सूचनाको शक्ति - The Power Of Information

        

एसिया कप–२०२३

पाकिस्तानको मुल्तान रंगशालामा नेपालको अग्निपरीक्षा

नेपाल विश्वको नम्बर एक क्रिकेट टीमविरुद्ध भिड्दैछ ।

एसिया कपको उद्घाटन खेलमा आज नेपालले घरेलु टिम पाकिस्तानसँग भिड्दैछ । नेपाल र पाकिस्ताानबीचको खेल दिउँसो सवा ३ बजे मुल्तान क्रिकेट रंगशालामा सुरु हुनेछ । नेपालले पहिलो पटक विश्वको नम्वर वान टोली पाकिस्तानसँग खेल्न लागेको हो । बाबर आजम र शाहिन शाह अफ्रिदी जस्ता विश्वका उत्कृष्ट ब्याटर र बलर भएको पाकिस्तानविरुद्ध नेपाल आफ्नो उत्कृष्ट प्रदर्शन देखाउँन चाहान्छ ।

त्यसैले आज नेपाली क्रिकेट इतिहासमा सबैभन्दा महत्वपूर्ण दिन हो । एसिया कप खेल्ने नेपालको सपना दशक अगाडिदेखि थियो । नेपाललाई यो मौका सन् २००५ मा पनि जुरेको थियो । तर भारत–पाक युद्धको कारण त्यो त्यसबेला खेल नै हुन सकेन । क्रिकेटमा नेपालभन्दा धेरै बलियो राष्ट्र हो पाकिस्तान । उसले एक दिवसीय विश्वकप, टी–२० विश्वकप र च्याम्पियन्स ट्रफी जस्ता प्रतियोगिताहरु जितिसकेको छ ।

भर्खरैमात्र पाकिस्तान एक दिवसीय क्रिकेटको विश्व वरियतामा एक नम्बरमा उक्लियो । अर्थात्, नेपाल विश्वको नम्बर एक क्रिकेट टीमविरुद्ध भिड्दैछ । यो खेलमा स्वाभाविक रुपमा पाकिस्तान जीतको दावेदार हो । तर, क्रिकेट सबैभन्दा अनिश्चितताको खेल पनि हो । यसमा हार जित भइरहन्छ । त्यसैले नतिजा कसको पोल्टामा पर्छ अहिल्यै भन्न सक्ने अवस्था रहेन । नेपालले पाकिस्तानविरुद्ध १७ सदस्यीय टोलीबाट ११ खेलाडी मैदानमा उतार्नेछ ।

पाकिस्तानविरुद्ध मुख्य प्रशिक्षक मोन्टी देशाईले कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, भीम सार्की वा अर्जुन साउद, कप्तान रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेलाई सुरुवाती ११ मा समेट्न सक्नेछन् । पछिल्लो समय कुशल भुर्तेल र आसिफ शेखले टोलीको ओपनिङ सम्हालिरहेका छन् ।

ओडिआईमा नेपालका लागि कुशल र आसिफले नै अहिलेसम्म १७१ रनको सर्वाधिक साझेदारी गरिसकेका छन् । आसिफले टोलीमा विकेटकिपरको जिम्मेवारी समेत निभाउँदै आएका छन् । विकेटकिपिङको अर्को विकल्प अर्जुन साउद छन् । इमर्जिङ कपमा पाकिस्तानको ए टिमविरुद्ध राम्रो प्रदर्शन गरेका अर्जुनले सिनियर टोलीविरुद्ध समेत मौका पाउने सम्भावना छ । अर्जुनले सुरुवाती ११ मा स्थान बनाउन नसकेकामा भीम सार्कीको सम्भावना बलियो छ ।

आवश्यकता अनुसार मध्येक्रम सम्हाल्ने जिम्मेवारी कप्तान रोहितको काँधमा हुनेछ । आजको खेलमा अलराउण्डर कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले मौका पाउन सक्छन् भने फास्ट बलिङमा करण केसी र सोमपाल कामी छन् । स्पिनमा सन्दीप निर्विकल्प रहँदा आवश्यकता र रणनीति अनुसार ललित राजवंशीलाई पनि मैदानमा देख्न सकिन्छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १२:५७