सूचनाको शक्ति - The Power Of Information

        

एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको पाँच वर्षे अवधि शुरु

नेपाल सरकार तथा मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) ले दुवैको संयुक्त आर्थिक सहयोगबाट कार्यान्वयन गर्न लागिएको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा गरेका छन् । नेपाल सरकार र एमसीसीबीच एमसीसी नेपाल कम्प्याक्टको पूर्वतयारी चरणमा यथेष्ट प्रगति भएको सहमतिपछि याे घोषणा भएकाे हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले आज बुधवार अर्थ मन्त्रालयमा प्रमुख सरोकारवालाहरूको उपस्थितिमा आयोजित एक विशेष समारोहमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेशसम्बन्धी पत्र आदानप्रदान गर्नुभयो । ‘कार्यान्वयनमा प्रवेश’ ले पाँच वर्षको समय सीमाभित्र कम्प्याक्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न हुने सुनिश्चितताका लागि पूर्वसर्तहरू तथा तयारी पूरा भएको जनाउने भएकोले यसलाई एमसीसी कम्प्याक्टका सन्दर्भमा महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा लिइन्छ ।

कार्यक्रममा अर्थमन्त्री महतले भन्नुभयो, ‘राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषित विद्युत् प्रसारण आयोजना र नेपालको रणनैतिक सडक सञ्जालमा लगानी गर्ने सडक मर्मत आयोजनाको औपचारिक कार्यान्वयन शुभारम्भ भएको घोषणा गर्न पाउँदा खुशी लागेको छ ।’ उहाँले नेपालको आर्थिक विकासलाई सघाउने एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमका आयोजनाहरूले सडक स्तरोन्नति तथा भरपर्दो विद्युत् आपूर्तिमार्फत नेपालीलाई लाभान्वित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले भन्नुभयाे, ‘अमेरिका र नेपालबीच ७५ वर्षभन्दा बढी समयदेखि बलियो मैत्रीपूर्ण सम्बन्ध छ र हाम्रो मित्रताको एउटा उत्साहवर्धक काेशेढुङ्गा एमसीसी नेपाल कम्प्याक्ट हो । यसले दीर्घकालका लागि नेपालको समृद्धिलाई उकास्नेछ र विद्युत् तथा यातायातमा नेपालीको पहुँचमा सुधार गर्नेछ । आज यस महत्त्वपूर्ण कोशेढुङ्गा घोषणा कार्यक्रममा सहभागी हुन पाउँदा निकै हर्षित छु र नेपालको आर्थिक विकासमा कम्प्याक्टले उल्लेख्य प्रभाव पार्ने अपेक्षा गर्दछु ।’

‘एमसीसी र नेपालबीचको साझेदारीका सन्दर्भमा यो अत्यन्त उत्साहजनक क्षण हो’, एमसीसीका उपाध्यक्ष अल्फोर्डले भन्नुभयो, ‘नेपालका लागि सर्वाधिक महत्त्वपूर्ण, नेपालीका लागि आर्थिक सहयोग गर्न नेपाली साझेदारहरूसँग सहकार्य गर्न पाउँदा एमसीसी गौरवान्वित भएको छ ।

नेपालीका लागि व्यावसायिक अवसरहरू सिर्जना गरेर, रणनैतिक सडक सञ्जालको मर्मत–सुधार गरेर तथा वातावरण संरक्षण गर्ने क्रममा विद्युत् आपूर्तिको विश्वसनीयतामा सुधार गर्ने नवीन उपायहरू पहिल्याएर नेपालको आर्थिक वृद्धिलाई अगाडि बढाउन हामी सहकार्य गर्नेछौँ ।’

एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयनका लागि जिम्मेवार निकाय एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले भन्नुभयाे, ‘नेपाल सरकारको निर्देशन एवम् एमसीसीको सहयोगबाट हामी निश्चित बजेट र समयावधिमा आयोजनाहरू सफलतापूर्वक सम्पन्न गर्नेछौँ ।’

नेपाल सरकार तथा एमसीसीबीच नेपालमा विद्युत् आपूर्तिको विश्वसनीयतामा वृद्धि गर्ने विद्युत् प्रसारण आयोजना र यातायातको लागत घटाउने सडक मर्मत आयोजनाका लागि आर्थिक सहयोगसम्बन्धी सम्झौता एमसीसी नेपाल कम्प्याक्टमा २०७४ साल भदौ २९ गते हस्ताक्षर भएको थियो । यस कार्यक्रममा अमेरिकी सरकारको एमसीसी कम्प्याक्ट कोषको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७ करोड अमेरिकी डलर लगानी रहेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १९:२७