बाँकेमा ट्राफिक प्रहरी प्रमूख फेरिएसँगै निकै ‘तामझाम र हाइफाई’ हुन्छ । नयाँ–नयाँ नारा दिएर नयाँ–नयाँ अभियान सुरु हुन्छन् । जिल्लाभर सवारी चेकिङ्गलाई कडा बनाइन्छ । मानौं ‘…. ले धेरै खरानी घस्छ’ भनेझैं नयाँ हाकिमको फुर्तिफार्ती हेर्दा लाग्छ अब ट्राफिक व्यवस्थापन अब्बल बन्छ ।
तर बाँके ट्राफिकमा यसपटक नयाँ हाकिम आएपछि यो गुमनाम छ । न तामझाम र हाइफाई, न सवारी चेकिङ्ग, न त नयाँ हाकिमको फुर्तिफार्ती नै देखिन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा नयाँ हाकिम आएको एक साता बितिसक्दा पनि पहिलेका हाकिमहरुको जस्तो ‘तामझाम र हाइफाई’ देखिएको छैन ।
बाँकेमा ट्राफिक प्रहरीले सञ्चालन गरेका ‘नो हर्न’ ‘लापसे’, ‘मापसे’, ‘अन द स्पट कारबाही’ लगायतका अभियान अहिले अलपत्र परेका छन् । बाँकेमा नयाँ ट्राफिक प्रहरी प्रमूख फेरिएसँगै पुराना अभियान र कामहरु बीचमै तुहिन्छन् । ट्राफिक प्रहरी सुस्ताएपछि गरेपछि बाँकेका प्रमूख शहरहरुको ट्राफिक व्यवस्थापनमा अस्तब्यस्त छ ।
नयाँ हाकिम आफू अनुकुल चल्ने टीम नपाउँदा ‘मौन’ बसेको ट्राफिक प्रहरी स्रोतको भनाई छ । यसअघि ट्राफिक प्रहरी कार्यालयको प्रशासन हेर्दै आएका प्रहरी नायव निरीक्षक (सई) खेम पंगेनीको हाकिम हाजिर भएको भोलिपल्ट नै काज फिर्ता भएको छ भने त्यसको चार दिनपछि बरिष्ठ प्रहरी नायव निरीक्षक (बसई) ओम पौडेलको सरुवा भइसकेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा सरुवा भएर आएका प्रहरी निरिक्षक गोपीकृष्ण सुवेदीले आफू मातहतका प्रहरी कर्मचारीको भरपर्दो ‘सपोर्ट’ पाएका नपाएको स्रोतको भनाई छ । त्यसो त प्रहरी नायव निरीक्षक (सई) भुपेन्द्र बिष्ट हाकिमको विश्वास पात्र बन्नकै लागि जसोतसो लागिपरेका छन् । तर उनलाई काज फिर्ता हुने डर पनि उत्तीकै छ ।
बाँकेमा ट्राफिक प्रहरी आन्तरिक किचलोमा रुमल्लिएको छ । नयाँ हाकिम आएसँगै कार्यालयको सबै जिम्मेवारी हत्याएका सई भुपेन्द्र बिष्टलाई मातहतका प्रहरी कर्मचारीले टेरपुच्छर लाउँदैनन् । उनको शैली मतहतका प्रहरी कर्मचारीलाई फिटिक्कै मन परेको छैन । जसोतसो जिम्मेवारी पुरा गर्न ड्यूटीमा खटिए पनि मातहतका प्रहरी कर्मचारी नेतृत्वप्रति सन्तुष्ट छैनन् ।
मातहतका प्रहरी कर्मचारी नेतृत्वप्रति असन्तुष्ट देखिएपछि नयाँ हाकिम इन्तु न चिन्तुको अवस्थामा छन् । अझ नयाँ हाकिम हाजिर भएको दुई दिनमै प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट छानविन टोली आएपछि नयाँ हाकिम झनै तनावमा देखिएका छन् । ‘उहाँ आएको दुई दिनमै प्रदेश कार्यालयबाट छानविन टोली आएपछि उहाँ तनावमा हुनुहुन्छ,’ स्रोतले भन्यो ।
खासगरि नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका मुख्य बजार क्षेत्रमा देखिएको फितलो ट्राफिक व्यवस्थापनले सर्वसाधरणलाई सास्ती भएको छ । यसले पैदलयात्रीलाई हिँड्डुल गर्न अप्ठेरो बनेको छ । नयाँ हाकिम आएसँगै बाँके जिल्लाको ट्राफिक व्यवस्थापन थप भद्रगोेल बनेको छ । ट्राफिक व्यवस्थापन हिजोभन्दा दिनप्रतिदिन झन् अस्तव्यस्त बनेको छ ।
अलपत्र ‘ट्राफिक बुथ’
बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मुख्य चोक धम्बोझीमा रहेको ट्राफिक प्रहरीविहीन ट्राफिक बुथ । लाखौं रकम खर्चिएर बनाइएका नेपालगन्ज नगरभित्रका आधा दर्जन ट्राफिक बुथमा ट्राफिक प्रहरी हुँदैनन् ।
ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नेपालगन्जमा निर्माण गरिएका ‘ट्राफिक बुथ’ अलपत्र परेका छन् । न त त्यहाँ ट्राफिक प्रहरी राखिएको छ न त ट्राफिक व्यवस्थापनबारे ट्राफिक प्रहरीलाई चिन्ता नै छ । नेपालगन्ज र कोहलपुरका विभिन्न स्थानमा निर्माण गरेका ट्राफिक बुथ प्रयोगविहीन छन् ।
