सूचनाको शक्ति - The Power Of Information

        

कविता

एउटा कथाको सम्झना

फर्किएर हेरेँ मैले
पुरानो बस्तीमा बितेका
बाल्यकालका स्मृति ।

बाटोका खाल्डा र गोबरको गन्ध
ढुङ्गेधारोमा नाङ्गैभुतुङ्गै खेल्दा
सहेलीले छ्यापेकोे चिसो पानीको उत्तेजना
कपालले छोपेको छातीको करङ
र पँधेरामा उभिएका बुहारीहरुको
अनिदो अनुहारको प्रतिबिम्ब

मकैका ठेट्ना चपाउँदै दगुरेको
बारीको कान्लो
लुकामारी खेलेको बाख्राको खोर
र भोगटेको रुखमुनि
पुतलाहरुको बिवाह गरेको टालाटुली

खेलको रङपछि छिप्छिपे भएर आयो
नाङ्गा खुट्टा स्कूल दौडिएको धमिलो छाया
दौराको तुनामा झुण्डिएको सिसाकलम
र अलिकति सिगानको टाटो बसेको
महेन्द्रमालाको किताब
हात्तीछाप कापीमा पोतरिएका अक्षर ।

जीवनका बाङ्गाटिङ्गा रेखामा
भर्‍याङका खुुड्किलाजस्ता
वयको उकालो यात्राका सम्झनासँगै
सरसरी मनमा आए हरेक कक्षाका सिलेबस
र पाठहरुको बिषयसूची
म्याडम क्युरी, द इम्परर्स न्यूू ल्कथ
नैतिक शिक्षा, नागरिक शास्त्र र पञ्चायत ।

कुहिरो लागेको बस्तीजस्तै
आँखाभरि आउँछ धमिलो छाया
र मस्तिष्कमा बिस्तारै गुञ्जिन्छ
एकजना भकभके शिक्षकले पढाएको
पञ्चायतको किताबमा भएको
बूँदाबूँदाको एउटा पाठ
‘संसदीय ब्यबस्था असफलताका कारण
र अर्को भुँडीवाल शिक्षकले
ठस्ठसी कन्दै नेपालीमा उल्था गरेको
बादशाहको नयाँ कपडा ।

समय घस्रँदै घस्रँदै
रगत र पसिनाका खेल्साहरु तरेर
निकै अगाडि गयो
म भने उभिएको छु
वारिको बलौटे किनारामा
र सम्झिरहेछु यतिबेला
पञ्चायत पढाइरहेको मास्टरको अनुहार
र नयाँ कपडामा सजिएको नाङ्गो बादशाहको कथा ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार ०७:२४