सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन आयुक्तको बिरोधमा उत्रिए नेपालगञ्जका व्यवसायी

नेपालगञ्ज उद्योग वाणिज्य संघका निर्वाचन आयुक्त टिकाजंग सिंहको गैरजिम्मेवारीपनको बिरोध गरिएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघको मुलगेटमा कालो ब्यानर टाँगेर साझा प्रजातान्त्रिक उद्योगी, व्यवसायी समुहका तर्फबाट आइतबार बिहान बिरोध गरिएको हो ।

बिरोधका क्रममा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका उपाध्यक्ष धु्रब दाहाल, नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित उपमहासचिव टेकबहादुर खड्का, कोषाध्यक्ष मख्खनबहादुर धामी, सदस्य शिव दाहाल लगायत उद्योगी, व्यवसायीको सहभागिता रहेको थियो ।

साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले शनिबार मात्र नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर चरणबद्ध आन्दोलन घोषणा गरेको थियो । संघको महासचिव पदको मतगणना पुनः हुनुपर्ने माग राख्दै आएको उक्त समुहले माग पुरा नहुँदा सम्म बिरोध जारी राख्ने जनाएको छ ।

बिरोध स्वरुप समुहले शुक्रबार साँझ संघको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको थियो । यही भदौं २ गते सम्पन्न नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनको मतगणनाका क्रममा गणनामा खटिएका कर्मचारीले बद्मासी गरेको आरोप छ ।

गणनामा संलग्न कर्मचारीले महासचिव पदमा टंकप्रसाद शर्मालाई पराजित गर्न सुनियोजित रुपले षडयन्त्र गरेको उक्त समुहको दाबी छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतवार १४:२४