सूचनाको शक्ति - The Power Of Information

        

१५ दिनअघि दुनैबाट सम्पर्कविहीन मेजर पण्डितको अवस्था अझै अज्ञात

डोल्पाको दुनैस्थित नन्द बक्स ब्यारेकमा कार्यरत मेजर विमल पण्डित सम्पर्कविहीन भएको दुई साता बितिसक्दा पनि अवस्था अझै अज्ञात छ । गत १० भदौमा सदरमुकाम दुनैबाट ‘इभिनिङ वाक जान्छु’ भन्दै साँझपख गुल्म छोडेका पण्डितको अवस्थाबारे केही तथ्य पत्ता नलागेपछि परिवार चिन्तामा परेको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका डाँछी घर भएका मेजर पण्डितले बेपत्ता हुने दिन साँझ त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोट बजारमा २६ हजार साटेका थिए । त्यसपछि उनले नजिकै रहेको पसलमा झोला, चप्पल, रुमाल र अन्डरवेयर किनेका थिए । उनले त्रिपुराकोटमै रहेको फोक्सुण्डो भरणा होटेलमा मोबाइल चार्ज गरेको र कोठाबारे सोधपुछ गरेका थिए ।

‘६ नबज्दै मेजरसाप होटेलमा पुग्नुभएको थियो । सुरुमा मोबाइल चार्ज गर्नुभयो, त्यसपछि कोठा खाली छ–छैन भनेर सोध्नुभयो । त्यसलगत्तै लोकल अल्कोहल पाइन्छ कि पाइँदैनन्, बोतलमा लिन पाइन्छ कि पाइँदैन भनेर पनि सोध्नुभयो,’ होटेल सञ्चालक पूर्णिमा बोहोराले भनिन्, ‘कोठा पनि खाली छ भनेँ । झोला किन्ने पसलबारे सोध्नुभयो । मैले नजिकैको पसल देखाएँ, तर त्यहाँ नकिनेर पुलपारिका पसलमा जानुभएछ । झोला किनेर फर्किसकेपछि मोबाइल हेर्नुभयो, २३ प्रतिशत मात्र चार्ज भएको थियो । त्यसैवेला प्रदेश मन्त्री र प्रहरीहरूको टोली आयो, उहाँ लगत्तै होटेलबाट निस्कनुभयो ।’

मेजर पण्डितलाई दुनैबाट त्रिपुराकोट लैजाने चालक नगेन्द्र बस्नेतले त्रिपुराकोट गाडी जान्छ–जान्न भनेर सोधेको बताए । ‘मेरा केही प्यासेन्जर पनि थिए, आधा टिकटक बनाउन गएका थिए, गाडी नौ सिटको भएकाले पूरै यात्रु पुगेका थिएन, बाँकी यात्रु कुरेर बसेको थिएँ । मेजरसाबले रिजर्भमा जाउँ भन्नुभयो । त्यसपछि त्रिपुराकोट हिँड्यौँ । मैले डिएसपीलाई भनेको छु, गाडी कुनै चेकपोस्टमा रोक्नुपर्दैन पनि भन्नुभयो । उहाँलाई देख्दा लाग्थ्यो हतारमा हुनुहुन्थ्यो, हतार होला भनेर गाडी पनि हुइँकाएको थिएँ,’ उनले भने ।

त्रिपुराकोट बजार पुगेपछि पण्डितले क्यास पैसा नभएकाले मोबाइल बैंकिङमार्फत ६ हजार पाँच सय रुपैयाँ दिएको बस्नेतले बताए । ‘त्यसपछि म दुनैतर्फ फर्केँ, भेत्ती पुगेपछि सेनाको गाडीले रोक्यो, मेजरसापलाई लिने गाडी यो होइन भनेर सोधपुछ गर्‍यो । मैले हो भनेँ, त्यसपछि जानुस् भन्यो, म हिँडे । मलाई त्यतिवेला मात्र थाहा भयो सेनाको मेजर भनेर । जिल्लाबाहिरको भएकाले मैले कुनै नगरपालिकाको मेयर नै सम्झेको थिएँ,’ उनले भने । मेजर पण्डितले पर्स, एटिएम कार्ड सबै ब्यारेकमै छाडेर हिँडेका थिए ।

बेपत्ता मेजर पण्डितका ६ जनाको परिवार छ । उनका भाइ हाल परिवारसहित पोर्चुगल छन् । पण्डितकी श्रीमती सुदिना पण्डित सिद्धार्थ बैंकमा जागिरे छिन् । ‘के कस्तो छ, खाजा खायौ, अफिस आयौ भनेर फोन गरिरहनुहुन्थ्यो । त्यस्तो मनमुटाव नै हुने गरी कहिल्यै झगडा पनि भएको थिएन,’ सुदिनाले भनिन्, ‘त्यही दिन मलाई बजारतिर छु भनेर भन्नुभएको थियो, अरू त्यस्तो केही कुरा भएन । ड्राइभरले भनेको कुरा सत्य मान्ने कि मिडियाले भनेको कुरा सत्य मान्ने ? यदि अप्ठ्यारो परेजस्तो भए ड्राइभरले पनि नछाड्नुपर्ने हो । जसरी हुन्छ मलाई मेरो श्रीमान् चाहियो ।’

परिवारका अनुसार पण्डितमा कहिलेकाहीँ रातिमा उठ्ने समस्या थियो । केही वर्षअघि घरबाट निद्रामा उठेर हिँड्न खोजेपछि आमाले रोकेको उनकी बहिनी निरु पण्डितले नयाँ पत्रिकालाई बताइन् । ‘त्यसको भोलिपल्टै छाउनीस्थित वीरेन्द्र अस्पताल लगेर चेक पनि गराइयो । डाक्टरले खाने औषधि दिनुभयो । अरू त्यस्तो केही समस्या थिएन,’ उनले भनिन् ।

निरुका अनुसार यसअघि मेजर विमल पण्डित नारायणहिटी दरबारमा कार्यरत थिए । ‘त्यसवेला त्यहाँभित्र लफडा पनि परेको रहेछ । यही भएर दाइलाई डोल्पा पठाइएको हो भनेर आमाले भन्नुभयो । यदि दाइ डोल्पा नगएको भए त्यस्तो हुन्थेन होला,’ उनले भनिन् । अनुसन्धानका क्रममा ब्यारेकमा रहेको उनको कोठाबाट डिप्रेसनको औषधि पत्ता लागेको परिवारले जनाएको छ ।

बेपत्ता मेजर पण्डितको खोजीका लागि कर्णाली प्रदेश सभामा कुरा उठेको छ । डोल्पा प्रदेश (२) बाट निर्वाचित सांसद वीरबहादुर शाहीले सोमबारको प्रदेश सभामा पण्डितको खोजी गर्न माग गर्दै कुरा उठाएका थिए । उनले बेपत्ता मेजरको खोजीका लागि सरकारलाई आग्रहसमेत गरे । नन्द बक्स गुल्म डोल्पा ब्यारेकका मेजर रवि शाहले पण्डितको खोजीकार्य जारी रहेको बताए ।

स्रोत : नयाँ पत्रिका
प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार ०८:०६