‘अब मलाई उनको कुनै चाह रहेन साना ! तिम्रा स्नेहले मलाई गालेका रैछन् । यो वियोगलाई स्वीकारेर मलाई प्रायश्चितबाट तिमीले मुक्ति दिनुपर्छ ।’ कस्तो कठोर, कस्तो निर्मम हुन सकेको । कति सजिलै मबाट प्रवाहित स्नेहलाई यतिसम्मको लाञ्छना लाउन सकेको ! मलाई यादहरूको बन्दी बनाएर आफू मुक्ति माग्दैछ । कस्तो स्वार्थपूर्ण अनुरोध यो उसको ?
मैले मात्र प्रेम गरेँ र यो सम्बन्धमा ? यो प्रेम त युगल थियो । मैले उसँग प्रेम सल्लाहले गरेको पनि त हैन । न त मैले मस्तिष्कको चेतन खण्डसँग अन्तर्क्रिरया गरेर नै उसँगको प्रेमको निर्णय लिएको हुँ । प्रेम त अवचेतन मनले स्वतःस्फुर्त रूपमा पैदा गरेका भावनाहरूको संगम हो । किन बिर्सेको उसले यो सब ? बिर्सन त मैले पनि हरबखत हरसम्भव प्रयत्न गरेकै हो । तर छायालाई मेट्न म कहाँ सकूँ र ?
बिर्सेर जा भन्नेले यादको भकारी पनि त बोकेर लानुपर्यो । मलाई यत्तिकै यादको भारी छाडेर अब बिर्से भन्छ कसरी सम्भव छ यो ? उसले या त यी यादलाई जलाउन चिताको स्थापना गरोस या त यादको भारी बिसाउने चौतारीको । यी अभिलाषाबाहेक अन्य चाहनाले यो सुनशान हृदयमा वास गर्दैनन अचेल ।
‘यो बिछोड आवश्यक छ । बिछोडले व्यक्तिलाई बल दिन्छ । तिम्रो साहसको छहारीमा सुस्केरा हाल्दै गर्द म आफैँ दुर्बल भएको पत्तो पाइनछु मैले । म अब एक्लै लड्न चाहन्छु यो भदौको घामसँग, एक्लै सिंगौरी खेल्न चाहन्छु यी भदौरे झरीसँग । यसमा मलाई साथ दिनुपर्छ साना तिमीले, मभन्दा पर रहेर ।’
वाफ रे ! कत्रो मर्मच्छेदी शब्दवाण हानेको, कलेजीका कलिला टुक्रालाई चिमोटी चिमोटी लुछेर जाने कुरा कसरी गर्न सकेको बैगुनीले ? निरन्तर विरोधाभास मात्र किन ओकल्न खोजेको ? हात भाँचिदिन्छ फेरि थपडी बजाइदे भन्छ । पुल भत्काइदिन्छ, खोला तारिदे भन्छ । कसरी सम्भव छ यो ? छिनालिएका औंलाले चुट्की बजाउन सक्छन् साना !
म तिम्रो नाम उच्चारण गर्नेसम्म पनि साहस बटुल्न सक्दिनँ । तिम्रो कल्पना मात्रले पनि मलाई भयभीत तुल्याउँछ । हृदयमा पराकम्प आएसरी हुन्छ । यस्तोमा कसरी बनु म तिमीसँग समागमको सपना ? भूकम्पले भत्काएको मेरो हृदयमा कसरी स्थापना गरौं तिम्रा लागि आवास ?’ हिजो प्रेमको उन्मादमा हामी दुवैको हृदय चाञ्चल्यले स्पन्दित हुन्थे ।
कस्तो अफसोस! आज त्यही स्पन्दनलाई भूकम्पको अनुकृति बनाइदियो । मलाई पन्छाएर ऊभित्रको भय समाप्त हुने भ्रमले ग्रसित ऊ पलायनवादको कडी समातेर आफ्नै मनलाई छल्न खोजिरहेको छ । तर कसले भनिदिने उसलाई ? कसको सुन्छ र ऊ ? कस्तो क्षणभंगुर हुँदा रैछन् भावनाका उडानहरू ।
एकै शब्दमा, एकै झट्कामा उत्कर्षबाट खसालेर भुइँमा पछारिदिने । उसले यस्तै गरिदियो । भर्खर बामे सर्दै हिँड्न सिक्दै थियो मेरो प्रेम । ताते ताते गर्दै डो¥याउँदै यतिसम्म हुर्काइ बढाइ गर्ने उही त थियो । पहिलो पाइला चाल्दै थिएँ म, भुइँमा पछारिएँ । म लड्दा चोट उसलाई पुगेछ । मैले ढिलो बुझेँ । तर हिँडाइ सिक्न लड्नुपर्छ ।
लड्नुसँग साक्षात्कार गरेर मेलमिलाप नगरेसम्म हिँड्ने आँट भरिँदैन । उसैले भनेको । आज म एकचोटि लड्दा तर्सिएर ऊ तर्किन खोज्दै छ ! कति निर्मम हुन सकेको ? भुइँमा मलाई अलपत्र छाडेर निर्भीकताको यात्रामा निस्किन्छु भन्छ म रोएको हो । म कराएको हो । तर मेरो क्रन्दनप्रति करूणाभाव उजागर भएनन् उसमा ।
मेरो चित्कारको गुञ्जायससम्म पनि पुगेनन् उसम्म । उसको न्यानोपनले पुसको ठन्डी कटाएको सम्झना अझै ताजा छन् मानसपटलमा । तर आज यत्ति चिसो कसरी भयो ऊ ? तिम्लाई कस्तो छ ?’ अरे वाह ! कत्ति सजिलै मायालाई दयामा परिणत गरिदियो । भयो, चाहिएन मलाई यो दयाभाव ! ‘ठीक छ !’
