सूचनाको शक्ति - The Power Of Information

        

सुन तस्करी प्रकरण

६० केजी सुन तस्करीमा ‘विदेशबाटै सञ्चालित अन्तरदेशीय सङ्गठित अपराध’

अहिलेको बजार मूल्यको आधारमा ३.५ अर्ब रुपैयाँको सुन अवैध पैठारी भएको पुष्टि भएको छ ।

झन्डै दुई महिनादेखि चर्चाको चुलीमा रहेको सुन तस्कारीबारे पहिलो चरणको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बुधवार आफ्नो प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । हङ्कङबाट आएको विमानमा ल्याइएका आठ बाकस ब्रेकप्याड (ब्रेक शू) भित्र ६०.७ किलोग्राम सुन भेटिएको थियो ।

उक्त तस्कारी काण्डको अनुसन्धान गर्दा प्रहरीले भेटेको प्रमाणले त्यसबाहेक सुन निकाली पुनः प्याकिङ गरिएको अवस्थामा बरामद ब्रेकप्याडको तौलका आधारमा उक्त गिरोहले ३०० केजीभन्दा बढी सुन नेपाल भित्र्याएको देखिएको सीआइबीले जनाएको छ । सीआइबीका अनुसार उक्त गिरोहले ३६२.७७८ केजी सुन तस्करी भित्र्याएको देखिएको छ । अहिलेको बजार मूल्यको आधारमा ३.५ अर्ब रुपैयाँको सुन अवैध पैठारी भएको पुष्टि भएको सीआइबीले जनाएको छ ।

मुद्दा चलाउन सिफारिस

यस मामिलामा प्रहरीले २३ नेपाली र नौ विदेशीसहित ३२ जनालाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार सुन तस्करीमा संलग्न भएको आशङ्का गरिएका चार नेपाली र १४ विदेशीसहित १८ जना फरार छन् । ती सबै ५० जनालाई प्रतिवादी बनाउँदै सीआइबीले भन्सार ऐन अवैध सुन पैठारी तथा सङ्गठित अपराध अन्तर्गतका मुद्दा चलाउन सिफारिस गरेको छ । पक्राउ परेकामध्ये पाँच विदेशी नागरिकले नेपाली नागरिकता तथा राहदानी समेत लिएको खुल्न आएकाले त्यसमा पनि मुद्दा चलाउन सिफारिस गरिएको छ ।

सीमा वारपारको सङ्गठित अपराध

सुन तस्करी काण्डको अनुसन्धानको नेतृत्व गरेकी सीआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले यो घटना ‘अन्तरदेशीय अपराध’को स्पष्ट उदाहरण भएको बताइन् । ‘हङकङ र मकाउ बस्ने चिनियाँ नागरिक, ताइवानी नागरिक, भारतीय नागरिक समेतको यसमा संलग्नता देखियो,’ उनले भनिन् । नेपालभित्र चाहिँ राजनीतिक तथा उच्च प्रशासकीय संरक्षणको प्रत्यक्ष संलग्नता अहिलेसम्म नखुलेको उनले जनाएकी छन् ।

अपराधमा संलग्नहरूले सुन लुकाउन र गाल्न प्रयोग गर्ने उपकरण ।

तर प्रभावशाली व्यक्तिहरूसँगको सम्बन्ध र सम्पर्क दुरुपयोग भएको छनक भने आएको उनले बताइन् । उनका अनुसार सुन तस्करी गर्ने यो गिरोहका नाइकेहरूले इटली वा जापानका माफिया सङ्गठनहरूले प्रयोग गर्ने जटिल शैली अपनाएको देखिएको छ । ‘अपराधकार्यको सम्पूर्ण नियन्त्रण बाह्य व्यक्तिबाट भएको देखिन्छ,’ प्रहरी उपरीक्षक तथा एक प्रमुख अनुसन्धानकर्ता सञ्जयसिंह थापाले भने ।

हङ्कङका मिस्टर लिन, मिस ली अनि नाम नखुलाइएका अन्य तीन जना यो अपराध जालोका ‘किङ्पिन’ वा मुख्य नाइके देखिएको सीआईबी अनुसन्धानमा उल्लेख छ । यसमा थप खुल्न अझ बाँकी भएको हुनसक्ने पनि बताइएको छ । यहाँ तस्करीमा संलग्न व्यक्तिहरूमाझ अपराध कार्य तथा पैसा भुक्तानीमा ‘लेयरिङ’ अर्थात् आवश्यकताका आधारमा मात्र एकले अर्कालाई चिन्ने गरेको खुलेको छ ।

