अहिले देशका धेरै ठाउँमा पानी परिरहेको छ । बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले पानी परेको हो ।
विशेष गरेर कोशी, बाग्मती, गण्डकी र लुम्बिनीका केही ठाउँमा अहिले ठूलो पानी परिरहेको छ । दाङ, बाँके, कास्की, गोरखा, चितवन, सिन्धुली, नुवाकोट, बारा, सोलुखुम्बु, इलाम लगायतका ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै सिन्धुलीको सिन्धुलीमाडी र सिन्धुलीगढी क्षेत्रमा मुसलधारे पानी परेको छ । स–साना खोलामा जलसतह केही बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको हुनाले सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।
देशैभर एकैसाथ ठूलो पानी पर्ने र झरीको सम्भावना नभए पनि ठाउँठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ । भोलि बुधवार पनि काठमाण्डौसहितका धेरै ठाउँमा पानी पर्ने माैसम पूर्वानुमान महाशाखाकाे अनुमान छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