सूचनाको शक्ति - The Power Of Information

        

एसिया कप क्रिकेट:

पाकिस्तानले नेपाललाई दियो ३४३ रनको विशाल लक्ष्य

कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाललाई ३४३ रनको विशाल लक्ष्य लिएको छ ।

मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीलाई खेलको सुरुवातमा नेपाली बलरहरुले दबाबमा राखेका थिए । २१ रन बनाउँदा फखार जमानलाई करण केसीले पभेलियनको बाटो देखाए ।

थप चार रन जोड्दा अर्का ओपनर इमाम उलहक रनआउट भए । कप्तान रोहितकुमार पौडेलले डाइरेक्ट हिट मारेका थिए । त्यसपछि कप्तान बाबर आजमले पारी सम्हाले ।

उनले मोहम्मद रिवाजसँग ८६ रनको साझेदारी गरे । रिवाजलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गरेका थिए । थप २३ रन जोड्दा आगा सलमान पनि आउट भए । सन्दीप लामिछानेले उनलाई कुशल भुर्तेलको हातबाट क्याच गराएका थिए ।

तर कप्तान बाबरले इफ्तिखार अहमदसँग मिलेर पाकिस्तानलाई विशाल योगफलमा पुर्‍याए । दुबैले पाँचौं विकेटका लागि २१४ रनको साझेदारी गरे ।

४१.२ ओभरमा करियरको १९औं शतक बनाएका आजमले ४७.६ ओभरमा १५० रन पूरा गरेका थिए । अर्को ओभरको अन्तिम बल खेल्नुअघि इफ्तिखारले पनि करियरको पहिलो शतक पूरा गरे ।

अन्तिम दुई बल खेल्नुअघि सोमपाल कामीले आजमको विकेट लिए । १३१ रन बनाएका उनले १५१ रन बनाए । त्यसक्रममा उनले १४ चौका र ४ छक्का हाने ।

अन्तिम बलमा सोमपालले शदाब खानको विकेट लिएपछि पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनायो ।

नेपालका सोमपाल कामीले २, करण केसी र सन्दीप लामिछानेले समान १–१ विकेट लिए ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १९:१९