सूचनाको शक्ति - The Power Of Information

        

किड्नी झिक्ने अस्पताल दर्ताबिनै सञ्चालनमा

पत्थरीको शल्यक्रिया गर्दा बिरामीको शरीरबाट किड्नी झिक्ने अस्पताल दर्ता नगरी सञ्चालन भएको पाइएको छ । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि दर्ता नगरी सञ्चालनमा रहेको धनगढीको स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पतालले मृतकका आफन्तसँग तीन बुँदे सहमति गरेको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको शल्यक्रियाका क्रममा किड्नी झिकिदिँदा आइतबार मृत्यु भएको थियो । उक्त अस्पताल २०७९ देखि दर्ताबिना सञ्चालन हुँदै आएको छ । अस्पतालले २५ शय्या दर्ताका लागि स्वास्थ्य निर्देशनालयमा कागजात पेस गरेको तर अस्पतालले अनुमति पाइसकेको छैन ।

यसका लागि केही कागजात नपुगेको निमित्त निर्देशक डाक्टर जगदीश जोशीले बताए । सोमबार साँझ अस्पताल प्रशासन र मृतकका परिवारबीच तीन बुँदे सहमति भएको मृतकका भतिजा राजकुमार चौधरीले बताए । उनका अनुसार एमबीबीएस अध्ययनरत छोरा ज्योतिप्रकाश चौधरीको पढाई खर्च अस्पतालले व्यहोर्ने, मृतकका २ छोरीको विवाह खर्च व्यहोर्ने र उपचारमा लापरबाही गर्ने डाक्टर जोनेस तिवारीलाई कारबाही गर्ने सहमति भएको छ ।

यसअघि डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आएका मृतकका आफन्तले सोमबार दिउँसोदेखि अस्पताल क्षेत्रमा यातायात बन्द गराएका थिए । पत्थरीको अप्रेसनका क्रममा ऐजनललाको मिर्गौलाको नसा काटिएपछि अत्यधिक रक्तश्राव भएको र डाक्टरले फेरि अप्रेसन गरेर बायाँ मिर्गौला नै झिकिदिएका थिए । रक्तश्राव भएका कारण बिरामीको किड्नी झिक्नुपरेको अस्पालतको दाबी थियो ।

चौधरी घरको सिँढीबाट लडेपछि चोट लागेको थियो । उपचारका लागि धनगढी ल्याइएका उनलाई स्वास्थ्य परीक्षणका क्रममा मिर्गौलामा पत्थरी रहेको थाहा भएको भतिजा राजकुमार चौधरीले बताए । चौधरीको बायाँ मिर्गौलामा दुई वटा र दायाँ मिर्गौलामा एउटा पत्थरी छ भन्दै बायाँ मिर्गौलामा रहेका पत्थरी झिक्न अप्रेसन गरिएको थियो । बिरामीका भतिजा राजकुमार चौधरीका अनुसार दिउँसो ३ बजे अप्रेसन गरिएको थियो ।

अप्रेसन सफल भएको डाक्टरले बताएका थिए । चिकित्सकले झिकेको पत्थरी पनि देखाएका थिए । तर ऐजनलाललाई एक घण्टा नबित्दै पेट दुख्न थाल्यो । यसपछि डाक्टरले सुई लगाइदिए । तर निको हुने कुरा भएन । ८ बजेतिर बिरामीलाई धेरै नै अप्ठेरो भयो । त्यसपछि फेरि डाक्टर किड्नीको नसा काटिएको बताए । अत्यधिक रक्तश्राव भइरहेको थियो । बिरामीको ज्यान छान्ने कि किड्नी छान्ने भनेर डाक्टरले भन्न थाले ।

‘त्यसपछि बाध्यतावश हामीले किड्नी झिकेर निको हुने भए बरु किड्नी झिक्दिनुस् भन्यौं,’ भतिजा चौधरीले भने, ‘राति २ बजे किड्नी निकाले ।’ बिरामीलाई आईसियुमै राखियो । आइतबार झन् अवस्था गम्भीर बन्यो । आइतबार राति अस्पतालका अध्यक्ष महेश जोशीले भनेको कुरा सम्झँदै भतिजा चौधरीले भने, ‘बिरामीको मृत्यु भइसक्यो । कति पैसा चाहिन्छ लिनुस् । हल्ला नगरिदिनुस् ।’

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १६:४६