सूचनाको शक्ति - The Power Of Information

        

दक्षिणपन्थीसँग मिलेर एमालेको सरकार ढालिएको अध्यक्ष ओलीको आरोप

नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन बुटवलमा आजदेखि शुरु भएको छ ।

बुटवलको रामनगरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।

उहाँले दक्षिणपन्थीसँग मिलेर अदालतको बलमा एमालेको सरकार ढालिएको आरोप लगाउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा ईपीजीको प्रतिवेदनको बारेमा कुनै कुरा नउठाएको भन्दै एमाले अध्यक्ष ओलीले देशको स्वाधिनता, भौगोलिक अखण्डता हुनुपर्छ भन्ने आफ्नो पार्टीको मान्यतालाई तलमाथि हुन नदिने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले गएको जेठ १७ मा भारतको भ्रमण गर्नुभएको थियो । सम्मेलनको उद्घाटन सत्रमा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेको नीति र नेतृत्वमा कुनै विवाद नरहेको दाबी गर्नुभएको छ ।

महासचिव शंकर पोखरेलले देशमा धेरै दल नभइ बलिया दल हुनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभको छ ।

त्यस्तै उपमहासचिव प्रदीप ज्ञवालीले सुशासनका कुरा गर्ने प्रधानमन्त्री प्रचण्ड नै भ्रष्टाचारीलाई सुनपानी छर्केर चोख्याउने अभियानमा लागेको आरोप लगाउनुभएको छ ।

एमालेले मञ्चमा अतिथि नराख्ने निर्णय गरेअनुसार अधिवेशनको उद्घाटन सत्रमा सबैजना दर्शक दीर्घामा रहेका थिए ।

अधिवेशनमा भाग लिन प्रदेशभरबाट एक हजार ४ जना प्रतिनिधि छनोट भएर आएका छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार १७:४७