आधुनिक सूचना प्रविधि जगतको सर्वाधिक चर्चा तथा विवादमा रहेको कृत्रिम बौद्धिकता (एआई) ले मानिसको बुढ्यौली कम गर्ने उपचार पत्ता लगाएको दाबी गरिएको छ । एआईको दाबी अनुसार अब छिट्टै नै बुढोपना कम गर्ने औषधी बनाइने छ ।
युनिभर्सिटी अफ एडिनबर्ग अन्तर्गतको इन्स्टिच्युट अफ जेनेटिक्स एन्ड मोलिक्युलर मेडिसिनका शोधकर्ता वेनेसा मेर बारेटोका अनुसार उनीहरूले आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर २१ वटा शक्तिशाली अणु पत्ता लगाएका छन् ।
ती अणुलाई सेनोलाइटिक ड्रग्स बनाउनमा प्रयोग गर्न सकिन्छ, जुन औषधीले बुढ्यौली कम गर्न तथा बुढ्यौली उमेरमा हुने रोग तथा स्वास्थ्य समस्याबाट पनि बचाउँछ । सेनोलाइटिक औषधीले सेनेसेन्ट कोषिकालाई मार्दछ ।
यस्ता कोषिका शरीरमा जीवित हुने तर आफूजस्तै अन्य कोषिका उत्पादन गर्न नसक्ने खालका हुन्छन् । त्यसैले ती कोषिकालाई ‘जोम्बी सेल्स’ पनि भनिन्छ । यी कोषिकाको डिएनए क्षतिग्रस्त हुने र नयाँ कोषिका समेत बनाउन नसक्ने भएकाले शरीरका लागि हानिकारक तथा बोझजस्तै हुन्छन् ।
छालाको कोषिका सूर्यको किरणबाट क्षतिग्रस्त हुन्छ । यसले रेप्लिकेसन गर्ने वा आफैँले अरू नयाँ कोषिका पैदा गर्ने प्रक्रिया रोकिदिन्छ । साथै त्यसको असर आसपासका अन्य कोषिकामा पनि पर्दछ । जसका कारण छालामा चाउरी पर्न र लत्रिन सुरु गर्दछ, जुन बुढोपनाको लक्षण हो ।
अहिलेसम्म विश्वमा ८० प्रकारका सेनोलाइटिक औषधीका बारेमा खोज भइसकेको छ तर केवल दुई वटा औषधीको मात्रै मानिसमा परीक्षण गरिएको छ । त्यसमा डासाटिनिब र क्वरसेटिन हुन् ।
सत्यपाटी संवाददाता । काठमाडौं