सूचनाको शक्ति - The Power Of Information

        

एसिया कप-२०२३

एसिया कपमा नेपालीलाई उत्कृष्ट प्रदर्शनको अपेक्षा

नेपालका पछिल्ला पाँच खेल हेर्ने हो भने एकदमै आउट अफ फर्म रहेको छ ।

नेपालको १७ सदस्य टोली अहिले एसिया कप २०२३ खेल्नको लागि पाकिस्तानमा छ । नेपालले भोलि भदौ १३ गते एसिया कपको पहिलो खेल पाकिस्तानसँग खेल्दै छ । नेपाली टिमले अहिलेसम्म खेलेको प्रतियोगिता मध्येको सबैभन्दा ठुलो प्रतियोगिताको रूपमा एसिया कप रहेको छ । यसको तयारीमा जति जुट्नुपर्ने हो त्यति टोली नजुटेको देखिन्छ ।

अहिलेसम्म जति पनि खेलहरू नेपाली टोलीले खेलेको छ सबै धेरै जसो खेल आफ्नो र्‍याङ्किङभन्दा तलका टोलीहरूसँग खेलेको छ । यसअघि भएको एसीसी मेन्स इर्मेजिङ प्रतियोगितामा पनि नेपाली टोली मात्र सिनियर टोली रहेको थियो । पाकिस्तान अहिले एक दिवसीय विश्व क्रिकेटको एक नम्बर र्‍याङ्किङमा रहेको टिम हो । नेपाल भने १५ औँ नम्बरमा रहेको छ ।

नेपालको पाकिस्तान विरुद्धको खेलमा लगभग हार निश्चित जस्तै छ तर खेल हो जित निकाल्न पनि सकिन्छ । अहिले पाकिस्तानको कमजोरीको कुरा गर्ने हो भने लगभग देखिँदैन भर्खरै भएको अफगानिस्तानसँगका तीन खेलमा पाकिस्तानले दुई खेलमा जीत निकाल्न निक्कै संंघर्ष गर्नुपरेको थियो, तर उसको ‘लोअर मिडिल अडर’ले राम्रो ब्याटिङ गर्दा जित निकाल्न सफल भएको हो । नेपालका पछिल्ला पाँच खेल हेर्ने हो भने एकदमै आउट अफ फर्म रहेको छ ।

जति खेल नेपालले आफ्नो होम ग्राउन्डमा खेलेको छ सबै राम्रो गरेको छ । तर देश बाहिर गए पछि खेल बिग्रिएको छ । नेपालको प्रमुख हतियार भनेको स्पिन बलिङ रहेको छ तर पाकिस्तानी व्याटरहरु स्पिन बलिङ खेल्नको लागि माहिर रहेका छन् नेपालको प्रमुख हतियारलाई निस्तेज पार्न उनीहरू तयार रहेको देखिन्छ । नेपालका पूर्व कप्तान पारस खड्का भने यो नेपालको लागि एसिया कप खेल्ने अवसर भने गौरव गर्नुपर्ने अवसर भएको र यसको भरपुर सदुपयोग गर्नु पर्ने बत्ताउँछन् ।

उनी भन्छन् ‘मङ्गलवार हुन गइरहेको खेलमा नेपाली टिम र पाकिस्तानी टिमका कन्डिसन धेरै फरक हो । नेपाल जुन अवस्थाबाट यहाँ सम्म आएको छ त्यसलाई हामीले सम्मान गर्दै खेल भावनाको विकास गर्नुपर्छ । खेलमा हार जीत हुन्छ हामीले हाम्रो साख जोगाएर लाने हो । अहिले नेपाली खेलाडी उत्साहित छन् यसको सदुपयोग गर्नुपर्छ ।’

नेपाल पाकिस्तानको खेलमा हेर्नैपर्ने खेलाडीहरू

पाकिस्तानी व्याटर बाबर आजम एक दिवसीय क्रिकेटका ब्याटिङ र्‍याङ्किङमा पहिलो नम्बरमा रहेका खेलाडी हुन उनी एक्लैले खेल जिताउने क्षमता राख्दछन् । उनले पछिल्ला १० खेलमा ४७ को औसतमा ४७२ रन बनाएका छन् उनको स्ट्राइकरेट लगभग ८२ को रहेको छ । त्यस्तै अर्का पाकिस्तानी व्याटर फकर जमा पनि विश्व क्रिकेटको ५ नम्बरको र्यांकिङमा रहेका छन् ।

