छोरी पाँच वर्षकी भएपछि दोस्रो सन्तानबारे सोच्न थालेकी थिइन् चितवनकी रीमा कट्टेलले । चिकित्सकको सल्लाह बमोजिम पहिले शरीरको तौल केही घटाउने र त्यसपछि बच्चा जन्माउने योजनामा थिइन् उनी । तर, गत वैशाख तेस्रो सातातिर उनको स्वास्थ्यमा अस्वाभाविक परिवर्तनहरू देखिन थाले ।
‘पेट जत्तिखेरै डुम्म भएजस्तो, खाना खानै मन नलाग्ने अनि शरीर बेस्सरी दुख्ने भयो । आफ्नै आशङ्काले गर्दा गर्भ जाँच गरेँ । पोजिटिभ देखियो,’ उनले सुनाइन् । तत्काल अस्पताल पुगिन् । चिकित्सकले गर्भ रहेको पुष्टि गर्दा रीमाको खुसी चुलियो । किनकि अनियोजित गर्भ रहे पनि सन्तानको चाहना थियो उनलाई । तर, त्यो खुसी धेरै समय अडिएन ।
‘डाक्टरले ‘बच्चा त छ तर भित्रै गइसकेको छ । छिट्टै निकाल्नुपर्छ भन्नुभयो । म खिस्रिक्क परेँ,’ ३० वर्षीया उनको दोस्रो पटक आमा बन्ने सपना तुहियो । औषधि खाएर मृत भ्रूण निकाल्नु थियो । स्वास्थ्यकर्मीले भनेका थिएm रक्तस्राव लगायत अन्य स्वास्थ्य जटिलता देखिन सक्छ । पर्याप्त आराम गर्नुपर्छ । तर आराम गर्न कामबाट छुट्टी आवश्यक पर्थ्यो ।
चितवनकै एक निजी शैक्षिक संस्थामा कार्यरत रीमाले निकै सोचेर ‘कलेज बिदा हुन्छ त्यसपछि फाल्ने’ निर्णय गरिन् । ‘वार्षिक १५ दिन तलबी बिदा पाउँछौँ जुन मैले लिइसकेकी थिएँ । मसँग अरू विकल्प थिएन । म काम छोड्न पनि तयार थिइनँ । त्यसैले डाक्टरले भन्दाभन्दै जोखिम मोलेँ । दुखाइ सहेरै काममा धाइरहेँ,’ उनले बताइन् ।
वैशाखको अन्तिम शुक्रवार उनी अस्पताल गइन् । स्वास्थ्यकर्मीले गर्भाशय सफा गर्न दिएको औषधि खाइन् । उनले ठानेकी थिइन्, महिनावारीमा जस्तै केही दिन रक्तस्राव हुन्छ । पेट दुख्छ अनि सकिन्छ । तर, त्यसो भएन । दुई चरणको औषधोपचारपछि उनको गर्भाशय सफा त भयो तर त्यससँगै शारीरिक र मानसिक समस्याहरू जेलिएर आए ।
उच्च रक्तस्राव, निरन्तर बान्ता, ज्वरो र शारीरिक दुखाइ । फतक्कै गलेर लड्दा उनको खुट्टा भाँचिन पुग्यो तर कार्यालयमा ‘मेरो गर्भपतन भयो’ भन्न सकिनन् । निर्धारित बिदा सकिएपछि पनि काममा फर्कन नसक्ने भएपछि भनिन्, ‘पखाला चलेको छ ।’
‘गर्भ रहेर बच्चा जन्मिएको भए सबैलाई सुनाउन सकिन्थ्यो । बिदा पाइन्थ्यो । सबैले स्वास्थ्य कस्तो छ भनेर सोध्थे । तर गर्भपतन हुँदा कसैलाई भन्न सकिँदैन रहेछ,’ उनले आफ्नो अनुभव पोखिन् ।
गर्भ खेर गएको बदला रोजगारी चट ?
