धनगढीस्थित स्वस्तिक कार्डियो एन्ड मल्टिस्पिसियालिटी हस्पिटल प्रालिमा उपचार गर्न भर्ना भएको एक बिरामीको किड्नी झिकिएको खुलासा भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको अप्रेसन गर्दा किड्नी नै झिकेर अस्पतालले बदमासी गरेको खुलासा भएको हो ।
किड्नी झिकिएपछि बिरामीको आइतबार राति मृत्यु भएको छ । पत्थरीको अप्रेसनका क्रममा मिर्गौलाको नसा काटिएपछि अत्यधिक रक्तश्राव भएको र डाक्टरले फेरि अप्रेसन गरेर बायाँ मिर्गौला नै झिकिदिएको चौधरीका आफन्तले बताएका छन् । अस्पतालले भने अप्रेसनका क्रममा अत्यधिक रक्तश्राव भएपछि बायाँ मिर्गौला झिक्नु परेको बताएको छ ।
चौधरी घरको सिँढीबाट लडेपछि चोट लागेको थियो । उपचारका लागि धनगढी ल्याइएका उनलाई स्वास्थ्य परीक्षणका क्रममा मिर्गौलामा पत्थरी रहेको थाहा भएको भतिजा राजकुमार चौधरीले बताए । चौधरीको बायाँ मिर्गौलामा दुई वटा र दायाँ मिर्गौलामा एउटा पत्थरी छ भन्दै बायाँ मिर्गौलामा रहेका पत्थरी झिक्न अप्रेसन गरिएको थियो ।
बिरामीका भतिजा राजकुमार चौधरीका अनुसार दिउँसो ३ बजे अप्रेसन गरिएको थियो । अप्रेसन सफल भएको डाक्टरले बताएका थिए। चिकित्सकले झिकेको पत्थरी पनि देखाएका थिए । तर ऐजनलाललाई एक घण्टा नबित्दै पेट दुख्न थाल्यो । यसपछि डाक्टरले सुई लगाइदिए । तर निको हुने कुरा भएन । ८ बजेतिर बिरामीलाई धेरै नै अप्ठेरो भयो ।
त्यसपछि फेरि डाक्टर किड्नीको नसा काटिएको बताए । अत्यधिक रक्तश्राव भइरहेको थियो । बिरामीको ज्यान छान्ने कि किड्नी छान्ने भनेर डाक्टरले भन्न थाले । ‘त्यसपछि बाध्यतावश हामीले किड्नी झिकेर निको हुने भए बरु किड्नी झिक्दिनुस् भन्यौं,’ भतिजा चौधरीले भने, ‘राति २ बजे किड्नी निकाले ।’
बिरामीलाई आईसियुमै राखियो । आइतबार झन् अवस्था गम्भीर बन्यो । आइतबार राति अस्पतालका अध्यक्ष महेश जोशीले भनेको कुरा सम्झँदै भतिजा चौधरीले भने, ‘बिरामीको मृत्यु भइसक्यो । कति पैसा चाहिन्छ लिनुस् । हल्ला नगरिदिनुस् ।’
सत्यपाटी संवाददाता । धनगढी