मासु एक पौष्टिक आहार हो जसमा १५ देखि २० प्रतिशत प्रोटिन पाइन्छ । यसमा जिङ्क, भिटामिन बी, पोटासियम जस्ता तत्वहरु पनि प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वहरु हाम्रो शरीरलाई अत्यावश्यक तत्वहरु हुन् । तर, यसका बाबजुद मासुले धेरै किसिमका रोगहरु पनि निम्त्याउँछ । हार्वड विश्वविद्यालयमा भएको एक अध्ययनअनुसार दैनिक रातो मासुको सेवनले मुटु रोग र क्यान्सरको सम्भावना बढाउँछ ।
यसका साथसाथै धेरै मासु खानाले हड्डी कमजोर हुने, आथ्र्राइटिस जोर्नीसम्बन्धी रोग हुने, कोलेस्ट्रोल बढ्ने तथा स्तन क्यान्सर हुने सम्भावना पनि बढी हुन्छ । नेपालमा भने मासुबाट जुका पर्ने र ब्याक्टेरिया सङ्क्रमण हुने बढी पाइएको छ । कहिलेकाहीँ बर्ड फ्लु जस्ता भाइरल रोगहरु पनि आउँछ । मासु खानालगत्तै फुड पोइजनिङ खानाको कारण हुने विषाक्तता भई अस्पताल धाउनेहरुको संख्या नेपालमा धेरै छ । मासुबाट विभिन्न किसिमका रोग सर्न सक्छन् । ती रोगमध्ये ‘इकोलाइ’, ‘सालमोनेला’, ‘परजीवी (फित्ते जुका)’, ‘टोक्सोप्लाज्मोसिस’, ‘जियार्डियासिस’, ‘नोरोभाइरस’जस्ता रोग सर्ने जोखिम हुन्छ ।
इकोलाइ
इकोलाइ ब्याक्टेरिया (जीवाणु) नेपालमा देखिने संक्रमणमध्ये प्रमुख हो । सामान्यतः यो ब्याक्टेरिया व्यक्ति र जनावरको पेटमा हुन्छ । इकोलाइको सबै प्रजातिले व्यक्तिको स्वास्थ्यमा हानि नपु¥याउने भए पनि कतिपय अवस्थामा भने हानि पुर्याउँछ । यसको संक्रमणका कारण पखाला लाग्ने, पिसाबको संक्रमण हुने र मिर्गौलालाई हानि गर्नेजस्तो जोखिम हुन्छ । अध्ययनअनुसार नेपालमा पिसाबको संक्रमण गराउने प्रमुख कारण मध्ये इकोलाइ हुने गरेको छ । व्यक्तिमा पखाला गराउने विभिन्न संक्रमणमध्येमा इकोलाइ पर्छ । इकोलाइ ब्याक्टेरिया संक्रमित मासु राम्रोसँग नपकाई खाँदा स्वस्थ व्यक्तिमा ब्याक्टेरिया सरी संक्रमण हुन्छ । जसले व्यक्तिको स्वास्थ्यमा नकारात्मक असर पुगी ज्यानै जाने जोखिम हुन्छ ।
सालमोनेला
राम्रोसँग नपाकेको मासु लगायतका खाद्यपदार्थ खानाने व्यक्तिमा ‘सालमोनेला’ ब्याक्टेरिया सरी संक्रमणको जोखिम हुन्छ । संक्रमित मासु खाँदा यस्तो जोखिम हुन्छ । ज्वरो आउने, रगत मिसिएको पखाला लाग्ने, पेट दुख्ने, बान्ता हुनेजस्ता यसका लक्षण देखिन्छन् । यस्तो संक्रमण भएको अवस्थामा सालमोनेला ‘टाइफी’ र ‘पाराटाइफी’ले म्यादि ज्वरो आउने तथा टाइफाइट गराउँछ । नेपालमा टाइफाइडको समस्या लिएर वर्षेनी सयौँ बिरामी अस्पताल पुग्ने गरेका छन् । टाइफाइडका कारण ज्यानै जान सक्छ ।
परजीवी (फित्ते जुका)
नेपालमा परजीवीको बारेमा धेरै चर्चा हुने गरे तापनि समस्या भने कम छैन । विशेषगरी सुंगुरको मासुबाट सर्ने ‘टिनिया’ नामको फित्ते जुकाले व्यक्तिको टाउकामा असर गरेको पाइन्छ । संक्रमित मासुका कारण टाउकामा हुने यस्तो समस्यालाई ‘न्युरोसिस्तिसर्कोसिस’को नामले चिनिन्छ । अध्ययनअनुसार नेपालमा छारे रोगजस्तो लक्षण लिएर अस्पतालमा भर्ना भएकामध्ये १६ प्रतिशत व्यक्तिमा न्युरोसिस्तिसर्कोसिसको निदान हुने गरेको छ । यस्तो समस्याबाट बच्नका लागि सुंगुर–बंगुरको मासु राम्रोसँग पकाएर खानुपर्छ ।
