सूचनाको शक्ति - The Power Of Information

        

आफैं प्रहरीको सम्पर्कमा आए फरार कर अधिकृत पौडेल

नेपालगञ्ज एअरपोर्टबाट जिल्ला प्रहरी बाँकेले श्रोत नखुलेको २६ लाख रुपैयाँसहित आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटालाई पक्राउ गरेपछि फरार भएका अर्का कर अधिकृत दीपक पौडेल प्रहरीको सम्पर्कमा आएका छन् ।

पौडेलले बाँके प्रहरीमा फोन सम्पर्क गरेर प्रहरी कार्यालयमा आफैं उपस्थित हुने बताएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । जिल्ला प्रहरी बाँकेले पक्राउ परेका कर अधिकृत सापकोटालाई आवश्यक कारबाही र अनुसन्धानका लागि सोमवारनै नेपालगञ्जस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइसकेको छ ।

श्रोत नखुलेको ठुलो रकम र कर अधिकृत भएकै कारण कतै भ्रष्टाचारकै रकम भएको हुन सक्ने भन्दै अख्तियारसँगको समन्वय पश्चात् आवश्यक अनुसन्धान गर्न अख्तियारलाई बुझाइएको डीएसपी डाँगीले बताए । प्रहरीका अनुसार उनीहरु रुकुम पश्चिम् बाट अनुगमन गरि सिधै काठमाण्डौ जान लागेको बताएको छ ।

आज बिहान पौने ९ बजे नेपालगञ्ज विमानस्थलबाट श्री एयरको जहाजबाट काठमाण्डौ उड्न लागेका कर अधिकृत सापकोटाको ब्यागमा विमानस्थल सुरक्षा गार्डले एक्सरे जाँच गर्दा ठुलो रकम देखेपछि सोधपुछ गर्दा अर्का अधिकृत फरार भएका थिए ।

एयरपोर्ट सुरक्षा गार्डका प्रमुख प्रहरी नायब निरीक्षक रबिन्द्र बमले श्रोत नखुलेको २६ लाख रुपैयाँ फेला पारेपछि सापकोटालाई पक्राउ गरेका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार १८:२५