इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले एक महिनामै १८ हजारभन्दा बढी ग्राहक गुमाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआइएस रिपोर्टअनुसार वर्ल्डलिंकले एक महिनामै यति ठूलो संख्यामा ग्राहक गुमाएको हो ।
एमआइएस रिपोर्टअनुसार २०७९ चैतसम्म वर्ल्डलिंक ग्राहकसंख्या ७ लाख ७१ हजार ४६२ थियो । तर, २०८० वैशाखमा आउँदा एक महिनामै वर्ल्डलिंकले १८ हजार ८८९ ग्राहक गुमाउँदै ७ लाख ५२ हजार ५७३ मा सिमित भएको हो ।
वर्ल्डलिंकपछि डिस मिडिया नेटवर्क (डिसहोम) र नेपाल टेलिकमले पनि उच्च संख्यामा ग्राहक गुमाएका छन् । चैतसम्म २ लाख ४० हजार ६६८ ग्राहकसंख्या रहेको डिसहोमले एक महिनामा ११ हजार २२ ग्राहक गुमाउँदै २ लाख २९ हजार ६४६ ग्राहकमा सिमित भएको छ ।
त्यस्तै चैतसम्म २ लाख ८७ हजार १९० ग्राहक रहेको नेपाल टेलिकमले एक महिनामा १० हजार २६२ ग्राहक गुमाउँदै ७ लाख ५२ हजार ५७३ मा सिमित भएको छ । यस एक महिना अवधिमा सुबिसुले ४ हजार ७५९ र ब्रोडलिंकले २ हजार ५९६ ग्राहक गुमाएका छन् ।
साथै, यस अवधिमा वेब सफरले सबैभन्दा बढी ५ हजार ३१२ ग्राहक थप गर्दा सिजी नेटले ४८२ नयाँ ग्राहक थपेको छ । यसैगरी भायानेट, क्लासिक टेक र टेक माइन्ड्सको ग्राहकमा भने एक महिना अवधिमा कुनै घटबढ भएको छैन ।
त्यसो त, ०७९ चैतबाट ०८० वैशाखसम्मको एक महिना अवधिमा समग्र इन्टरनेट सेवा प्रदायकका ग्राहक संख्यामा गिरावट आएको देखिन्छ । चैतमा २६ लाख ७३ हजार ४७१ रहेको कूल सेवा प्रदायक ग्राहकसंख्या वैशाखमा ३७ हजार ७७८ ले घटेर २६ लाख ३५ हजार ६९३ मा सिमित भएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं