अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको आयोजना नेपालमा आजदेखि औपचारिक कार्यान्वयनमा जाने भएको छ । एमसीसी सहयोग अन्तर्गत निर्माण हुने प्रसारण लाइन र सडक निर्माण आयोजनाको औपचारिक उद्घाटन गर्ने तयारी छ ।
परियोजनाको शुभराम्भ गर्न एमसीसी उपाध्यक्ष क्यामरन एलफोर्ड हिजै नेपाल आइसकेका छन् । अर्थमन्त्री प्रकाशशरण महत र एल्फोर्डले आज दिउँसो सिंहदरबारबाट संयुक्त रुपमा परियोजनाको उद्घाटन गर्ने तयारी छ ।
एमसीसी परियोजना अन्तर्गत नुवाकोटको रातमाटेदेखि दमौली हुदै बुटवल र रातमाटेबाटै हेटौंडासम्म ३१५ किलोमिटर लामो विद्युत प्रसारण लाइन निर्माण गरिनेछ भने रातमाटे, दमौली र नवलपरासीको बर्दघाटमा चार केभी क्षमताका तीन वटा विद्युत सवस्टेशन पनि निर्माण गरिनेछ ।
यस्तै पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको धानखोलादेखि लमहीसम्म ७७ किलोमिटर सडकको स्तरोन्नती गरिनेछ । आजको मितिलाई सम्झौता कार्यान्वयनमा गएको मानेर पाँच वर्ष अर्थात २०८५ भदौ १३ भित्र यी काम सम्पन्न गरिसक्नुपर्नेछ ।
यी आयोजनाका लागि अमेरिकाले एमसीसी मार्फत ५० करोड डलर उपलब्ध गराउनेछ भने नेपाल सरकारले करीब १९ करोड ७० लाख डलर लगानी गर्नेछ । अमेरिकाले नेपालमा एमसीसी परियोजना कार्यान्वयनमा जान लागेकोमा खुशी ब्यक्त गरेको छ ।
आयोजना कार्यान्वयनका लागि नुवाकोट, दमौली र बुटवलमा सरकारले जग्गा उपलब्ध गराएको छ भने अन्यत्र जग्गा प्राप्ती तथा रुख कटानको काम बाँकी नै छ । २०७४ भदौ २९ मा नेपालको अर्थ मन्त्रालय र एमसीसीका प्रतिनिधिबीच वासिङ्टनमा एमसीसी सम्झौता भएको थियो ।
सत्यपाटी संवाददाता । काठमाडौं