्छन् ।
अहिले यस्ता घटना बढिरहेका छन् । यसले एकातिर पैसा गुम्नुका साथै अर्कातिर छोराछोरी समेत गुमाउँछन् अभिभावकहरुले । अहिले त सरकारमा बस्ने नेता तथा कर्मचारीहरु नै विवाह नगरी बसेका छन् । विवाह गरेपनि कतिपयको सन्तान छैन । सन्तान भए पनि कतिपयको एउटा मात्र छ । त्यसैले, सरकारले एउटा मात्र सन्तान जन्माउनुमा प्रतिबन्ध लगाउनुपर्छ । अनिवार्य विवाह गर्नुपर्ने र दुईदेखि तीन जनासम्म सन्तान जन्माउनुपर्ने भनेर निर्णय गर्नुपर्छ । साथै, पढ्नका लागि अमेरिका, अस्ट्रेलिया जानमा रोक लगाउनुपर्छ । यदि सरकारले यस्तो कार्य नगरे मुलुकमा बुढाबुढी मात्र हुनेछन् ।
रुषा थापा । भक्तपुर