नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्न निर्देशन दिएपछि अहिले बिमा कम्पनीहरू पुँजी वृद्धितर्फ लागेका छन् । कतिपय कम्पनीले मर्जरमा गएर तोकिएको पुँजी कायम गरेका छन् । कतिपयले मर्जरमा गएर पनि चुक्ता पुँजी पुर्याउन सकेका छैनन् ।
प्राधिकरणले आठ वटा बिमा कम्पनीलाई तोकिएको चुक्ता पुँजी कायम गर्न हकप्रद सेयर निष्कासन गर्न दिने निर्णय पनि गरिसकेको छ । तर, कतिपय बिमा कम्पनीले चुक्ता पुँजी कायम गर्न ठूलो मात्रामा पुँजी जुटाउनुपर्ने अवस्था छ यस्तै, एउटा कम्पनी हो, राष्ट्रिय बिमा संस्थान । हाल संस्थाको चुक्ता पुँजी १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको छ ।
जीवन बिमा कम्पनीहरूलाई प्राधिकरणले पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था गरेको छ । तोकिएको चुक्ता पुँजी कायम गर्न अब यो संस्थानलाई तीन अर्ब ३१ करोड ८९ लाख ८० हजार रुपैयाँ जुटाउनुपर्ने हुन्छ । संस्थानले प्राथमिक सेयर (आइपीओ) निष्कासन गरेर एक अर्ब ५० करोड रुपैयाँ जुटाउने भएको छ ।
संस्थापक सेयरधनीले भने बाँकी तीन अर्ब ५० करोड रुपैयाँ जुटाउनुपर्नेछ । यो पुँजीमध्ये १८ करोड १० लाख २० हजार रुपैयाँ पहिले नै संस्थापकबाट चुक्ता भइसकेको छ । अब बाँकी तीन अर्ब ३१ करोड ८९ लाख ८० हजार रुपैयाँ संस्थापकतर्फबाट कायम गर्नुपर्नेछ । संस्थापक सेयरधनीमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल बैंक रहेका छन् ।
कुल पुँजीको सबैभन्दा बढी सेयर नेपाल राष्ट्र बैंकको ५५.५६ प्रतिशत रहेको छ । अर्थ मन्त्रालयको २७.७७ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत पुँजी रहेको छ । हालको सेयर स्वाप रेसियो अनुसार प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम गर्न नेपाल राष्ट्र बैंकको भागमा एक अर्ब ९४ करोड ४६ लाख रुपैयाँ परेको छ ।
त्यस्तै, अर्थ मन्त्रालयको भागमा ९७ करोड १९ लाख ५० हजार र नेपाल बैंकको भागमा ५८ करोड ३४ लाख ५० हजार रुपैयाँ परेको छ । अब अर्थ मन्त्रालयले संस्थापकको तर्फबाट पुँजी पुर्याउन ९२ कराड १६ लाख ६६ हजार रुपैयाँ थप गर्नुपर्नेछ । त्यस्तै, नेपाल बैंकले ५५ करोड ३२ लाख ८० हजार रुपैयाँ चुक्ता गर्नुपर्नेछ ।
राष्ट्र बैंकको भागमा परेको थप पुँजी एक अर्ब ८४ करोड ४० लाख रुपैयाँ चुक्ता गरिसकेको छ । संस्थानका प्रबन्धक तथा सूचना अधिकारी भोलानाथ घिमिरेले बताए । घिमिरेका अनुसार राष्ट्र बैंकले आफूले चुक्ता गर्नुपर्ने सबै रकम चुक्ता गरिसकेको छ । प्राधिकरणले गरेको व्यवस्थालाई कार्यान्वयन गर्न लागिरहेको उनले बताए ।
‘संस्थानलाई कम्पनी लिमिटेडमा परिणत गर्न विशेष साधारण सभा डाकेको पनि छ,’ उनले भने, ‘कम्पनीमा परिणत भएपछि हामी सर्वसाधारणमा आइपीओ निष्कासन गर्नेछौँ । संस्थापकतर्फको पुँजी पनि हाल्ने क्रम जारी छ । राष्ट्र बैंकले आफ्नो भागको पुँजी चुक्ता गरिसकेको छ ।’ संस्थानले भदौ १५ गतेका लागि विशेष साधारण सभा डाकेको छ ।
संस्थानलाई पब्लिक लिमिटेडमा परिणत गर्न प्रबन्धपत्र र नियमावली स्वीकृत गर्ने पनि साधारण सभाको विशेष प्रस्ताव रहनेछ । सभाले प्रस्ताव पारित गरेपछि पुँजी पुर्याउने प्रक्रियामा जाने घिमिरे बताउँछन् । आइपीओ निष्कासनपछि संस्थानको सर्वसाधारणतर्फ ३० प्रतिशत र संस्थापकतर्फ ७० प्रतिशत सेयर स्वामित्व रहनेछ ।
सत्यपाटी संवाददाता । काठमाडौं