अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुटवलमा छँदा उनको निवासबाट अख्तियारले नगद र सुन बरामद गरेको थियो ।
२०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका–५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका उनले यसबारेमा कार्यालयमा जानकारी नगराएको पाइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनले सुन फिर्ता लगेको कागज गराएपनि सुन फिर्ता नगरी आफैंसँग राखेका थिए । उनले त्यस क्रममा दुई जनासँग क्रमशः ८ लाख ५० हजार र ९ लाख ५० हजार गरी १८ लाख रुपैयाँ घुस लिएको पाइएको अख्तियारले जनाएको छ ।
अख्तियारले १८ लाख रुपैयाँ विगो राखेर उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । यो घटनामा प्रहरी प्रधान कार्यालयले गरेको छानबिनमा समेत उनी दोषी देखिएसँगै प्रहरी सेवाबाट अयोग्य हुनेगरी निष्कासन गरिएको थियो ।
सत्यपाटी संवाददाता । रुपन्देही