नेपालगन्ज, कोहलपुर र खजुराको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । जेब्राक्रसिङ्गमै साइकलदेखि मोटरसाइकल र गाडी पार्किङ गर्दासमेत ट्राफिक प्रहरीलाई वास्ता छैन । जेब्राक्रस र बीच सडकमै सवारी साधन पार्किङ गर्दा सर्वसाधारणलाई आवतजावतमा समस्या भइरहेको छ । नजिकै भएका नेपाल प्रहरी र ट्राफिक प्रहरी मुकदर्शक भएर हेर्ने गरेका छन् ।
जेब्राक्रसिङमा रोकिएका सवारी साधनलाई सचेत बनाउने र ट्राफिक नियमको पालना गराउनेतर्फ ट्राफिकको ध्यान जान सकेको छैन । चालकले सडक छेउमा जथाभावी पार्किङ गर्दा सडक अस्तब्यस्त भई सडक जाम हुने गरेका छन् । सडक फराकिलोसँगै पार्किङलाई पनि ब्यवस्थित गर्नुपर्ने सर्वसाधारणको माग छ ।
नेपालगन्ज र कोहलपुरका अधिकांश सडक फराकिलोसँगै कालोपत्रे भए पनि जथाभावी पार्किङ गर्दा पहिलेको जस्तै साँघुरो लाग्ने गरेको छ । सडक फराकिलो भएर मात्र के गर्ने ? जथाभावी पार्किङ गर्दा सवारी साधन चलाउन मुस्किल पर्छ । तर, फराकिलो सडकको फाइदा उठाउँदै ब्यापारी तथा किनमेल गर्ने सर्वसाधारणले सडकलाई पार्किङस्थल बनाएका छन् ।
शहरभित्रै पैदलयात्रु असुरक्षित
नेपालगन्ज, कोहलपुर र खजुरा बजारका सडकमा भीडभाड हुन्छ । सडक जति गाडीले कि त सडक व्यापारीले ओगटेका छन् । मान्छे हिँड्ने बाटो नै छैन । पैदलयात्रु हिँड्ने ठाउँसम्म नहुँदा सडकमा हिँडडुल गर्न डर लाग्ने अवस्था छ । पैदल हिँड्दा असुरक्षित महसुस हुन्छ । कुन बेला के हुने हो पत्तै छैन । मुख्य बजार क्षेत्रमै पैदलयात्रु हिँड्ने सडक छैन ।
साघुरा र अस्तव्यस्त सडकको बाँकी बचेको भागमा पार्किङ र सडक व्यापारीले ओेगेटेका छन् । नेपालगन्ज–कोहलपुर सडक चारलेनको भइसक्यो । भित्री सडक पनि फराकिला भइसके । सवारी साधनको उस्तै वृद्धि भइरहेको छ । जिल्लामा कति सवारी गुड्छन् भन्ने आँकलन गर्न मुस्किल छ । साना सवारीको चाप अत्यधिकरुपमा बढिरहेको छ ।
ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले दिनहुँ हुने साना सवारी दुर्घटनाको संख्या धेरै भएको देखाउँछ । त्यसमा पनि दिनहु हुने दुर्घटनामा सर्वसाधारण र पैदलयात्रुको संख्या धेरै छ । जिल्लाका तीन ठूला बजार क्षेत्रमा सवारीको चाप उच्च हुँदै गएको छ । नेपालगन्ज, कोहलपुर र खजुरा बजार दिनहुँ व्यस्त बन्दै गएका छन् ।
मनपरी सडक व्यापार र अव्यस्थित पार्किङले सडकका आधा हिस्सा ओगेटेका छन् । सवारी साधनको सख्ंया बढिरहेको अवस्था छ । बढ्दो सवारी साधनको चापले सडकमा यात्रा गर्न मुस्किल मात्रै बनेको छैन, जोखिमपूर्ण बन्दै गएको छ । यी सबैको मारमा सर्वसाधारण र पैदलयात्रु बढी छन् । पैदलयात्रु दुर्घटनाका हिसाबले उत्तिकै असुरिक्षत छन् ।
उनका अनुसार जिल्लामा भएका दुर्घटनालाई केलाउँदा के देखिन्छ भने सडकमा सवारी साधन गुडाउने चालक र सर्वसाधारण मात्रै हैन, पैदलयात्रु पनि उत्तिकै असुरक्षित छन् । सडकको स्तरोन्नति नहुनु, बढ्दो बजारीकरण, सवारी साधनको चाप र अव्यस्थित बजार र पार्किङ अर्काे कारण हो । बजार ठूलो हुँदैछ तर सडकको अवस्था उस्तै छ ।
साघुरा र जीर्ण छन् । चालक र सडक प्रयोगकर्ताको लापरवाही पनि दुर्घटनाका प्रमुख कारक हुन् । चालक र पैदलयात्रु दुबै दोषी देखिन्छन् । तीब्र गतिमा गाडी गुडाउने चालक र जथाभावी सडकमा हिड्ने र बाटो काट्ने पैदलयात्रु । दुर्घटनाको जोखिमलाई ध्यानमा नराखी सवारी नियम उल्लंघन गरी सडक प्रयोग गर्ने चालक र पैदलयात्रु दुबै दोषी छन् ।
सत्यपाटी संवाददाता । बाँके