सूचनाको शक्ति - The Power Of Information

        

टिकटक बनाउने थलो बन्यो बैतडी विमानस्थल

बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ । गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा उपभोगबाट वञ्चित हुँदै आएका हुन् ।

प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको समिट एयरले विसं २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो । त्यसयता पाटन विमानस्थलबाट कुनै उडान हुन सकेको छैन । यात्रु अभावका कारण उडान भर्न नसकिने उक्त एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए ।

उनले भने, ‘यात्रु अभावकै कारण यहाँको हवाई सेवा बन्द भएको हो । भाडा महँगो भएकै कारण यात्रुहरु पाउन मुस्किल छ । भाडा नघट्दासम्म उडान हुने सम्भावना कम छ ।’ पाटन–धनगढी १७ मिनेटको हवाई दूरीका लागि सुरुमा रु तीन हजार ७०० मा हवाई उडान हुने गरेको थियो ।

पछिल्लो समय भने बढेर रु पाँच हजार पुगेको थियो । हवाई सेवाका कारण यहाँको आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धन र व्यापार–व्यवसाय फस्टाउने अपेक्षा गरिए पनि सञ्चालनमा आएको एक वर्षमै विमानस्थल बन्द हुँदा हवाई सेवाबाट समेत वञ्चित हुनु परेको स्थानीयवासी दिनेश जोशीले बताए ।

‘हवाई उडान बन्द हुँदा बैतडीबाट आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु र बिरामीलाई समस्यामा हुने गरेको छ,’ उनले भने, ‘नियमित उडानले आर्थिक विकासको अपेक्षा रहे पनि डेढ वर्षदेखि विमानस्थलमा जहाज आएको छैन । नियमित हवाई सेवा सञ्चालनका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’

डेढ वर्षयता पाटन विमानस्थलमा व्यावसायिक उडान नहुँदा झन्डै रु १६ करोडका संरचनाहरू प्रयोगविहीन बनेका छन् । तीन वर्षअघि रु ११ करोड खर्च गरेर २० मिटर चौडा र ५८० मिटर लामो विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको थियो । त्यसपछि करिब पाँच करोड खर्च गरेर टर्मिनल भवन निर्माणको कामसमेत सम्पन्न भइसकेको छ ।

विमानस्थल सञ्चालनमा आएमा बैतडीसँगै दार्चुलाका नागरिकले सेवा पाउने भए पनि बन्द हवाई सेवा सञ्चालनका लागि कसैले चासो नदिएको पाटनका अर्का स्थानीयवासी लक्ष्मीदत्त पाण्डेयले बताए । उनले भने, ‘थुपै्र पर्यटनको सम्भावना रहेको यस क्षेत्रमा हवाई सेवा सञ्चालनले यहाँको आर्थिक समृद्धिमा टेवा पुग्ने देखिन्छ । त्यसका लागि चाँडोभन्दा चाँडो यहाँ हवाई सेवा सञ्चालन गर्नुपर्छ ।’

जहाज नआउँदा विमानस्थलको धावनमार्गमा स्थानीयवासीका लागि टिकटक बनाउने थलोका रुपमा परिणत भएको छ । उडान बन्द भएपछि अहिले धावनमार्गमा बसेर टिकटक बनाउने, फोटो खिच्ने स्थलका रुपमा परिणत भएको हो । साथै धावनमार्गमा पनि घाँस उम्रिन थालेको छ । विमानस्थल संरक्षणका लागि बनाइएको घेरा पर्खाल भत्किनाका साथै तारजालीहरु पनि समेत चुँडिन थालेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १२:४६