सूचनाको शक्ति - The Power Of Information

        

बिक्री नहुँदा बँदेलले खान्छन् गाईको दुध !

बँदेललाई गाईको दुध खुवाउँदै कृषक कृष्णा शाही ।

सुर्खेतको वीरेन्द्रनगर–९ पर्सेनीकी कृष्णा शाहीले पालेको जर्सी जातको गाई गत साउन १५ गते ब्यायो । हाल उक्त गाईले दैनिक १५ लिटर बढी दुध दिन्छ । तर बजार नपाउँदा उनी गाईको दुध बँदेललाई खुवाउन बाध्य छन् । उमेरले ५३ बर्षकी कृष्णा शाहीले व्यवसायका लागि गाई पालन गरिन् । तर गाईको दुध नै बिक्री नभएपछि उनी चिन्तित छन् ।

‘दुध बिक्री हुँदैन । सबै दुध घरमा खान पनि सकिँदैन । आधा छिमेकीलाई बाँड्छौ’ उनले भनिन्, ‘बाँकी झण्डै १० लिटर दुध दैनिक बँदेलले खान्छन् ।’ उनका अनुसार सुर्खेतका डेरी उद्योग र मानिसले भैंसीको दुध मात्रै किन्छन् । तर गाईको दुध किनेर खान मान्दैनन् । ‘आठ जनाको घरपरिवार छ । तर परिवार घरमा सँगै हुँदैनौ । मुस्किलले दुई लिटर दुध खान्छौं,’ उनले थपिन्, ‘बाँकी दुध छिमेकीलाई बाँड्नुपर्छ । नत्र बँदेललाई खुवाउनुको विकल्प छैन ।’

कृष्णा शाहीले जीविकोपार्जनका लागि गाउँमै पशुपालन तथा तरकारी खेती गर्दै आएकी छन् । उनको घर कर्णाली प्रदेश राजधानी रहेको सुर्खेत उपत्यकाभित्रै पर्छ । अहिले उनले एक दुहुनो गाईसहित सात वटा बाख्रा र दुई बँदेल पालेकी छन् । आफ्नै पाँच कट्टा जग्गामा उनको तरकारी खेती छ । गाईको दुध बिक्री नभएपछि बँदेललाई खुवाउनुपर्दाको पीडा कृष्णा शाहीलाई मात्रै थाहा छ ।

दुध बेचेर घर खर्च चलाउने कृष्णाको आशा हिजोआज निराशामा परिणत भएको छ । व्यवसायप्रति उनी निरुत्साहित बन्दै गएकी छन् । तर यो पीडा कृष्णा शाहीको मात्रै छैन । उनी एक प्रतिनिधिमूलक पात्र मात्रै हुन् । उनीजस्तै कर्णालीका हजारौं कृषकले हिजोआज उस्तै पीडा भोग्नुपरेको छ । गाईको दुध बिक्री नहुँदा कर्णालीका कृषक मर्कामा परेका छन् । कर्णालीमा साउनदेखि फागुनसम्म करिब आठ महिनासम्म गाईको दुधले बजार पाउँदैन ।

गाईपालनमा बर्षभरीको मेहनतबाट आर्थिक प्रतिफल लिनेबेला कृषकहरु चिल्लाराम अवस्थामा बस्नुपरेको छ । आफ्नै घरमा खानका लागि प्रयोग हुनेबाहेक व्यवसायका लागि दुध बिक्री गर्ने कृषकहरू बजारको खोजीमा छन् । ‘बिक्रीका लागि बजार छैन, कहाँ लगेर बेच्नु ?’ पीडित कृषकहरु बताउँछन् । नगरपालिका, प्रदेश सरकार लगायत सम्बन्धित निकाय मुखदर्शक बनेको उनीहरुको आरोप छ ।

खडेरीमा मात्रै बिक्री

दुध बिक्रीका लागि कर्णालीको मुख्य बजार भनेकै सुर्खेतको वीरेन्द्रनगर उपत्यका हो । तर यहाँ खडेरीमा मात्रै गाईको दुध बिक्री हुन्छ । अन्य सबै मौषममा भैंसीको दुधले बजार कब्जा गरेको छ । चैत देखि असार महिनासम्म मात्रै गाईको दुधले बजार पाउँछ । कर्णाली डेरी उद्योग तथा दुग्ध व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद जैशीका अनुसार गाईको दुधले नियमित बजार मुल्य पाउन निकै मुस्किल छ । उनका अनुसार बुझाईको कमिले उपभोक्ताहरु गाईको भन्दा भैंसीको दुध बढी रुचाउँछन् ।

गाईको दुध पातलो हुन्छ, मिठो हुँदैन भन्ने उपभोक्तामा बुझाइ छ । ‘साउनदेखि धमाधम भैंसी बिह्याउने हुदाँ बजारमा पनि भैंसीकै दुध छ्याप्छ्याप्ती आउँछ । त्यो बेला डेरी उद्योगहरुले पनि भैंसीको मात्रै दुध खरिद गर्छन्,’ उनले भने, ‘यसो गर्नु राम्रो होइन । उपभोक्ताको बुझाईलाई डेरी उद्योगले प्रस्ट पार्नुपर्छ । यो डेरी उद्योगीहरुको कमजोरी हो ।’ अध्यक्ष जैशीका अनुसार गाईको दुध छुर्पी उत्पादनका लागि उपयुक्त मानिए पनि कर्णालीमा छुर्पी उत्पादन गर्ने ठूलो उद्योग छैन ।

यहाँको दुध बाह्य प्रदेश निर्यात समेत हुनसकेको छैन । गाईको दुध खपतका लागि प्रदेश र संघ सरकारको लगानीमा छुर्पी उत्पादन उद्योग खोल्न जरुरी रहेको उनले बताए । ‘गाईको दुध खपतका लागि वीरेन्द्रनगर–१४ गोठिकाँडामा असोज १ गतेदेखि मैले आफ्नै लगानीमा छुर्पी उद्योग खोल्न लागेको छुँ’ उनले भने, ‘तर यो कम्पनीको दैनिक पाँच सय देखि हजार लिटरसम्म मात्रै दुध खपत गर्ने क्षमता छ । प्रदेश भरीको दुध खपतका लागि ठूलो क्षमताको उद्योग खोल्न आवश्यक छ ।’

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार ०९:०५