सूचनाको शक्ति - The Power Of Information

        

चीनले भारतको अरुणाचल प्रदेशलाई नयाँ नक्सामा राखेपछि…

चीनले सोमवार नयाँ नक्सा जारी गरेको छ । त्यसलाई आफ्नो ‘प्रचलित नक्सा’ बताएको बेइजिङले अरुणाचल प्रदेश र अक्साई चीनलाई पुनः एकपटक चीनको हिस्साको रूपमा उल्लेख गरेको छ । चीनको उक्त नक्सामा साउथ चाइना सी र ताइवानसमेत चीनको हिस्साका रूपमा प्रस्तुत गरिएको छ ।

उक्त नक्सा सार्वजनिक गर्दै चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने अङ्ग्रेजी दैनिक द ग्लोबल टाइम्सले सामाजिक सञ्जालमा लेखेको छ, ‘चीनको सन् २०२३ को प्रचलित नक्सा सोमवार सार्वजनिक गरिएको छ । यो नक्सा प्राकृतिक स्रोत मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको हो । यो नक्सा चीन र विश्वका अन्य देशको ‘ड्रइङ’ पद्धतिको आधारमा बनाइएको हो ।’

भारतीय जनता पार्टी भाजपाका नेता सुब्रमण्यम स्वामीले चीनको नयाँ नक्सालाई लिएर व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् । उनले भने, ‘मोदीलाई भन्नुहोस् कि यदि उहाँले कुनै बाध्यताका कारण भारत माताको रक्षा गर्न सक्नुहुन्न भने कम्तीमा पद छोडेर मार्गदर्शक मण्डलमा जानुहोस् । भारतलाई झुटले बचाउन सकिँदैन । भारतले अर्को नेहरु सहन सक्दैन ।’

केही दिनअघि ब्रिक्स सम्मेलनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच भेटवार्ता भएको पृष्ठभूमिमा यो नक्सा जारी गरिएको हो । दुवै देशका नेताबीच सीमा विवादबारे समेत कुराकानी भएको थियो । यसअघि सन् २०२३ को एप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशका ११ स्थानको नाम परिवर्तन गर्न अनुमोदन गरेको थियो ।

चीनले अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर भूभाग दाबी गर्दै आएको छ भने भारतले पश्चिममा रहेको अक्साई चीनको ३८ हजार वर्ग किलोमिटर भूभाग चीनले अवैधरूपमा कब्जा गरेको दाबी गरेको छ । सीमामा उत्पन्न तनावका कारण तीन वर्षदेखि भारत र चीनबीच सम्बन्ध चिसिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १७:१५