हेटौँडाकी सुष्मा राईले त गर्भपतनकै कारण जागिर गुमाइन् । पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) भनिने पाठेघर सम्बन्धी अवस्थाका कारण उनको गर्भ नै चाहेको भन्दा ढिला रह्यो ।
‘मलाई बच्चाको चाहना तीव्र थियो । त्यसका लागि धेरै प्रयास गर्यौँ । केही महिना पीसीओएसको औषधि खाएपछि पेटमा बच्चा बसेको थाहा भयो । उसलाई कोखबाट काखमा पाउनु नै मेरो उत्कट चाहना थियो,’ राईले स्वास्थ्य जटिलताबीच सन्तान सुखका लागि गरेको सङ्घर्षबारे बताइन् ।
तर करिब दुई महिनापछिको स्वास्थ्य परीक्षणमा उनको गर्भ गर्भाशयभन्दा बाहिर रहेको देखियो । एक साता लामो अस्पताल बसाइपछि उनको गर्भपतन भयो । ‘यो प्रक्रिया सहज थिएन । पीडा र अनेक जटिलताहरूकै कारण डाक्टरले ‘बेडरेस्ट’ सुझाउनुभयो । अनि म काम छोड्न बाध्य भएँ किनकि मेरो स्वास्थ्य स्थितिका लागि कार्यालयले दिने ‘केही दिनको बिदा’ पर्याप्त थिएन,’ उनले भनिन् ।
यसरी राईले गर्भ गुमेकै कारण एक निजी कम्पनीमा सुपरभाइजरको जागिर पनि गुमाइन् । उनले त्यसपछि आफू गुज्रिएको मानसिक अवस्था दयनीय बनेको सुनाइन् । ‘शरीरको दुखाइ त थियो नै । अब कहिले पनि आमा बन्न सक्दिनँ कि भन्ने सोचको पीडाबोध गहिरोसँग गढ्यो । करिब दुई महिनासम्म पीडा, निराशा र छटपटीमा बाँचे,’ भनिन् ।
शारीरिक पीडा कम हुँदै गए पनि नैराश्यले नछोडेको उनले बताइन् । ‘कसैको बच्चा देख्दा छटपटी हुन थाल्यो । मेरो चाहिँ किन यस्तो भयो भन्ने प्रश्नले आफैलाई लखेट्न थाल्यो,’ राईका श्रीमान्ले भन्थे, ‘एक्लै बसेर, मनमा कुरा खेलेर गाह्रो भएको हो । बिस्तारै मानिसहरूसँग घुलमिल हुन थाल ।’ केही समयको प्रयासपछि राईले स्थानीय विद्यालयमा पढाउन थालिन् ।
त्यहाँ स–साना बालबालिकालाई देख्दा ‘आफूले रित्तो महसुस गर्ने’ गरेको उनले बताइन् । कक्षामा धेरै बेर उभिँदा उनको पेट र ढाड पनि अत्यधिक दुख्छ । ‘तर मैले यो काम गर्नुपर्छ । शरीरको पीडा सहुँला तर मानसिक आघात कम गर्नु छ । पहिलेको कामबाट बेतलबी नै सही, छुट्टी पाएको भए सायद यति बेलासम्म काममा फर्किसकेकी हुन्थेँ । अनि मलाई अहिलेभन्दा केही सहज हुन्थ्यो होला,’ उनले भनिन् ।
गर्भपतनबारे खुलेर कुरा नभएकै कारण गर्भ तुहिँदा महिलाले भोग्ने कष्टको पाटोमा ध्यान नदिइएको उनको बुझाइ छ । यद्यपि, गर्भपतन ‘महिलाको मात्र समस्या नभएकाले यसबारे पुरुषहरूले पनि बुझ्नुपर्ने’ उनको धारणा छ ।