छियाछिया मुटुबाट खसेको रगतले लतपतिएका यिनै हातले लेखिदिएँ । मैले उसको दयाको गाग्रोमा बिर्को लाउन गर्न सक्ने यति नै थियो । विकल्पमा प्रतिक्रिया नदिई मौन बस्न पनि सक्थेँ तर म ऊजत्तिको निर्मम हुन कहाँ सक्छु र ? कहिलेकाहीँ आफैंलाई देखेर दिक्क लाग्छ । आफ्नै अतितलाई सम्झेर पछुतो हुन्छ ।
किन मागेँ मैले मेरो प्रेमलाई बचाउने भिख ? किन गरेँ मैले निर्दयीबाट करूणाको अपेक्षा ? किन परेँ म हीनताबोधमा लपेटिएर निष्ठुरीको शरणमा? के भिखमा पाएको मायाले मलाई सन्तोक हुन्थ्यो ? के त्यो माया शाश्वत हुन्थ्यो ? सायदै हुन्थ्यो । हैन फेरि सोच्छु, प्रेम गरेको हो नि यार ।
झिनो भए पनि यो हुर्केको प्रेमलाई जोगाउने अभिलाषा त जीवित नै रहन्छ नि । वियोगका रेशाले बुनिएको विवशताको पर्दाले विवेकलाई ढपक्क ढाक्दो रहेछ । आफ्नो धर्म, आदर्श अनि सिद्धान्त सब लाचार हुँदा रैछन् । आडम्बर, घमन्ड, अहंकार सब नतमस्तक भएर आत्मसमर्पण गर्दा रहेछन् । जता डोहोर्याउनु त्यही अभिलाषाले डोर्याउँदो रहेछ ।
त्यति पनि भएन भने के सार्थकता रह्यो र मैले उस्लाई गरेको प्रेमको ? आजकल हेयकर लाग्छन् मलाई प्रेमका कथाहरू । तुच्छकर लाग्छन् प्रणयभावहरू । प्रेमालापको परिकल्पनामा डुबाएर आफूलाई रोमान्चित गराउने कुनै अभिष्ट जीवित छैनन् । आज पर्यावरण उजाड लाग्छ । अङ्गालिएका जोडी देख्दा वाकवाकी हुन्छ, घिन लागेर आउँछ ।
हिजो उनैसँग हात समाएर परिक्रमा गरेका उद्यान हिउँदमा उजाडिएका खोरियाझैं कुरूप लाग्छन् । वरिपरि कतै सौन्दर्यको एक अंश पनि देख्दिनँ । जे हेर्छु फिक्का मात्र । जता हेर्छु वैराग्यमात्र । छि ! अचेल म रुदिनँ । कति रुनु ? आखिर आँसुले यादहरू बगाएर लान नसक्ने रहेछन् । एउटा बिन्दुमा पुगेपछि आँसुले पनि तिरस्कार गर्दो रहेछ । चित्कारको ध्वनी पनि आफैं पातलो भएर जाँदोरहेछ ।
समयको सुइँ निरन्तर चल्ने नै त रहेछ । म मात्र कति अड्किरहूँ ? तर यो अबोध मन प्रतीक्षामा लडिबुडी गरिराख्न खोज्छ । माकुराको जालो जतिकै कमजोर किन नहोस्, यो आशाको त्यस्तै त्यान्द्रोमा झुन्डिराख्न खोज्छ । जिद्दी ऊ मात्र छैन । उत्तिकै जिद्दी मेरो यो मन पनि छ । यी दुई जिद्दीहरू मौन युद्धमा लीन छन् । अनि म उभिएको छु अब आफ्नो केन्द्रमा । थकित, व्यथित अनि अन्योलपूर्ण मुद्रामा ।
सबि अधिकारी । दाङ