‘एकदम सङ्गठित अपराध रहेछ । आधुनिक शैली अनि डिजिटल भुक्तानी गरेको देखिन्छ,’ बज्राचार्यले भनिन् । सुनको अन्तिम गन्तव्य भारत नै रहेको सङ्केत पाइएको हुनाले यसबारे थप बुझ्न सीआईबीले हङ्कङ र भारतमा आफ्ना अनुसन्धान अधिकृतहरू पठाएको थियो । त्यहाँबाट सहयोग भइरहेको तर अदालतमा स्वीकार्य हुने किसिमका दस्तावेज तथा प्रमाण बटुल्न पारस्परिक कानुनी सहयोगका सहमति आवश्यक पर्ने हुनाले त्यसका निम्ति गृह तथा परराष्ट्र मन्त्रालयको सहयोगमा पहल भइरहेको सीआईबीले जनाएको छ ।

साथै अपराधीहरूले प्रयोग गर्ने शैली, वस्तु, उपकरणजस्ता विषयको सूचना प्राप्त गर्न हाल प्रहरीले इन्टरपोलको सहयोगमा ’पर्पल नोटिस’ पनि जारी गरेको छ । साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको बाहिर राजस्व अनुसन्धान विभागले शङ्का लागेर समातेको ब्रेक प्याडका थानमा सुन लुकाइएको भेटिएको थियो । विभागले १९ दिन अनुसन्धान गरेपछि थप छानबिन गर्न प्रहरीलाई प्रतिवेदन बुझाएको थियो ।

राजनीतिक संरक्षण विना ठूलो परिमाणमा सुन तस्करी गर्न सम्भव नहुने कतिपय जानकारहरूको भनाइ छ । फाइल तस्वीर

प्रहरीको सीआइबीले एक महिनाभन्दा बढी अनुसन्धान गरेर अपराधको प्रकृतिबारे प्रारम्भिक जानकारीहरू दिएको छ । हङ्कङबाट ल्याइएको उक्त सामानलाई नेपाल ल्याएर बेचबिखन गर्न त्यहाँबाट नै केही व्यक्तिले अपराध सञ्जाल सञ्चालन गरेको उसको ठहर छ । हङकङमा रहेका उक्त गिरोहका नाइकेहरूले अपराधकार्य गर्न नेपालमा सातवटा कम्पनी दर्ता गराएको उसले फेला पारेको छ ।

ती कम्पनीमार्फत् ब्रेक प्याड र विभिन्न विद्युतीय उपकरणहरू आयात गरेको देखिएको छ । सुरुमा परीक्षणका रूपमा थोरै परिमाणमा सामान झिकाएर पैठारीका प्रक्रिया तथा भन्सार छुटाउने प्रक्रिया अध्ययन गरेको समेत देखिएको अनुसन्धानकर्ता सञ्जयसिंह थापाले बताए । तिनले लाजिम्पाट र टोखामा सुन गाल्ने उपकरण जडान गरेर लुकाएर ल्याइएको सुन निकाल्ने काम गरेका थिए । भन्सारबाट छुटेपछि सुन बालुवाटारको एउटा गोदाममा लैजाने अनि त्यसपछि गाल्ने गरिएको सीआइबीको आकलन छ ।

सुन किन्ने व्यक्ति समेत हङ्कङबाटै पहिचान गरी नेपालमा “गुप्त भाषा“ प्रयोग गरेर सुन दिने गरिएको पाइएको उसले बताएको छ । पैसा भुक्तानी गर्न डिजिटल माध्यमका साथसाथै क्रिप्टोकरेन्सीको प्रयोग हुने गरेको उसको अनुसन्धानले देखाएको छ । अहिलेको अनुसन्धानले सबै पाटो नसमेटेका हुनाले थप अनुसन्धान गरी पूरक अभियोजन गरिने सीआइबीका अधिकारीहरूले बताएका छन् ।

स्रोत : बीबीसी
प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार १७:१२