सामाजिक लाञ्छनाको सिकार
यद्यपि महिला सहकर्मीकै कारण आफ्नो गर्भपतन हुँदाको अवस्था तुलनात्मक रूपमा सहज बनेको सुनाउँछिन् काठमाण्डूकी दीक्षा सिंह । एक फार्मास्युटिकल्समा काम गर्ने उनले आफू गर्भवती रहेको सुनाउँदा कार्यालयकी व्यवस्थापकले भनेकी थिइन्, ‘अब बिस्तारै कामको भार कम गर्दे लानुपर्छ ।’
गर्भ रहेको दशौँ सातासम्म बच्चाको मुटुको धड्कन सुनिएन । त्यसपछि गर्भपतन गराउनै पर्ने चिकित्सकको निचोडले उनको मन अशान्त बनायो । ‘बच्चाको मुटु धड्किएला नि भन्ने आशा थियो । म त ‘छोरी भए यस्तो गर्ने, छोरा भए उस्तो गर्ने’ भन्ने कल्पना गर्न थालिसकेकी थिएँ । त्यसैले गर्भपतनबारे सोच्न कहाँ सक्नु ?’ उनले भनिन् ।
परन्तु उनीसँग गर्भ तुहाउनुपर्ने यथार्थ स्विकार्नुको विकल्प थिएन । यो परिस्थितिमा कार्यालयले उनलाई पन्ध्र दिन बिदा दियो । ‘व्यवस्थापकबाट भावनात्मक साथ र सहयोग पाएँ । उहाँले मलाई पर्याप्त आराम गर्न भन्नुभयो । उहाँ महिला भएकाले पनि होला गर्भपतनपछि आफूले भोगिरहेको समस्याहरूबारे सुनाउन र बुझाउन कठिन भएन,’ ३२ वर्षीया सिंहले आफ्नो अनुभव साटिन् ।
यद्यपि गर्भपतनपछि समाजले गरेको व्यवहार भने स्विकार्न साह्रै सकस भएको उनले सुनाइन् । प्रायले भन्थे, एकचोटी गर्भ तुहिएपछि अर्को पटक बस्दैन । कतिले भन्थे, तैँले स्कुटर चलाएर वा तँ काममा गएर यस्तो भयो । कोही प्रश्न गर्थे, गर्भावस्थामा जे पायो त्यही खायौ कि ?
‘म शारीरिकरूपमा भन्दा बढी मानसिकरूपमा गलेँ । निकै पछिसम्म मेरा हातखुट्टा गलेका थिए, ढाड दुख्थ्यो । गर्भपतनपछि कपाल झर्यो तर सबैभन्दा बढी पीडा मान्छेले जनाउने प्रतिक्रियाले दिन्थ्यो ।’ त्यस्ता मनोसामाजिक चुनौतीहरूसँग लड्नका लागि भए पनि केही समय आरामको खाँचो महसुस गरिन् उनले । गर्भपतन भनेको स्वास्थ्य आपत्काल हो ।
यो अवस्थाको लागि बिदा वा अन्य आर्थिक र सामाजिक सहायताबारे नीति बन्यो भने महिला होस् या पुरुष सबैले कार्यान्वयन गर्नुपर्छ । त्यसपछि मात्रै सबै महिलाले निर्धक्क भन्न सक्छन्, ‘मेरो गर्भपतन भयो । आराम गर्न बिदा चाहियो ।’ त्यस्ता प्रावधानले कार्यालयलाई महिला कर्मचारीप्रति दायित्वबोध गराउँछ । आखिर एउटा कर्मचारीले स्वस्थ अवस्थामा न हो कार्यालयलाई शत प्रतिशत दिन सक्ने ।
कानुनमा के छ ?
