सूचनाको शक्ति - The Power Of Information

        

एसिया कप - २०२३

क्रिकेटले विश्वमा चिनिँदै नेपाल

विश्व क्रिकेटका पावर हाउस भारत र पाकिस्तानसँग खेल्दा नेपाललाई विश्वले चिन्नेछ ।

नेपालले पहिलो पटक एसिया कप एक दिवसीय क्रिकेट खेल्दैछ । नेपालले एसिया कपको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानको सामना गर्दैछ । उक्त खेल आज सवा ३ बजे पाकिस्तानको मुल्दान क्रिकेट रंगशालामा हुनेछ । एसिया कपको १६ औं संस्करणमा आज नेपालले आज डेब्यू गर्न लागेको हो ।

एक दिवसीय क्रिकेटको विश्व वरियताको पहिलो नम्बरमा रहेको पाकिस्तानसंग १५ औं नम्बरको नेपाललाई भिड्न चुनौती रहेको छ । विश्व नम्बर एक ब्याटरका रुपमा रहेका पाकिस्तानका बावर आजम, भारतका विराट कोहली, रोहित शर्माजस्ता खेलाडीको सामुने नेपाली खेलाडी निडर भएर खेल्ने र विश्वले चिन्ने र हेर्नेछ ।

नेपालका सन्दीप लामिछाने, कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख, गुल्सन झा भरपर्दा खेलाडी हुन् । यिनीहरुको प्रदर्शन मुख्य हुनेछ । गत अप्रिल मेमा नेपालमा भएको एसिसी पुरुष प्रिमियर कप जितेर नेपाल एसिया कपका लागि छनोट भएको थियो ।

उक्तछनोट प्रतियोगितामा १० टिमको सहभागिता रहेकोमा फाइनलमा नेपालले युएईलाई ७ विकेटले स्तब्ध पार्दै एसिया कपमा स्थान बनाएको हो । यसका साथै नेपालले एकदिवसीय खेलमा पाकिस्तानसँग पहिलोपटक खेल्न लागेको हो । औपचारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपाललाई पाकिस्तानसँग एकदिवसीय खेल खेल्ने अवसर जुरेको हो ।

यसका साथै भदौ १८ गते नेपालको भेट भारतसँग हुँदैछ । विश्व क्रिकेटमा भारत र पाकिस्तान बलिया टिम भए पनि नेपालले एक दिवसीय खेलमा प्रतिस्पर्धा गर्न पाएको थिएन । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि भने बल्न नेपालले पाकिस्तान र भारतसँग पहिलोपटक प्रतिस्पर्धा गर्ने अवसर पाउँदैछ ।

विश्व क्रिकेटका पावर हाउस भारत र पाकिस्तानसँग खेल्दा नेपाललाई विश्वले चिन्नेछ । क्रिकेटका दुई ठुला हस्तीसामु भिड्दा नेपाललाई विश्वले नै चिन्ने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताए । उनले एसिसि प्रिमियर कपको विजेता र विश्वकप क्वालिफायर खेलिसकेपछि उच्च मनोबलका साथ नेपाल मैदान उत्रने र जित्ने लक्ष्यमा रहेको बताए ।

हारजित भन्दा पनि क्रिकेटका ठुला हस्तीसंग खेल्न पाउनु गौरवको कुरा हो । क्रिकेट अनिश्चितताको खेल भएकोले कुनै पनि टिमलाई सानो ठुलोको रुपमा लिन नहुने उनको भनाई छ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया कपलाई ठुलो उपलब्धीका रुपमा लिदैं घरेलु टोली पाकिस्तानविरुद्ध प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने बताए ।

रोहितले नेपाल र पाकिस्तानको टोलीमा फरक अनुभव मात्रै फरक रहेको दाबी गर्दै दुबैको क्षमता उस्तै रहेको बताए । एसिया कपमा सहभागी ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।

प्रत्येक टिमले आफ्नो समूहको अर्को टिमसँग एक पटक खेल्नेछन् । प्रत्येक समूहका शीर्ष दुई टिम सुपर फोर चरणमा प्रवेश गर्नेछन् । त्यहाँ चार टिमले एक अर्कासँग खेल्नेछन् र शीर्ष दुई टिम फाइनलका लागि छनोट हुनेछन् ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १२:४०