उनले पनि पछिल्ला १० खेलमा ५८ को औसतमा ५२३ रन बनाएका छन् । अर्का पाकिस्तानी व्याटर इमाम उल हक पनि विश्व क्रिकेटको तेस्रो नम्बरको र्‍याङ्किङमा रहेका छन् । यी व्याटरहरु नेपालको बलिङ लाइनको लागि खतरा हुनेछन् । नेपालका व्याटरहरुमा कुशल भुर्तेलले निक्कै जिम्मेवारी वहन गर्नु जरुरी देखिन्छ उनले पछिल्ला १० खेलमा ३० को औसतमा २९७ रन बनाएका छन् ।

त्यस्तै अर्का व्याटर भीम सार्की हुन उनले १० खेलमा ३७ को औसतमा २५८ रन बनाएका छन् । कप्तान रोहित पौडेलको पनि पाकिस्तानसँगको खेलमा मुख्य जिम्मेवारी रहने छ । ‘टप अडर’ यदि फ्लप भएमा उनले खेल सम्हाल्नुपर्ने देखिन्छ । बलरको कुरा गर्ने हो भने पाकिस्तानमा कोही भन्दा कोही कम छैनन् । पाकिस्तानको फास्ट बलर र स्पिनर उतिकै दमदार रहेका छन् ।

एक दिवसीय र्यांकिङमा ९ औँ नम्बरमा रहेका शाहिन शाह अफ्रिदीको पछिल्ला ७ खेलमा १४ विकेट लिएका छन् । उनी नेपालको ब्याटिङ लाइनको खतरा बन्न सक्छन् उने पेसको अघि नेपाली व्याटर निक्कै सम्हालिएर खेल्न जरुरी देखिन्छ । अर्का फास्ट बलर हरिस रउफ पनि उतिकै खतरा रहेका छन् उनले पछिल्ला ८ खेलमा १५ विकेट लिएका छन् ।

नेपाली बलरको कुरा गर्ने हो भने पहिलो रोजाइमा सन्दीप लामिछाने पर्छन् उनको लेग स्पिन खेल्न निक्कै मुस्किल हुने छ पाकिस्तानी व्याटरलाई । तर सन्दीपले भने विश्वको विभिन्न ठाउँमा गएर खेल खेलेको कारण उनको बलिङको एनालाइसिस् गरेर उनी माथि पाकिस्तानी वलरले एट्याक गर्न पनि सक्छन् । सन्दीपले पछिल्ला १० खेलमा १८ विकेट निकालेका छन् ।

नेपालका अर्का बलर ललित राजवंशी अहिले निक्कै फर्ममा देखिएका छन् उनको बलिङ पाकिस्तानको लागि खतरा हुन सक्छ । नेपाली बलर करण केसी र सोमपाल कामीले पाकिस्तानविरुद्धको खेलमा महत्त्वपूर्ण भूमिका खेल्न जरुरी रहेको छ । एसिया कपको आयोजक राष्ट्र पाकिस्तान भए पनि भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि अधिकांश खेलहरू श्रीलङ्कामा हुँदै छन् ।

एसिया कपको पहिलो खेल नेपाल र पाकिस्तान बिच भोलि भदौ १३ गते हुनेछ । एसिया कपका प्रतिस्पर्धी हेर्दा सबैभन्दा कमजोर टोलीको रूपमा नेपाल लिए पनि सम्झन लायक प्रदर्शन गर्नेमा भने नेपाली समर्थक आशावादी रहेका छन् । एसिया कपमा अफगानिस्तान, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र भारत रहेका छन् । एसिया कपको भारत र पाकिस्तान प्रमुख दाबेदार भनिए पनि साबिक विजेता भने श्रीलङ्का रहेको छ ।

स्रोत : नेपाल न्युज बैङ्क
प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १६:५९