सूचनाको शक्ति - The Power Of Information

        

केरामा लाग्ने पानामा रोगको अध्ययन थालियो

कैलालीको टीकापुरमा केरामा देखिएको टिआर–४ (पानामा) रोगको प्रारम्भिक अध्ययन थालिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको केराको नमूना परीक्षणमा पानामा रोगको सङ्क्रमण देखापरेको थियो ।

पानामा रोगको अध्ययनका लागि राष्ट्रिय बिरुवा संरक्षण सङ्गठन नेपालले गठन गरेको जोखिम विश्लेषण कार्यदलले स्थलगत अध्ययन सुरु गरेको हो । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा.रामबहादुर खड्काको नेतृत्वमा बनेको सात सदस्यीय कार्यदलले टीकापुरमा पुगेर अध्ययन सुरु गरेको छ ।

कार्यदलले कृषि क्षेत्रमा काम गर्दै आएका सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका कार्यालय प्रमुखसहित किसानसँग छलफल चलाएको छ । प्रारम्भिक चरणमा रोग पत्ता लागेको बारीबाट अर्को बारीमा सर्न नदिनका लागि आचारसंहितासहित कार्यान्वयनका लागि सरोकारवालासँग छलफल गरिएको छ ।

छलफलका क्रममा कार्यदलका संयोजक कृषि वैज्ञानिक डा.रामबहादुर खड्काले किसानलाई हतोत्साहित नभएर सावधानी अपनाउन आग्रह गरे । उनले पानामा रोगको सङ्क्रमण अन्य बारीमा फैलिन नदिन किसान सचेत हुनुपर्ने बताए । माटोबाट रोग सर्ने भएका कारण किसानले प्रत्येक केरा बारीमा क्वारेन्टाइन बनाउनुपर्ने सुझाव कार्यदलले दिएको छ ।

कार्यदलका सदस्य वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले बारीमा जाँदा उत्पादन भएको केरा सङ्कलन र बजारीकरण गर्दा विशेष सावधानी अपनाउन आग्रह गरे । कार्यदलले गरेको अध्ययनले अधिकांश केरा बारीमा रोगको सङ्क्रमण फैलिएको देखाएको छ । कतिपय ठाउँमा केरामा लक्षण नदेखिए पनि माटोबाट सरेको जीवाणुको लक्षण देखिन छ महिनासम्म लाग्ने बताइएको छ ।

बिरुवाबाट तीन–चार महिनामै लक्षण देखिने गरेको छ । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र जोशीले किसान आफैं जिम्मेवार हुनुपर्ने बताए । उनले किसानले आफ्नो बारीको निगरानी बढाउनुपर्ने र स्थानीय सरकारले किसानसँगको समन्वय बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार ०८:०४