टोक्सोप्लाज्मोसिस
राम्रोसँग नपाकेको मासु खाँदा सर्ने प्रमुख ब्याक्टेरिया (परजीवी) रोगमध्ये एक हो, ‘टोक्सोप्लाज्मोसिस’ । ‘टोक्सोप्लाज्मा गोन्जी’ नामक परजीवीको कारणले यस्तो रोगको संक्रमण हुन्छ । विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको व्यक्तिमा यो रोगले छिटो आक्रमण गर्ने जोखिम हुन्छ । गर्भवती महिलामा यो रोगको संक्रमण भएको अवस्थामा गर्भपतनको जोखिम हुन्छ । त्यति मात्रै हैन संक्रमित आमाबाट जन्मिएको बच्चा शारीरिक अपांगता हुने सम्भावना त्यत्तिकै हुन्छ । त्यसैले गर्भवती महिला विशेष सचेत हुनुपर्छ ।
ज्वरो आउने, थकित महसुस हुने, टाउको तथा शरीर दुख्ने टोक्सोप्लाज्मोसिस रोगका सुरुआति लक्षण हुन् । संक्रमणले बढी च्याप्दै जाँदा यस्ता लक्षण कडा भई व्यक्ति बेहोस हुनेसमेत जोखिम हुन्छ । सुँगुर, खसीलगायतका मासुमा टोक्सोप्लाज्मोसिस रोगको संक्रमण बढी हुन सक्ने भएकाले मासु सफा गरी राम्रोसँग पकाएर खानुपर्छ । मासु राम्रोसँग पकाएर खानाले यस्तो संक्रमणबाट बच्न सकिन्छ ।
जियार्डियासिस
‘जियार्डियासिस व्यक्तिमा पखाला गराउने सूक्ष्म परजीवी हो । नेपालमा यो ब्याक्टेरिया संक्रमण देखिँदै आएको छ । जियार्डियासिस ब्याक्टेरिया दिसामा हुने भए पनि राम्ररी नपाकेको मासु खाँदा पनि सर्ने जोखिम हुन्छ । यो ब्याक्टेरियाको संक्रमणको प्रमुख लक्षण झाडापखाला हो । संक्रमण भएको एकदेखि तीन हप्तामा यसको लक्षण देखिन्छ । व्यक्तिगत सरसफाइ तथा मासु राम्रोसँग पकाएर खाएको अवस्थामा यो रोगको संक्रमणबाट बच्न सकिन्छ ।
नोरोभाइरस
विकसित देशहरुमा बढी रिपोर्ट हुने खानपानबाट सर्ने एउटा प्रमुख भाइरस हो, ‘नोरोभाइरस’ । नेपालमा भने यो भाइरसको खासै खोज तथा अनुसन्धान गरेको पाइँदैन । एक अनुसन्धान अनुसार बालबालिकामा पखाला गराउने कारणमध्ये झण्डै १२.५ प्रतिशत नोरोभाइरस कारक भएको देखिएको छ । अध्ययन अनुसार सुँगुरको मासुमा यो भाइरस भएको पत्ता लागेको छ । पखाला लाग्ने, पेट दुख्ने, बान्ता हुने, हल्का ज्वरो आउने नोरोभाइरसका प्रमुख लक्षण हुन् । यो भाइरसको संक्रमण भएको १२ देखि ४८ घण्टामा लक्षण देखिन सुरु हुन्छन् । सफा गरी राम्रोसँग मासु पकाएर खाएमा यस्तो समस्याबाट बच्न सकिन्छ ।
बर्डफ्लुको संक्रमण
संक्रमित पक्षीको मासुबाट बर्डफ्लु सर्न सक्ने भएकाले कुखुराको मासु राम्ररी पकाएर मात्रै खानुपर्छ । बर्डफ्लु संक्रमित खुखुराले हाछ्युँ गर्दा तथा खोक्दा त्यसको छिटा मानिसको मुखमा परेको अवस्थामा समेत व्यक्तिमा बर्डफ्लु सर्न सक्छ । त्यति मात्रै हैन विभिन्न किसिमको फ्लुको जोखिम हुन्छ । कुखुराको संक्रमित मासुबाट व्यक्तिमा ‘एच फाइभ एन वान (एच ५ एन १)’ फ्लुको संक्रमणको जोखिम हुन्छ ।