नेपालको कानुनले गर्भमा रहेको भ्रूण स्वाभाविकरूपमा जन्मन सक्ने हुनुअगावै गर्भाशयबाट बाहिर निस्कनुलाई गर्भपतनको रूपमा व्याख्या गरेको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ ले गर्भपतन सम्बन्धी विभिन्न सेवाहरू सुनिश्चित गरेको भए पनि गर्भपतन हुँदा कामकाजी महिलाले भोग्नुपर्ने उल्लिखित समस्याहरू सम्बोधन गर्ने प्रावधान छैन ।
प्रत्येक महिलालाई गर्भवती तथा सुत्केरी हुँदा वा प्रजनन स्वास्थ्य रुग्णताको अवस्थामा शारीरिक आराम पाउने अधिकारबारे उल्लेख गरिएको भए पनि त्यो निजी तथा गैरसरकारी संस्थाहरूमा कार्यान्वयन नभएको बताउँछन् स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लाल ।
‘सरकारी, गैरसरकारी र निजी संस्थाले आफ्नो कार्यालयमा कार्यरत महिला कर्मचारीलाई विशेषज्ञ चिकित्सकको राय बमोजिम प्रजनन स्वास्थ्य रुग्णताको कारणले जटिल शल्यक्रिया गर्नुपर्ने भएमा त्यस्तो शल्यक्रियाको अघि वा पछि कम्तीमा ३० दिनसम्म तलबसहित अतिरिक्त बिदा दिनुपर्ने’ ऐनमा लेखिएको छ ।
यद्यपि कस्तो अवस्थालाई जटिल भन्ने ? प्रष्ट जवाफ नभएको डा. लालको भनाइ छ । ‘ऐन संशोधन नै प्रमुख उपाय हो । यसका लागि कानुन मन्त्रालयले केही प्रक्रिया अघि बढाएको छ । तर यस विषयको प्राविधिक र व्यवहारिक पाटोको सन्तुलन कायम गर्न मुस्किल भइरहेको छ,’ उनले भने । यस विषयलाई श्रम ऐनले पनि संशोधन गर्नुपर्ने उनको तर्क छ ।
‘गर्भपतन महिलाको दोष होइन’
चिकित्सकहरूले पनि गर्भपतन भएका महिलालाई ‘तङ्ग्रिन समय लाग्ने’ बताएका छन् । प्रत्येक महिलाको स्वास्थ्य अवस्था, उमेर, कति लामो समयको गर्भ पतन भएको हो लगायत पाटोहरूले ‘आराम गर्नुपर्ने समयावधि निर्धारण गर्ने’ बताउँछिन् स्त्रीरोग विशेषज्ञ डा.अनुपमा सुवाल गुरुङ ।
‘आमामा पाठेघरको समस्याका कारण होस् या कुनै सुगर, प्रेसर र थाइराइडजस्ता रोगहरूका कारण, धेरै महिलाको गर्भपतन हुन्छ । कहिलेकाहीँ बच्चामै वंशाणुगत समस्या हुनसक्छ भने वा कहिलेकाहीँ कारण पत्ता नलाग्न पनि सक्छ,’ उनले भनिन्, ‘समाजले यसमा महिलाको दोष छैन भन्ने सत्य स्विकार्नुपर्छ ।’
गर्भ तुहिँदा प्रायमा उच्च रक्तस्राव हुने, हेमोग्लोबिन कम गर्ने, रक्तचाप असन्तुलित भएर रिँगटा लाग्ने र भावनात्मक तथा मानसिक हिसाबमा कमजोर तुल्याउने समस्या निम्ताउने डा. अनुपमाले बताइन् । उनले भनिन्, ‘गर्भ जतिधेरै समयपछि तुहिन्छ अवस्था त्यति धेरै पीडादायी बन्छ । किनकि कुनै पनि महिला आफूभित्र हुर्किरहेको भ्रुणसँग भावनात्मक रूपमा जोडिएको हुन्छिन् ।’