गत वर्षको अन्त्यमा इन्फ्लुएन्जा ए अन्तर्गतको ‘एच फाइभ एन वान’संक्रमणका कारण नेपालमा समेत एकजना व्यक्तिको ज्यान गइसकेको छ । ‘एच सेभेन एन नाइन’ भन्ने बर्डफ्लु समेतको सम्भावना हुन्छ । बर्डफ्लु संक्रमित व्यक्तिमध्ये करिब ६० प्रतिशत व्यक्तिको मृत्यु हुन सक्छ । त्यसैले कुखुराको मासु खाँदा स्वस्थ मासु छ वा छैन भन्ने कुराको विशेष ख्याल गर्नुपर्छ । त्यति मात्रै हैन स्वाइन फ्लु तथा हङकङ फ्लुको पनि जोखिम त्यत्तिकै हुन्छ । यसमा सचेत हुन आवश्यक छ ।
मासुबाट रोग कसरी सर्छ ?
– अस्वस्थ तथा विरामी पशुपंक्षीको मासु खाएमा ।
– मासु काट्ने तथा तयार गर्ने ठाउँ फोहोर भएमा र राम्ररी फ्रिजमा भण्डारण नगरेमा ।
– मासु काट्ने र तयार गर्ने व्यक्ति तथा हतियार स्वस्थ र सफा नभएमा ।
– बासी तथा सडेगलेको मासु खाएमा ।
– काँचो, पोलेको तथा नपाकेको मासु खाएमा ।
स्वस्थ मासु कसरी चिन्ने ?
– मासु किन्ने पसल सफा गरेर राखेको छ कि छैन हेर्ने ।
– मासु काट्दा र समाउँदा मासु तन्केको जस्तो हुन नहुने ।
– मासु फ्रिजमा भण्डारण गरेको हुनुपर्ने ।
– मासु हल्का गुलावी तथा हरियो प्याजी रङ्गको हुन नहुने ।
– असाधारण गन्ध नआएको हुनुपर्ने कस्तो मासु खाने, कस्तो नखाने ?
– राम्ररी पखालेको र राम्ररी पाकेको ।
– काँचो मासु (कचिला) र पोलेको मासु (छोयला)को प्रयोग सकेसम्म नगर्ने ।
– खुला राखेको र बासी मासु नखाने ।
– फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु पनि सकेसम्म नखाने ।
मासु कसरी भण्डारण गर्ने ?
– ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ ।
– फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने र कहिले पनि माथिल्लो भागमा नराख्ने । माथिल्लो भागमा राख्दा मासुमा भएका किटाणुहरु मासुमै हुने तरल पदार्थमार्फत् तल झर्नसक्ने हुँदा तल राखिएका अन्य खाना, सागसब्जी, फलफूल तथा तरकारीहरुमा पर्नसक्ने खतरा हुन्छ ।
– मासुलाई अन्य पाकेका खानासँगै फ्रिजमा नराख्ने ।
मासु खादा ध्यान दिनुपर्ने कुराहरु
– दिनहुँ मासु प्रयोग नगर्ने ।
– हरियो सागपात, फलफूल र अन्य तरकारीहरु पनि बारम्बार खाइरहने ।
– माथि उल्लेख भएअनुसार स्वस्थ मासु पकाएर खाने र सकेसम्म मासुको प्रयोग कम गर्ने ।
– विश्वसनीय पसलबाट मात्र मासु किन्ने र आफूले तयार गर्दा सरसफाइमा ध्यान दिने ।
यी साधारण कुरा हुन् जसको ध्यान हामीले राख्यौँ भने रोगबाट सजिलै बच्न सकिन्छ । मासुबाट सर्ने विभिन्न किसिमका रोगको संक्रमणबाट बच्नका लागि स्वस्थ मासु नै खानुपर्छ । मासुलाई सफा गरेर राम्रोसँग पकाएर खाएमा पनि मासुजन्य रोगको संक्रमणबाट बच्न सकिन्छ ।
डा.केदार कार्की । वरिष्ठ पशु चिकित्सक