हरेक महिलालाई यो पीडाबाट निस्कन आवश्यक समय दिनुपर्छ । यस प्रक्रियामा घर वा कार्यालयको परिवेशले पनि अर्थ राख्छ,’ उनले भनिन् । उनका अनुसार विभिन्न अध्ययनहरूले महिलाहरूले ढिलो उमेरमा बच्चा जन्माउने प्रवृत्ति बढ्दै जाँदा गर्भपतनको दर २० प्रतिशतसम्म वृद्धि भएको छ ।
समाजशास्त्रीय कोण
सुत्केरी हुँदाको वा गर्भपतनको प्रक्रिया, शारीरिक पीडा वा मनोवैज्ञानिक दबाब उस्तै हुने भए पनि यी दुई अवस्थालाई उस्तै सेवा सुविधाको दायरामा नल्याउनुलाई समस्याको जड ठान्छिन् समाजशास्त्री डा. मीना पौडेल । गर्भपतनका जैविक कारण र असरहरू नकार्न नसकिने भएपनि यसको समाजशास्त्रीय पाटोहरू नकेलाइएको उनको धारणा हो ।
‘बच्चा जन्मिएको हकमा खुसी छाउँछ । तर महिना नपुगी गर्भ तुहिएकाहरूको हकमा दुःख र पीडा मात्रै हुन्छ । अनेक सामाजिक आरोप खेप्नुपर्छ । आघातपूर्ण व्यवहारहरू सहनु पर्छ । त्यस्तो अवस्थामा छुट्टी अत्यावश्क हुन्छ । अन्य सेवा तथा सुविधाहरू पनि सुत्केरी सरह चाहिन्छ,’ उनले तर्क अघि सारिन् ।
गर्भपतन बिदाबारे नेपालमा मात्र नभई कतिपय विकसित देशहरूमा पनि यकिन कानुन वा नियम नभएको जानकारहरू बताउँछन् । जसका कारण विदेशमा रहेका नेपाली विद्यार्थी वा महिलाहरू पनि मर्कामा परेका पाइन्छन् । तीन वर्षअघि डेनमार्कमा थिइन् बुटवलकी कृति पौडेल । त्यहाँ उनी क्लिनरको रूपमा काम गर्थिन् ।
दैनिक १४ देखि १६ घण्टा काममा खट्दा उनले आफ्नो शरीरमा भएका परिवर्तनहरू महसुस गरेकी थिइनन् । एक दिन अचानक काम गर्दागर्दै रक्तस्राव हुन थालेपछि उनी अस्पताल पुगिन् । ‘काम नगरे कलेजको शुल्क तिर्न, खान र बस्न पनि धौधौ हुने स्थिति थियो । त्यसैले सकेको खट्थेँ । तर काम गर्दागर्दै १४ साताको गर्भ खेर गयो,’ उनले सुनाइन् ।
अझै दुःखद् त, अस्पताल गएर गर्भाशय सफा गरेको भोलिपल्ट उनी काममा फर्कनुपर्यो । ‘स्वास्थ्यकर्मीले आराम गर भनेका थिए तर कहाँ पाउनु ? परिस्थिति नै त्यस्तै बाध्यकारी थियो । त्यो बेलाको दुखाइ सम्झिँदा अहिले पनि सिरिङ्ग हुन्छ,’ उनले सुनाइन् ।
त्यसैले गर्भपतन बिदाबारे अन्तर्राष्ट्रिय स्तरमा छलफल र हरेक महिलालाई यस परिस्थितिबाट गुज्रन आर्थिक तथा भावनात्मक सहयोग आवश्यक भएको उनको विचार छ । अझ यस्तो अवस्थामा ‘सुत्केरीको श्रीमान’लाई सरह गर्भपतन भएकी महिलाको श्रीमानलाई पनि ‘केही दिनको बिदा’ दिँदा महिलालाई भावनात्मक भरथेग हुने उनले बताइन् । (गोपनीयता कायम राख्न पात्रहरूको नाम परिवर्तन गरिएको छ ।)
स्वेच्छा राउत । काठमाडौं